“म रिसाउँदिन कहिल्यै पनि”
ती बिगतका तिम्रो बोली मेरो यो बूढो दिमागको कुनामा अझै छर्लङ्गै छन्
बतासे बीसका तिम्रा ती गुलाबी तस्विरहरु आँखामा प्रष्ट छन् ।
आज म आफ्ना सन्तानलाई राम्ररी देख्दिन तर
जहानलाई दुरुस्तै उस्तै देख्छु ।
“बा, खाना खानु भो ?” भनेर अरुले भन्दा म भेग पाउँदिन तर
जहानका हातहरुले पस्किएको खानाको स्वाद मलाई थाहा छ ।
त्यो झिसमिसे साँझमा म घरका खुड्किला हरु ठम्याउन सक्दिनँ तर
खुड्किले यो जिन्दगीमा जहानको साथ
म बिर्सिँदा पनि सम्झिन्छु ।
तिमी पनि त ती हावासँगै बिलायौ
म माया मारेर बसेको पनि दशकौं भैसक्यो
तिमी छौ जस्तो लाग्दा म तिमीलाई भेट्दिनँ
न म तिमीसँगै त्यहाँ आउन सक्छु न त यहाँ टिक्न सक्छु
परबाट कोही छड्के तिलरीमा आउँछ त म तिमीलाई नै भेट्छु
म तिमीलाई सधैँ खै कुन्नी कसरी हो तर दुरुस्तै उस्तै देख्छु ।
हुन पनि किन नहोस्,
ईश्वरले तिमीलाई मबाट पर लगेको आज १७,१८२ रात बितिसक्यो ।।।
Part of me | Poem by Sabi Thapa [Offline Thinker]

