




Nepali Poem | समाज र सत्य ! | Suman Bhattarai
जीवन जोगाउन छोडेर
जब, समाज सालिकहरू
जोगाउने रिले रेसमा दौडन्छ
तब समाज पछाडि रहन्छ !
उसले दौडको सम्झौतामा
सालिकलाई किस्ती राखेर
जीवन गुमाएको हुन्छ !
भ्रम र आक्रोशको आवेगमा
जब, समाजले घरहरूमा आगो झोस्छ
सहरहरू भत्काएर
आगोको मुस्लोमा परिवर्तन खोज्छ !
तब समाज पछाडि रहन्छ।
उसले परिवर्तन नपाएर
परिवर्तनको खरानीमा मात्रै चित्त बुझाउँछ ।
सुख, दुःखका वेदनाहरू
र आँसु मुस्कानका संवेदनाहरू
समाजले बिर्सेर
जब बन्दुकको नालमा प्राण खोज्छ
गोली गाँठा र बारुदमा त्राण रोज्छ!
तब समाज पछाडि रहन्छ ।
उसले विकासको सुगन्ध पाउँदैन
विनाशको दुर्गन्धमा मात्रै चित्त बुझाउँछ !
आफूलाई नबुझेर
जब समाज अस्पष्टताहरूमा अल्झन्छ;
तब सत्य, ज्ञान र ज्योति
उसले भिडहरूमा खोज्छ !
हल्लाहरूमा तथ्य खोतल्छ
र चिच्याहटहरूमा शान्ति बटुल्छ !
तब समाज पछाडि रहन्छ ।
असत्यको पर्दामा ढाकिएर
जुग बिताउन चित्त बुझाउँछ ।
त्यसैले प्राय,
एक्लै हिँड्न नसकेर, निसन्ताप;
समाज भिडहरूमा मिसिन्छ
सत्य एक्लै छुट्टिन्छ:
प्राय एक्लै छुट्टिन्छ !
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

