मसँग सूर्यास्तको
रंगहरू हेर्ने समय छ,
ऊष्ण स्पर्शलाई
औंलामै समात्ने समय छ,
हावासँग गफिने समय छ,
धड्कन र
धड्कनबीचको मौनतालाई
महसुस गर्ने समय छ,
जब रुखबाट पातहरु
नाच्दै खस्न थाल्छन्
लाग्छ कति आनन्दले
आफूलाई गुरुत्वमा समर्पण गरिदिन्छन्, -बिना संकोच, बिना डर,
मात्र स्वतन्त्रताका साथ,
मसँग अपरिचितहरुका
आँखामा डुब्ने समय छ,
उनका कथाहरू सुन्न
र तिनमा आफ्नै यात्रा
महसुस गर्ने समय छ,
मसँग घना अन्धकारमा
शून्यताको संगीत सुन्दै
आफ्नो अस्तित्वको
भार बिसाउने समय छ,
तर मसँग
अनावश्यक दौडधूपका लागि
समय पटक्कै छैन,
मसँग बिहानीको घामसँगै
बिलाउने छायाँहरू पछ्याउने
समय पनि छैन,
मसँग आफ्नो वास्तविकता लुकाएर
कुनै मुखौटा लगाउने समय छैन,
अरूको स्वीकृतिका लागि
आफ्नै सत्य बेच्न मसँग समय छैन,
मसँग उधारो सपना बोकेर
यो संसारको तालमा नाच्ने
समय छैन,
मसँग स्थायीत्वका भ्रमहरु बुनेर
आफूलाई सिमानामा कैद गर्ने
समय छैन,
मसँग जीवनको नुन-चिनी चाख्ने
समय मात्र छ,
अनूभुतिका रंगहरूले
आफूलाई सजाउने
समय मात्र छ,
जसले मलाई आफ्नै
नजिक पुर्याउछ,
त्यसको लागि मात्र
मसँग समय छ।
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

