(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ। हाम्रो इमेल connect.offlinethinker@gmail.com हो )
प्यारो मान्छे,
छुट्नु त छँदैछ !
यहाँ रात पनि मिर्मिरे प्रकाश भेटेपछी छुटिजान्छ ।
फेरिनु पनि त छँदैछ ..
खोल्साहरु नदिमा पुगेपछि नदि बनेर फेरिन्छन् ! नदिलाई पनि त हतार छ सागरमा फेरिन: त्यसैले आफ्नै हतासोमा ऊ बहिरहन्छ ।
बिर्सनु पनि त छँदैछ…
खसेपछी अँखाबाट आशुलाई बिर्सन्छ आँखाले ! फुस्केपछी ओठबाट मुस्कानलाई बिर्सन्छन् ओठहरुले !
यहाँ नियम छ एउटा; गतिको ! चलायमान हुनुपर्ने…
रोकिने छुट छैन । धेरै समय एकै ठाउँ रुमलिने छुट छैन । नीति नियती दुवै यस्तै र यहि बुझ्नु माया हो ! र यहि यथार्थ बोध गरिकन बेहिसाब माया गर्नु मायाको कन्चनजंघगा हासिल गर्नु हो ।
माया कन्चनजंगा सरि अडिएको छ । मायाभन्दा माथि जीवनमा सगरमाथा रूपी उचाइहरु पनि पक्कै छन् ! तर माया कन्चनजंगा जस्तै निश्चल उभिएको छ । अडिग छ: अटल र अटुट छ । यसका आफ्नै भिरालोहरु छन् । जोखिमहरु छन् । प्राप्तिका बेग्लै संघर्षहरू छन् । आफ्नै विशेषतामा यो मनोरम र सुन्दर छ । प्राकृतिक रुपमा कन्चन छ । र मायाको कन्चनजंगा हासिल गर्ने शौभाग्य हरकोहिलाई हासिल हुँदैन ।
प्यारो मान्छे !
मायाको कन्चनजंगा हासिल गर्नु सधै कसैको जीवनको उकालो, ओरालो र घुम्तीहरुमा सहयात्री हुनु मात्रै होइन ! यात्रामा साथ चाहिँदा सहयात्री, आड चाँहिदा लौरी र विश्राम चाँहिदा चौपारी भइदिनु हो । माया भूमिकाको आधारमा होइन भावनाको आधारमा हुन्छ । माया लेनदेन र नाफागणितको हिसाबमा होइन निस्वार्थ र निष्काम प्रयत्नहरुमा मात्रै हुन्छ ।
छुटेपछि सकिने कहानीहरु मायाका होइनन् । केबल मोहका हुन् ! माया खास वर्तमान हो । आज हो र अब हो ! मायामा हिजोप्रति कृतज्ञता हुन्छ र भोलि प्रति सुन्दर आशा । त्यसैले यात्रामा केही कारणवश छुटि जाने हातहरुलाई न्यानो सम्झनाले स्पर्श गरिराख्नु !
एउटा सानो या ठूलो घातहरुको पर्दा लगाइ उसका साथ र गुणहरु जीवनमा ओझेल पार्न खोज्नु मुर्खता हो । र विगतको मूर्खता लुकाएर वर्तमानमा निभाइने सम्बन्धहरुले भविष्यमा मायाका दुर्घटना मात्रै निम्त्याउछन् ! त्यसैले, प्रिय मनहरु: मायाको कन्चनजंगा हासिल गर्नु अघि ससाना टाकुराका अभिमानलाई त्याग्नै पर्छ । आखिर माया चीज नै यस्तो!
धेरैजसो सम्बन्धहरु अभिमानको तुसारोमा ढाकिएर कतै बाटो बिराउछन् । सम्बन्धमा बन्नुपर्ने प्रेम र करुणाको पुल हो तर कहिलेकाहीँ अभिमानका तगारोहरु बनिदिन्छन् । र सम्बन्धका पालुवाहरु अकालको हुरीमा बतासिएर झर्छन् । त्यसैले अस्तित्व सुन हुँदा होस् या पित्तल हुँदा: सफलतामा होस या असफलतामा ! वार्तालापमा होस् या मौनतामा: अभिमानरहित प्रेम गरिराख्नु ! मायाको कन्चनजंगा यसै वरपर भेटिन्छ ।
मायाको यात्रा एक्सप्रेस हाइवेमा कुँदने मर्सिडिजको यात्रा जस्तो पक्कै होइन । यो त कच्ची सडकमा गुड्ने साधारण साधनको यात्रा जस्तै हो : जहाँ खाल्डाखुल्डी उकालीओराली र दुखहरु मात्रै हुन्छन् । यात्रामा सास्ती हुन्छ र पो गन्तव्यमा पुग्दा मस्ती हुन्छ ! तर अक्सर सम्बन्धहरु कही बीच बाटोको सास्तीमै सुस्ताउछन् । त्यहाँ एकले अर्कोलाई क्रमैसँग डोर्याउने हिम्मत, हैसियत र साहस राख्नु ! कन्चनजंगारुपी मायाको गन्तव्य नजिकै दुवैलाई पर्खेर बसेको हुनेछ ।
त्यसैले मायाको कन्चनजंगा हासिल गर्नु साना ढिस्काहरु चढ्नु सरी होइन ! छुट्नु त छदैछ..जानेर पनि बेहिसाब माया गर्नु माया हो । अस्तित्वहरु कुनै मोडमा पुगेपछि पक्कै फेरिन्छन् : फरकफरक अस्तित्वको फरकफरक यथास्थिति बुझेर पनि माया संगाल्न सक्नु माया हो ! सम्झना र बिर्सनाको भावनात्मक अंकगणित नबुझिकनै गरिने माया बल्ल माया हो । स्वार्थहरु कतै मोड्मै छोडेर अघि बढ्नुस् । अपेक्षाको भारी कहि वरै बिसाउनुस् । र निष्काम सम्बन्धको धर्म निभाउनुस् ! अनि तपाइँको मनमा चम्कने प्रेमको उचाइको चमक मायाको कन्चनजंगा हुनेछ ।
माया गर्नु यथार्थमा कसैको पाउमा रहनु हो । मनमा हुनेहरु कहिलेकाहीँ दुखिदिन्छन् ! आँखामा हुनेहरु आँशु बनेर रुझिदिन्छन् ! शिरमा हुनेहरु कहिलेकाहीँ बोझ बनिदिन्छन् । तर पाउमा हुनेहरुलाई कुनै अभिमानको रागले छुँदैन । जति जसको पाउमा बसिन्छ: मायाको कन्चनजंगा उत्तिकै अग्लो हासिल गरिन्छ ।
Read More From Deokhurni:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

