जर्मनीयन ट्रेन र मेरो एकदिन | Sudarshan Poudel | Germany

Sudarshan Poudel Offline Thinker

(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ।  हाम्रो इमेल connect.offlinethinker@gmail.com हो ) 

 

यो जबर्जस्तीको इन्जिनियरिङ गर्नु र होटेल गएर ढिँडो खानु उस्तै-उस्तै लाग्न थालेको छ। अरूलाई सुनाउँदा दुबै गज्जब लाग्छन्। लुते घमण्डले धुरी नाग्छ तर कोच्नु पर्ने दुबै जबर्जस्ती नै हो।
जोर-घटाउ, गुना-भागबाट अहिले गणितमा अचम्मका ग्रीक अक्षरहरूले ठाउँ लिन थालेका छन्। त्यसैमाथि, प्राविधिक कुराहरू कति हुन् कति। आज त्यस्तै एउटा विषयको परीक्षा लेखेर घर फर्किएको थिएँ। हप्ताभरी त्यसैको तनावले बेताल बनेर मेरो काँध चढेको थियो। कति गनगने रै’छ भन्नुहोला। आफ्नो खुट्टामा आफैंले बन्चरो हाने पनि ऐया भन्न त पाउनुपर्‍यो नि।

कोठामा पुग्नेबित्तिकै त्यस तनावलाई एकातिर मिल्काएँ। फोन बज्न लाग्यो। तनाव बिसाएर फोन उठाएँ। गरुङ्गो हप्तालाई बिसाउने बहाना पाएँ। एउटा साथी माल्टाबाट जर्मनी आउने भएछ, ६ दिनको लागि। जाने भइयो भेट्न। जर्मनीको दक्षिणपूर्वको सानो शहर चिट्टाउ(Zittau)देखि उत्तरी भागमा पर्ने शहर वुर्जबुर्ग (Wuerzburg) तिर।

ऊ माल्टाबाट म्युनिख आउने भयो उडेर। म भने जर्मनीका क्षेत्रीय ट्रेनहरूको सञ्जाल छिचोल्दै पुग्ने निर्णय भयो। पछि दुबैजना अर्को साथीकोमा गएर भेट्ने कुरा भए। त्यहाँ गएर रमाइलो गर्ने, सुखदुःखका कुरा गर्ने, जंगबहादुर फर्किए नेपाल बन्ने, नेताहरूको दृष्टिकोण गतिलो नभएको कुरा गर्ने, नेपालका नेताले जर्मनीबाट सिक्नुपर्ने कुरा गर्ने, अन्तर्राष्ट्रिय नेताहरूको सक्षमताको कुरा गर्नेजस्ता योजनाहरू भने गौण नै भएर बसे। मेरो मनमा भने पक्का थियो, यस्ता अनेकौं कुराहरू हुनेछ भन्ने। अहिले यो लेख्दा पनि सम्झिरहेछु ठूला-ठूला विषयमा हामी बकमफुसे विद्वानहरूको डुँडे विश्लेषण। कतिपय भने सम्झिन्न। सायद अलिक अबेर रातका कुरा थिए तिनीहरू।

यी सबै योजनाहरू बन्दै गर्दा बुधबार थियो। म हिँड्नुपर्ने बिहीबार बिहान। मेरो शनिबार र आइतबारको काममा बिदा माग्नुपर्ने भयो। फोन गरेँ। म आउन नमिल्ने कुरा भनेँ। यो परिस्थिति अप्रत्याशित भएको र अचानक छुट्टी लिनुपरेकोमा माफी मागेँ। मलाई उसलाई पर्ने समस्याको भान भएको र उसको ऋणी भएकोसम्म भन्न भ्याएँ। समग्रमा भन्नुपर्दा मैले चाप्लुसी गरेँ। नेपाली हुनुको बिडो धानेँ र छुट्टी पाइयो।

बिहीबार बिहान ६ बजे अलार्मले घचघचायो अनि हिजो नै तयार पारेको कुम्लो बोकेर हिँडियो यात्रामा। पहिलो ट्रेन “ड्रेस्डेन सेन्ट्रल” स्टेसन। त्यहाँबाट अर्को फेर्नुपर्ने। यस्तै गरेर आज सात घण्टा बिताउनुपर्थ्यो। पहिलो ट्रेन ढिला भयो। जर्मन ट्रेनले पनि आफ्नो बिडो थम्यो। नेपालको राजनीति र जर्मन ट्रेनले मीत लगाउन मिल्छ। कस्तो मिल्छ दुबैको चरित्र। दुबै अस्तव्यस्त। मैले सेन्ट्रल स्टेसनमा २ घण्टा कुर्नुपर्ने भयो। यसमा पनि मलाई आश्चर्य लागेन। बानी परिसकेको छु म। डाइरेक्ट ट्रेन अथवा फ्लाइट टिकट काट्न बैंकको खाताले खिसी गर्छ। सस्तो उपायमा अलिअलि बाधाहरू सित्तैमा पाइन्छ।

२ घण्टा कुर्नुपर्ने भएपछि केही खाने निर्णय गरियो। एउटा लार्ज कफी र क्रोइसन्ट किनेँ। मेरो अर्को ट्रेन आउने प्लेटफर्ममा बसेर पेट भर्ने निधो गरेँ। यो क्रोइसन्ट किनेर खासै फाइदा भने छैन। एक गाँस मुखमा, अर्को गाँस कपडामा। कपडामा खसेको टकटकाएँ। वरिपरि त्यही खान परेवा झुम्मिन थाले। मानिससँग डराउन छोडिसकेका रहेछन्। उनीहरू थोरै-थोरै उफ्रिएर खसेका टुक्रा-टुक्रै खान थाले। उनीहरू उफ्रेको देखेर म मेला घुम्न गएको बच्चाजस्तै खुसी भएँ। यति राम्रा परेवा जो मानिससँग डराउन छाडिसकेका छन्। उनीहरू हाम्रा खसेका खानेकुरा खाएर पनि कति रमाउँछन्। धेरै अपेक्षा नराखेर पनि खुसी भएर उफ्रि-उफ्रि जीवन जिउन त परेवाबाट पो सिक्नुपर्छ रहेछ। जे पायो, त्यसैमा खुसी। उनीहरूलाई देखेर मुसुक्क हाँसेँ। डराएर उड्लान् भनेर खुट्टा पनि नहल्लाई बसेँ।

बाकी समय काट्न झोलामा एउटा किताब राखेको थिएँ। बुद्धिसागरको उसले दिएको उमेर”। बुद्धिसागरको किताबले मलाई जागर दियो। पढेर कतिका ठाउँमा दुखी भएँ। धेरै ठाउँमा मुसुमुसु हाँसेँ। आफ्नो जिप यात्रा बयान गर्दा लेखकले “ल्वात्त गाडी ह्वात्त कर्णाली” भन्दा त चर्कै हाँसेछु। वरिपरिका मानिसले अचम्मले हेरे। म घोप्टो मुन्टो लगाएँ।

छेवैमा अर्को अधबैँसे मानिस रहेछन्। उनले किताब देखेर ठुटे जर्मनमा सोधे, “यो तैले पढेको कुन भाषा हो? कुन देशबाट आको त?” मैले पनि उनको जर्मनलाई टक्कर दिँदै सुनाएँ आफ्नो बारेमा। बिहानै मदिरापान गरेर आउनुभएको रहेछ गोरासाहेब।

उनको मुस्कानले झन् प्रस्ट देखाउँथ्यो उनको मदहोसी। कुराकानीमै उनले आफ्नो जीवन सुनाए। उनकी आमा टर्कीकी रहेछिन्, बुवा जर्मनीका अनि उनलाई पनि मैलेजस्तै कान छेड्न मन छ रे। तर सुनको मुन्द्रा मन परेन रे। कालो टप लगाउन मन छ रे। अनि जर्मन मानिस मन पर्दैन रे उनलाई। उनको विश्लेषणअनुसार, उनीहरू चिसा हुन्छन्।

पुरै कुरा त बुझिनँ तर चिसो भन्नाले उनीहरू खासै हाँस्दैनन् अनि सीधा-सीधा कुरा गर्छन्, चाहे अरूको मन दुखोस्। त्यही भन्न खोजेका होलान सायद।मेरो ट्रेन आयो एक मुस्लो चिसो हावा लिएर। सायद यस्तै चिसोले हो जर्मनहरू चिसा हुने। मैले ज्याकेटको चेन लगाएँ। आफूलाई चिसो हुनबाट बचाएँ।

यस्तै चिसोबाट बचेर जर्मनीका क्षेत्रीय ट्रेनहरू छिचोल्दै वुर्जबुर्ग पुगियो। त्यहाँ पुगेर साथीभाइ भेटेर फ्राङ्कफर्ट जाने भइयो। फेरि २ घण्टा। उफ्!

त्यहाँबाट फ्राङ्कफर्ट पुग्दा बेलुकाको पाँच बजिसकेको थियो अनि चिसो मौसम अँध्यारो भइसकेको थियो। क्रिसमस मार्केटमा पर्याप्त भिड थियो। मलाई थकाइले रमाइलोभन्दा झन्झट लागिरहेको थियो। साथीले नजिकैको स्टलबाट क्रिसमस मार्केटको शान, तातो ग्ल्युवाइन लिएर आयो। सबैले कप समातेर फोटो खिच्नुपर्ने भयो। मैले एउटा थाकेको मुस्कान फ्याँकेँ। क्यामेराले खिचिक्क  गर्यो। मलाई त्यसले खित्त  खिसी गरेजस्तो लाग्यो। त्यसपछि त के थियो, तातो वाइनसँगै थकाइ निलेँ।

 

 

Read More From Sudarshan Poudel:

Nepali Poem | आज सडकमा रमिता छ! | Sudarshan Poudel

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *