(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ। हाम्रो इमेल connect.offlinethinker@gmail.com हो )
बाहिरबाट कर्णाली घुम्न जाने धेरैले आँखा अघि कर्णाली बगेको हेरे, थोरैले मात्रै आँखैमा कर्णाली बगाए ! यी लेखक थोरै मध्यका एक हुन् ।
कर्णालीका बारेमा धेरै दुःखका लेखहरु लेखिए !
इतिहासको वीर गाथाका लेखहरु लेखिए !
वर्तमानको जीर्ण अवस्थाका लेखहरु लेखिए !
भविष्यका सुन्दर योजनाका लेखहरु पनि लेखिए !
तर यो लेख कर्णालीको सुखको बारेमा लेखिएको लेख हो । यस्तो सुख जुन दुःखैदुःखको बोटमा फुलेर फक्रेको छ ! यो आशाको लेख हो: जुन निराशाको कालो बादलमा चाँदीको घेरा बनेर चम्केको छ ।
कालीकोट, हुम्ला, जुम्ला, मुगु र दैलेख जस्ता जिल्लाहरु नपुग्ने हामी नेपालीहरुले बुझ्ने कर्णाली टिभी, ईन्टरनेट र यदाकदा छापामा भेटिने लेख र समाचारका माध्यमहरु न हुन् । जुन दुःखैका कुराले भरिन्छन्। दुःखैका फूलबुट्टामा ती सजिन्छन् ।
दुःखकै रंगिन बिम्बहरुमा ती सिउरिन्छन् । मिडियारूपी बजारले जसरी कर्णाली बुझाउन चाहन्छ, बाहिरको भूभागले त्यसरी नै बुझ्छ । आंशिक रुपमा कर्णाली त्यसरी पनि सही नै बुझिन्छ तर कर्णाली व्यापक छ। सत्य र सुन्दर छ।
हप्तादिनको बसाईको तालिका बुनेर हामी ६ जना साथीभाइ रारा घुम्न निसक्दै थियौं। स्याङ्जा वालिङबाट छुटेका हामी पहिलो दिन बबईमा बिसायौं। दोस्रो दिन सुर्खेत काटेर माथिल्लो डुम्मेस्वर हुँदै मान्मा उक्लदै थियौं।
फराकिलो बाटो छोडेर हाम्रो बोलेरो अब कच्ची सडकमा धुलो उडाउदै दुरी छोट्याउदै थियो। सबैले सुने-बुझे र पढेजस्तै कर्णालीको कच्ची सडक धुवाधुलो, खाल्डाखुल्डी, उकालीओराली र मोड नमिलेका घुम्तीहरुले भरिएको थियो । केही ठाउँमा ‘डेन्जर स्पट’को साइनबोर्ड त केही ठाँउमा दुर्घटनामा परि ज्यान गुमाउने प्रती सम्झना स्वरुप बनाइएका श्रद्धाञ्जलीका प्रतीकहरुले मन तर्साइरहेको थियो।
तर कर्णाली बाटोले मात्रै नजनाउने रहेछ। लगभग दिउँसो ३ बजे तिर हामी चिया पिउन एउटा सानो होटलमा बिसायौं। अन्दाजी पच्चीस वर्षकी युवतीले होटल चलाएकी थिइन। मैले चियाको चुस्की लिँदै दिदीलाई फ्याट्ट सुनाइहाले-
बाटो त अत्ति नै दुख रहेछ है दिदी !
उनले अँगेनामा दाउरा मिलाउदै भनिन्- ‘अ नि भाइ! जीवन चाहिँ कहाँ सजिलो छ त?’
दिदीको जवाफले म उत्तरहीन भएर चियाको कपमा टोलाइरहे ! त्यसउपरान्त बाटो प्रतिको मेरा गुनासाहरु एक निमेषमै सबै बिलाएर गए।
मान्मामा रात काटेर हामीले अर्को दिन सल्लेरी बेसक्याम्पमा बिसायौं। अर्को दिन आधा घन्टाको पैदलयात्रा गरी रारा उक्लियौं।
सुन्दरताको के वर्णन गरौं।
रारा शब्दमा अट्दैन! सुन्दरता, भव्यता, प्राकृतिक अनुकम्पा र भौगोलिक मोहनीको सिंगो बिम्ब र प्रतीक नै सायद रारा हो।
कर्णाली बुझाउन हामीलाई गन्तव्य गौण र यात्रा मूल तत्व बन्दै थियो। हामीलाई यात्राको हरेक पलले कर्णाली झल्काइरह्यो। कच्ची सडकमा हामीले धुलो उडाइ हिँडदा चार-पाँच वर्षका स्कूल पढन जाने कलिला सम्भावनाहरुले हामीलाई निर्दोष नजरले हेरिरहेथे। ती नजरमा आतिथ्यता, उत्सुकता, निर्दोषिता र असिम श्रृद्धा भरिएथ्यो । एउटा कर्णाली त तिनकै नयनमा छल्किदै थियो।
बिहानीको समयमा ठाँउठाँउमा गाउँ छोडन बस कुर्नेको ठूलै समूहको भेला थियो। गुन्ठा र झोलामा सपना भर्न कोही सुर्खेत झर्दै थिए। कोही सीमा बाहिर काम गरेर जीवनमा सुखको सिमाको आयतन फैल्याउन कस्सिदै थिए।
ती जोशिला र गाँठिला प्रत्येक शरिरको शिरमा ढाका र निधारमा रातै अक्षता सजिएको थियो। एउटा कर्णाली ती निधारमा अडिन नसकेको अबिरमा बग्दै थियो जुन हतास र थकानले सिर्जेको पसिनामा मुहार तिर उधो बहदै थियो।
कर्णालीमा घरहरु साना थिए तर मनहरु ठूला !
बाटो साघुरो तर आत्मीयता अत्ति नै फराकिलो ! सुविधाहरु न्यून तर आत्मसन्तुष्टि आटेभन्दा ज्यादा! त्यँहा एउटा निर्मम निर्दोषिता व्याप्त छ । जसले हरक कोहीलाई छुन्छ । कर्णालीले एउटा विनम्रता बोकेको छ । आभार बोकेको छ।
सहजताको गणितमा कर्णाली दुःखी ठहरिएला तर कर्णालीले देशको अन्य भूभागभन्दा बढी मुस्कुराउन जानिसक्यो । नेपालको मानचित्रमा कर्णालीवासी गुलाफको फूल हुन्। काँडैकाँडा र दुःखैदुःखमा फक्रेर पनि मुस्कानको सुवास छरेर फक्रन सक्ने!
भूगोलको हिसाबले कर्णाली दुर्गम होला तर निश्चल जीवनको लागि देशकै सुगम भूभाग हो।
पाचौं दिन जब हामी राराबाट फर्की नाग्मा बास बस्न आइपुग्यौ मैले त्यहाँ मेरो कर्णालीको आइकन भेटे । सुगम होटल एन्ड लजका मालिक ललित विष्ट । संयोग र यात्राले जुराएको भेट न हो ! ललित दाइ निकै हसिला र फरासिला लागे। त्यो रात हामी उनकै होटलमा बास बस्यौं।
उमेरले ललित दाइ ३१ वर्षका पुगे। उनले ३१ वटा बर्खा र हिउँद कर्णालीकै माटोमा बिताए ! दुई वर्ष स्कुल पढाइसकेपछी माटो छोडेर कतै विदेश जाउ जस्तो त उनलाई पनि नलागेको होइन। २२ वर्षको जवानीमा सपनाका नँया पालुवाहरु फुलाउन उनले परदेशको हावापानी चाहार्न आट्दै थिए।
त्यही समयमा उनको विवाह भयो।
लगनगाठो कसे लगत्तै दुबैजना दम्पतीले नाग्मामै होटल व्यवसाय गर्ने सोच बनाए। अहिलेसम्म उनको होटलले ६ वटा क्यालेन्डर फेरिसक्यो। उनको नौ वर्षे दम्पत्य जीवनको यात्रामा दुईजना सुपुत्र जन्मे । एक जना सात वर्षको पुगे र अर्को दुई वर्षको !
ललित दाइलाई जब मैले सोधेँ, ‘दाइ जीवनदेखि खुशी हुनुहुन्छ?’ दाइले मुस्कुराउदै भने- ‘आफ्नै परिवारसँग आफ्नै ठाँउमा व्यवसाय गरेर बस्नु खुसी हुनु त हो नि भाइ।’
दाइको ओठमा मुस्कानको लालिमा देख्दा म पनि नमुस्कुराइ बस्न सकिन।
दाइको ठूलो छोरा भर्खरै युकेजीमा पढ्दैछन् । घरभन्दा ५० किलोमिटर पर रहेको कालिकोटको लोटस एकेडेमीमा। दाइ चाहान्छन् उनको छोराले राम्रो पढोस्। बुझ्ने होस्..प्रगतीहरु चुमोस्, शिखरहरु भेटोस् र आफ्नै ठाउमा बसोस् ।
कर्णाली सुन हो। यसमा सुगन्ध थपिदियोस् ।
देशमै केही गरोस् भन्ने दृढ इच्छा छ ललित दाइको। त्यही इच्छाले नै छोरालाई ४ वर्षको उमेरमै घरभन्दा टाढा दिदीको घरमा राखेर पढाउँदै छन्। ललित दाइको साहस र अटल विश्वास देखेर म अचम्मित नरही बस्न सकिन।
मैले फेरी सोधें- ‘अनि दाइ सानो बाबुलाई केहिलेदेखि स्कुल राखिदिने?’
‘अब राखिदिने भाइ। तर सके सुर्खेतमै अझै राम्रो ठाँउमा पढाउने मन छ।’ दाइ प्रश्नको उत्तर खोज्दै गहिरिए, ‘तर त्यँहा रेखदेख गर्ने मान्छे नहुँदा हो कि?’ उनको मनमा पिर जमेको प्रस्ट देखिन्थ्यो।
दाइको जीवनसंग एउटै मात्र गुनासो छ- ‘बाटो सहज भैदिएर गुणस्तरीय शिक्षा आफ्नै ठाँउमा भैदिए सन्तानको न्यास्रो र पढाइको चिन्तामा रुमलिन पर्ने थिएन।’
‘जमेका पीरहरु बहाव भेटी खुसीमा परिणत भएर बग्ने थिए।’
सरकारी हिसाबमा प्रगती न्यून होलान् तर पनि दाइ आशावादी छन्। भन्छन् बिजुली र नेटवर्क आएको दुई वर्ष भयो बाँकी काम पनि आफ्नै गतिमा कसो नहोला र?
सुगम भनिने ठाउँमा देश छोड्नेको होडबाजी चलिरहँदा ललित दाइले आफ्नै ठाँउमा खुशीको जरा भेटेर अडिग बसेका छन्। रारा घुम्न आउने पर्यटक र गाँउका आफ्ना समुदायलाई गुणस्तरीय सेवा दिएरै उनले दिन गुजारेका छन्। जीवनलाई लामो क्षितिजमा नियाल्दा पनि उनले आफूलाई कालिकोटमै भेट्छन्।
आफ्नै ठाउँमा काम गर्न चाहान्छन्। आफ्नै ठाउँमा केही काम गराउन चाहान्छन्।
विदेशको मोहमा उतै बरालिन र बस्न चाहने म जस्तो पुस्ताको लागि ललित दाइ आइकन हुन्। कर्णालीको मात्रै होइन देशकै लागि रोल मोडल हुन्।
राज्यले सुविचार गरेर ललितदाइ जस्ता कर्मजीवीको मनपेट बुझिदिएर शिक्षा, स्वास्थ्य र यातायातमा कर्णालीलाई सुगम बनाइदिए कर्णाली स्वर्गभन्दा पनि माथि हुने थियो।
Read More from Suman Bhattarai:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

