म साहित्यको घाँटी रेटेर आउँछु | Nepali Poem by Prabhat Paudyal

Prabhat Paudyal
म अर्थहिन शब्दहरु बटुलेर
एक ठाँऊमा समेटेर आउँछु
तिमी एकै छिन बस्दै गर जिन्दगी
म साहित्यको घाँटी रेटेर आउँछु
अनि
मनमा आएका जथाभावी
र मनपरी शब्दहरुलाई
कविता हो भन्नेर सुनाउँछु
चार पाँचवटा बहाना बनाउँछु
तीन चारवटा चाहना सुनाउँछु
दुई तीनवटा वाह-वाह बटुल्छु
एक दुईवटा आहा कमाउँछु
एकछिन हराउँछु
एकछिन रमाउँछु
वास्तविकतालाई कल्पनाबाट मेटेर आउँछु
तिमी एकै छिन बस्दै गर मन
म साहित्यको घाँटी रेटेर आउँछु
म एकछिन आफूलाई महान सोच्छु
आफूलाई धर्म, आफूलाई विज्ञान सोच्छु
मै जात, मै वर्ण
मै अर्जुन, मै कर्ण
मै कृष्ण, मै राम
मै संसारको सबै धाम
म नै सेक्सपियर, म नै देवकोटा
लाखौंमा म नै एउटा
म भिन्ची,  मै पिकासो
म नै संगीत, मनै हाँसो
संसारमै म बलवान
मै मान्छे, मै भागवान
तर एकछिन
म सब भ्रम मेटेर आफूलाई भेटेर आउँछु
तिमी एकै छिन बस्दै गर इतिहास
म साहित्यको घाँटी रेटेर आउँछु
फेरी त्यही शब्द
त्यही अर्थ
त्यही भाव
त्यही ख्वाब
म मेरो पुरानो कविता
नयाँ प्रकारले छापेर आउँछु
तिमी एकै छिन बस्दै गर कवि
म साहित्यको घाँटी रेटेर आउँछु

__________________________

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *