चुरोट र धुँवा साहित्य | Suman Bhattarai

Suman Bhattarai
जीवन एक अर्थमा धुँवा हो। केही समयपछी बिलाउनैपर्ने । अर्को अर्थमा जीवन चुरोट हो। जसको अस्तित्व क्षणमा निहित हुन्छ । कसैले धुँवामा केवल धुँवा देखुन। चुरोटमा देखुन केवल चुरोट । तर म दुवैमा जीवनको अर्थ देख्छु! बाँकी देख्नेको नजरिया। देवकोटाले धुँवामा जीवन देखे बाँकी दुनियाँले त्यही धुँवालाई देखे उनको मृत्युको कारण ! त्यही बहुरुपी नजरबाट अनेक अर्थ खोज्न आज चुरोट सल्काउँदै छु !

पहिको खिल्ली

चुरोट र धुवासङ्ग मेरो मात्र होइन, उनको पनि बलियो साइनो छ । साइनोमा एउटा विरोधाभास छ। म यस बलियो साइनोसङ्ग परिचित छु। तर उनी भने अपिरिचित।असर समयको हो? मायाको? या यो निकोटिनको? म त चुरोटमा उनलाई देख्छु। सायद नजर र नियत दुवै दोषी छन्, त्यसैले त म चुरोटलाई हरदम ओठमा च्यापिरहन्छु ।
अनि महसुस गर्छु, सायद उनी चुरोट हुन् र म हुँ धुँवा ! मेरो अस्तित्व झल्किन उनी सल्किन पर्छ। र मेरो अस्तित्व सकिन उनी सकिन पर्छ। गजब छ चुरोट, उनी र धुँवाको जात्रा- जहाँ चुरोटमा निकोटिन छ र उनीमा मोहनी !

दोस्रो खिल्ली

चुरोट सायद सम्बन्धपरक वस्तु हो। सायद नजरमा खोट हुनेहरुले चुरोटबाट सम्बन्ध नियाल्दा हुन्! र त्यसमा म पर्दो हुँ। जीवन सम्बन्धहरुले बाधिएको बन्धन हो । र जीवन मा केही यस्ता चुरोट र धुँवा जस्ता पात्रहरुसङ्ग सम्बन्ध गासिन्छन्, जो केही समयमात्र सङ्गै रहेर हराउँछन्। पताला कुराहरुमा बाक्ला यादहरु छोडेर हराउँछन्। त्यसैले ती पात्रलाई चुरोट सम्झेर धुँवामा उडाउनु बेस!

तेस्रो खिल्ली

मर्यादाको डोरीमा झुन्डेर बाँचेकाहरुले चुरोटमा घृणा देख्छन्। आदर्शको धुँवाले आँखा ढाकेर पो हो की यसो भएको? खैर! चुरोट मायाको पाठशाला हो । चुरोट र माया दुवैको समान प्राकृतिक नियम छ। दुवैले मन जलाउँछन्। दुवैमा एउटा अपवाद पनि छ । धुँवाको बहाव उकालो लाग्छ र मायाको बहाब ओरालो ! विश्वास नलागे आफ्नै परिवारमा हेर्नुस् । आफू, आफ्नो आमाबुबा र बाजेबजैलाई मायाको केन्द्रमा राखेर हेर्नुस् ! मायाको बहाब ओरालो लाग्छ: धुवाको बहाब उकालो !

चौथो खिल्ली

बजारमा हल्ला छ, चुरोट मृत्यु हो । हानीकारक छ। खै कसले बुझिदिने हो। चुरोटे जीवन बुझ्ने कडी हो । चुरोट र जीवन दुवैको आयु केही क्षणमा निहित छ । दुवैको आयु क्रमश सकिदै जान्छ । चुरोट र जीवन दुवैको आयु सकिएपछि धुँवा हुन्छन् । दुवैको अन्तिम अस्तित्व धुँवा हो ।
त्यसैले धुँवासङ्ग साइनो जोड्नेहरु जीवनसङ्ग मात्र नभएर मृत्युसङ्ग पनि आत्मिय सम्बन्धले नजिक रहन्छन्। त्यसैले दुनियाँ तिमी हावा पिउँदै गर, म जीवन र मृत्यु बुझ्न धुँवा पिउँदै गर्छु ।
धुँवासङ्ग डराउनेहरु हर अर्थमा डरपुक हुन्। जो जीवन र मृत्यु दुवैसङ्ग हच्किन्छन्। देवकोटाले दुनियाँलाई सहि प्रश्न छोडेका छन्- ‘के जाबो धुँवासङ्ग डराउनु पनि कायरता हैन?’

पाँचौ खिल्ली

कम्तिमा मेरोलागि उनका यादहरु र चुरोट एकै हुन् । मेरो लागि दुवै सहअस्तित्वमा अडिएका छन्। सङ्गै रहँदा जब चुरोट सकिँदै जान्छ, उनका यादहरु बढ्दै जान्छन् । म चुरोटसङ्गै उनका यादहरु सल्काउँछु। धुँवा र सम्बन्धका यादहरुमा हराउँछु। मानौँ चुरोट मस्तिष्कमा रहने यादको ढोका खोल्ने चाँवी हो । गजब छ! चुरोट धुँवा र यादहरुको रासलिला !
जीवनको एक कारणले सबै अर्थमा सबैलाई फरक बनाउँदो रहेछ ! केवल नजरको कारणले । एकै वस्तु, एकै व्यक्ति, एकै परिवेश, एकै परिस्थिति। हामी सबैलाई फरक-फरक लाग्छन्। सबैमा फरक निचोड र फरक अर्थ हामी भेट्छौँ। कारण यहि नजर न हो !
यहि नजरले चुरोट र धुँवामा मैले साहित्य र जीवन देखेँ । अब पढिदिने नजरले फरक निचोड निकाल्न मिल्छ।
Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *