युवा राजनीति: कुरी कुरी? | Sudarshan Poudel | Opinion

Sudarshan Poudel
युवा राजनीति: कुरी कुरी?

दिक्क लाग्दो राजनीतिक सेरोफेरोमा आशाको किरण नयाँ पुस्तानै हो। समाज राम्रोसँग बुझ्न, अत्यावश्यक विकास योजना तयार पार्न र जरोदेखि परिवर्तनको विगुल फुक्न युवा राजनीतिबाट मात्र सम्भव छ। यसो भनि रहँदा के वर्तमान युवा राजनीति आशा गर्ने स्थितिमा छ?

दशकौं लामो राजनीतिक संघर्ष पछि पनि विकास योजनाहरु अलपत्र पारेर हरेक दिन राजनीतिक समस्याहरु मात्र संसदमा घन्किने गर्छन्। यो हाम्रो पुस्ताको लागि दुःखको कुरा हो। समस्याहरुबाट थकित जनताहरु राजनीतिमा पुस्तान्तरण र युवा हस्तक्षेपको आश गरेको कुरा पनि सर्वविदितै छ। विभिन्न भातृ संगठनबाट पहल नभएको होइन। तर युवाहरु राजनीति र देश निर्माणमा बाघ जस्तै गर्जिने आश भइरहेको बेला बिरामी बिरालो जस्तै मिलाउँदै पनि गर्न नसक्नु विडम्बना हो।
प्रगतिशील युवा राजनीतिले वर्षौ पुरानो राजनीतिक शिक्षा र पद्धतिमा परिवर्तन ल्याउनुको साथै राष्ट्रिको मुहार फेर्न सम्भव छ भन्ने कुरा धेरै मुखौटे विद्वानहरुलाई अव्यवहारिक लाग्नु स्वभाविक हो। तर त्यस्तो बेतुके तर्कहरूलाई गलत सावित गर्ने धेरै उदाहरणहरु छन्। फिनल्याण्ड की ३४ वर्षिय साना मारिन, यु.के की २३ वर्षीय नाडिया विह्टटोम, न्यूजिल्यान्ड की २४ वर्षीय क्लोई स्वारब्रिक। यी सबै विश्व प्रख्यात युवा नेताका उदाहरण हुन्। यिनले युवा नेतृत्वबाट परिवर्तन सम्भव छ भन्ने सावित गरेका छन्।
एकैठाउँमा जमेको पानी जसरी दुषित हुन्छ त्यसरी नै कयौं वर्षसम्म एकै व्यक्तिको नेतृत्वमा चलिरहेको पार्टी वा संगठनले राम्रो नतिजा दिन नसक्ने कुरा वर्तमान परिप्रेक्षमा देखिएको कुरा हो। त्यसैले नेतृत्वमा पुस्तान्तरण अत्यावश्यक रहेको म ठान्छु।
आफ्नै मुखबाट निस्केको भन्दैमा थुक चाट्न मिल्दैन तर स्वघोषित विद्वान युवा राजनीतिज्ञहरुको प्रवृत्ति यस्तै देखिएको छ। यिनका सिद्धान्त र विश्वास फेरिएको र हरेक प्रहरमा फेरिने बोली देख्दा सायद शेषनाग लज्जित छन् होला। फेरि युवा राजनीतिको होडमा पनि दुई थरि समूह देखिन्छ। एक सामाजिक सन्जालका स्वतन्त्र र विद्वान युवा र अर्को असली फिल्डमा उत्रने “Brain washed puppets”(मेरो भाषामा)।
सामाजिक सञ्जालबाट चुनावी सञ्जालसम्मको सानो यात्रामा नै सोँच, मानसिकता र स्वतन्त्रता ट्राफिक बत्ति जसरी परिवर्तन भइरहन्छ। अझ लाजमर्दो त शारिरिक, मानसिक र व्यवाहारिक रुपमा सबल मानिने युवाहरु व्यक्तिगत स्वार्थमा नै अल्झिएर आफ्नो मताधिकारको दुरुपयोग गरेको देखिनु हो। आशाका त्यान्द्रोमा रहेका युवाहरुको यसरी आफ्नै परिभाषा अपवाद हुनु निरासाजनक स्थिति हो।
सबैभन्दा लाजमर्दो त लोभलाग्दो वक्तव्यमा रुमलिने युवाहरु हुन्। ठूल्ठूलो माइक घन्काउदै हिड्ने हामी २१औं शताब्दीमा पुग्यौं भन्दै गरेको भाषण सुन्दा हास्यास्पद लाग्छ। खुला ठाउँमा दिशा पिसाब गर्नबाट रोक लगाउन खुल्ला दिशा पिसाब मुक्त क्षेत्र घोषणा गर्नुपर्ने बौद्धिक चेतको निर्मम आत्मालोचना नगरी हावादारी सपना बेच्ने नेताको पछि लाग्ने युवाहरुको भीड पनि बाक्लै देखिन्छ।
संसारमा घटिरहेको सबै घटनाएको विश्लेषण गर्न र कुन देशलाई कुन पद्धतिमा जाँदा ठीक बेठीक हुन्छ भन्ने कुरा चिया पसलमा नै निर्णय गर्न सक्ने युवा जमात आफ्नो राष्ट्रको राजनीतिमा भइरहेको अस्थिरता देखेर विचलित हुनुपर्ने होइन? ठूलो भीडहरुले सायद निराशाजनक नतिजा दिएका कारण केहि गर्छु भन्ने आत्मबल र साहस लिएर आएका युवा अपत्यारिलो तरिकाले बिलाउछन्।
तर अब जाग्ने बेला आएको छ।
यति अस्थिर र आर्थिक अवस्थाले सिथिल भइरहेको राष्ट्रलाई केही मलहम लगाउन मताधिकारको सदुपयोग गर्न सकिन्छ। मानव अधिकारको लागि सङ्घर्ष गर्नुपर्ने ठाउँमा भोट गर्ने अधिकार स्वतन्त्र रुपले गर्न सकिन्छ। यो सबै वर्गका स्वतन्त्रका नागरिकको लागि सौभाग्यको कुरा हो।
म त भन्छु आफ्नो सौभाग्यको सदुपयोग गरी पाँच लिटर पेट्रोलमा पाँच वर्ष देश बेच्ने अधिकार जो कोहीलाई प्रदान नगरौँ। नत्र युवा राजनीति परिवर्तनको नभएर मजाकको पात्र मात्र बन्नेछ।
युवा राजनीतिलाई कुरी कुरी गरिरहेको बेला अब लाज छोप्ने बेला आएको छ।

 

Read More From Sudarshan Poudel:

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published.