ती, जसले दुःखमा सघाउँछन् !
म माँझ खोलाको एउटा लहडी बतास!
एक साँझ, कुहिरोलाई खेद्दै देउराली उक्ले भने, अर्को बिहान उसैसँग कुम मिलाएर फेरि ओरालै सुइँकन्छु ! भन्ज्याङहरूमा पनि बिसाउन नजानेको। दोबाटोहरूमा अडिन नजानेको। म गतिहरूको असङ्गति ! लयहरूको एउटा विकृति ! अनि तिमी ?
कहाँ एकै ठाउँ फुली बस्छ र भिर फूल? गोरेटोहरूमा पर्दा कहिलेकाहीँ कुल्चिनु पर्छ । सिरेटोहरूमा पर्दा कहिलेकाहीँ हुइँकिनुपर्छ। कहिले घामतिर। कहिले छायाँ तिर। फल्छु, फुल्छु अनि ओइलन्छु। तिमीले थाहै पाउँदैनौ। म प्रत्येक यामलाई एउटा फरक पाहुना! अनि तिमी ?
पसिना तप्किएर सडकमा खसिसक्दा तालुहरू खुइलिइसकेका हुन्छन्। नाम्लोमा गाँठो फेरिँदा बाबियोहरू उध्रिसकेका हुन्छन्। ढाकाको काँपमा मैल थुप्रिँदा टोपीको चुचुरो सबै फाटिसकेका हुन्छन्। म त्यस्तै खुइलिएको,फाटेको, उध्रेको एक; म चुरोटको एक सर्को धुवा! धुलोको एक मुस्लो! थकाइको एउटा सुस्केरा! अनि तिमी ?
पहाडबाट खसिसकेपछि, पहिरोको कुनै मैझारो हुँदैन। उसले ससानो गग्रेटो खोचको गर्भमा सधैं खसाली राखेको हुन्छ। मानौँ, भूगोलसँग एउटा अघोषित मौन विद्रोह चल्दै छ पहाडको। म त्यस्तै उप्किएको एउटा ढुङ्गो! माटोको एउटा डल्लो। अनि तिमी?
चुँडिएर उछिट्टिनु पर्दछ सबै हरियालीलाई। कुम मर्काएर बतासमा नाचिराख्दा, बतासले रुखलाई एक दिन थन्को लगाउँछ। ठेगान लगाउँछ। म त्यस्तै एउटा पात। एक बुट्यान। एक कसिङ्गर। अनि तिमी?
सुरिलो एक्लो सिमलको रुख!जो रातै फुलेको छ। झाँगिएर क्रमशः भुईँभरि छरिनेछ। तर हरियालीको माझमा एउटा विद्रोह। क्रमिकतामा एउटा असन्तुलन। म त्यस्तै एउटा जीवन ! अनि तिमी ?
तिमी ? तिमी भुतुक्कै को एउटा अनुभूति ! जहाँ स्वरहरूको सम्झनाले जीवनमा एउटा कम्पन दिएर जान्छ। जहाँ सुस्केराको याद स्पर्शले छुन्छ। वसन्तलाई स्वागत गर्न आएको एउटा मनतातो बतास जस्तो! जसले हृदयसम्म छुन्छ ! तिमी ..तिमी त्यही जसको सम्झनाले दुखमा सघाउँछन्।
रातको अँध्यारोमा, ताराहरू गन्न बस्दाको एक गणित; जसको हिसाब सायदै कहिल्यै मिल्छ। दिनको उज्यालोमा, खोलाको लहरहरू गन्न बस्दाको एउटा प्रयास जसले सायदै कहिल्यै सार्थकता पाउँछ। तिमी, त्यस्तै एक सम्झना! जसको कुनै गिन्ती छैन। गति छैन। अब फेरि भेटेछु भने तिमीलाई, सङ्गै बसेर जून गन्न सिक्नेछु।
पसाएको बास्नाहरु डिल डिलमा छरिन छोड्दा, बालीहरू उठिसकेका हुन्छन्। फूलहरू ओइलिन र फक्रिन छोड्दा बोटहरू ढलिसकेका हुन्छन्। फलहरू फल्न र फुल्न छोड्दा डालीहरू मरिसकेका हुन्छन्। त्यस्तै: मौनताले बिझाउन छोड्दा सम्बन्धहरू पनि सबै चिस्सी सकेका हुन्छन्। तिमी त्यस्तै एउटा सम्बन्ध ? जहाँ मौनताले बिझाउन छोड्यो!
आवाज शून्य दिनहरूले रुझाउन छोड्यो। एउटा मौन शून्यता; एउटा रित्तोपन। एउटा डरलाग्दो खोक्रोपनको निराशा। जो क्रमशः सबै साधारण लाग्छन्। तिमी त्यही सम्बन्ध ! म? म पनि त्यही सम्बन्ध ।
खैर? सम्झनाको तराजुमा नापिल्याउँदा! को कहाँ? कति खेर? कतापट्टि ढल्कियो हिसाब छैन। तौल छैन। समीक्षा छैन। तर मध्यरातको एउटा बिपना। मध्यदिनको एउटा सपना ! तिमी त्यही, जसले जीवनको गाडी रोकिन दिँदैन। म कसरी चल्थेँ हुला र? तिमीले विश्वासको इन्धन नभरिदिएको भए? म कसरी उक्लन्थे होला र यो आडम्बरको उकालो? तिमीले धकेलिदिने ऊर्जा नदिएको भए? तिमीले सास र साहसको शक्ति नथपिदिएको भए; म जीवनको तेर्सोमै कतै अल्झिन्थे।
छुटेपछि दोबाटोमा यात्राहरू, पाइतालाहरू छुट्टाछुट्टै हिँड्छन्। हातहरू फरक फरक समाइन्छन्। रातको अन्तिम प्रहरमा घामले झुल्कने पालो कुरिबस्दा स्वरहरू सम्झनामा मात्रै गुन्जिन्छन्। त्यो रिसमा, आवेगमा, अनिदोमा, मुस्कानमा, खित्कामा, गम्भीर्यतामा निस्कने मसिना सुस्केराहरू छातीभित्रै कतै हराउँछन्। बाकी रहन्छ, यादहरूको झिल्को। एउटा मीठो स्पन्दन। तर तिनै हुन, जसले दुखमा सघाउँछन्।
त्यसो भए तिमी र म यत्ति? एउटा लेख; एउटा प्रेम पत्र? एउटा दैनिकी ! जसलाई लेखिएर पनि कतै हराउनु छ। जसलाई पढेर पनि छिट्टै बिर्सिइनु छ। या नपढेरै बेवास्ताको थन्को लगाइनु छ। हुनसक्छ मात्र यत्ति! एउटा नियति; जसलाई सम्झना बनेर दुखमा सघाउनु छ।
घरीघरी म पुग्नुपर्ने हुन्छ तिमीमा! एउटा अतीतको नभत्केको गोरेटो छिचोलेर! सम्झनाका डिल र कान्लाहरू नाघेर! तर भेटिनलाई तिमी पनि थोरै वर फर्कन पर्ने हुन्छ।
कुनै दिन सँगै हिँडेको जिरो माइलमा फेरि भेट भएछ भने, सँगै बसेर सम्बन्धको समीक्षा गरौँला! त्यस दिन म ताराहरूलाई बिट मारेर, सँगै बसेर जीवनमा जून गन्न सिक्नेछु।
आँधी खोलाले मुहान छोडेपछि, किनार: किनारमा झन् सङ्लिँदै अघि बढ्न जानेको छ। फराकिँदै लम्कन जानेको छ। दोभान: दोभानमा सबैलाई समेट्दै अघि बढ्न जानेको छ। हामी पनि हात छुटेका बिन्दुलाई मुहान सम्झेर अघि बढुँला। दुःखमा सघाउनलाई सम्झनाहरू साँची छन् सम्झनाहरू साक्षी छन्।
परालको कुन्यूले झरी सहँदैन। न छाइएको खरले सहिराख्छ। झरी सहनलाई उसलाई बालीमै हुनुपर्थ्यो। गाझमै हुनुपर्थ्यो। हामीले उज्यालोको असन्तुष्टिमा अँध्यारो रोज्नु हुँदैनथ्यो। तर पात बोटबाट झरिसकेपछि उसलाई पहेँलिनै पर्छ। बाकी ? अब सघाउनलाई तिनै सम्झना छन् जसले अँध्यारोमा सघाउँछन्। ती जसले दुःखमा सघाउँछन्।
एउटा न्यानो रही राख्नेछ मुटुमा! एउटा स्पर्शको अनुभूति रहिराख्नेछ हत्केलामा। तर एक दिन ती सबै मधुरा हुनेछन्। सम्झनाहरू पनि बिस्तारै धमिलिनेछन्। तर दुखमा सधैँ सघाइराख्नेछन्।
अहिलेलाई यत्तिमै रोकिए। अघि बढ्नलाई हामी फेरि सङ्गै हिँडेको जिरो माइलमा भेटिनुपर्नेछ। तर मेरो उमेरको फिरफिरेलाई तिमीले बतास बनेर नफुर्काइदिएको भए, म पहिल्यै कतै रोकिन्थेँ।
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

