शिक्षाको आधुनिकीकरणमा शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका
देखेर, सुनेर, पढेर, सिकेर वा अनुभव गरेर प्राप्त हुने ज्ञान शिक्षा हो । यसलाई व्यक्तिको व्यक्तित्व विकास तथा समग्र राष्ट्रको दीर्घकालीन विकासको महत्वपूर्ण पूर्वाधार मानिन्छ। यो मानव जीवनको अन्तर मनभित्रको तेस्रो आँखा पनि हो।
प्राचीनकालमा नेपालमा गरुकुल शिक्षा प्रणाली प्रचलित थियो। वि.सं. १९१० मा दरबार स्कुलको स्थापना भएसँगै नेपालमा आधुनिक शिक्षा प्रणालीको सुरुवात भयो। तर आजको दिनसम्म आइपुग्दा पनि, नेपालको शैक्षिक क्षेत्रमा आधुनिकीकरण ल्याउन सकिएको छैन।
मानिस जन्मेपछि उसको लागि पहिलो पाठशाला आमाको काख हो । कुनै पनि वस्तुको स्पर्श, गन्ध,
स्वाद आदिबाट सुरु हुने शिक्षा, आमाको काख, परिवार, दौँतरी, समाज, समुदाय, हुँदै औपचारिक शैक्षिक संस्थाहरु विद्यालय, महाविद्यालय एवम् विश्वविद्यालयहरुसम्म चल्छ।
“हामी जति अध्ययन गर्दै जान्छौ, त्यति अज्ञानताको अनुभूति हुन्छ” पश्चिमी साहित्यका प्रभावशाली
साहित्यकार विद्वान्पि.बि.शेलीको भनाइ हो यो। उनको यस भनाइले शिक्षा आर्जन गर्ने प्रक्रिया कहिल्यै सकिदैन, जीवनपर्यन्त चलिरहन्छ भन्ने कुरा पुष्टि हुन्छ। यसरी आर्जन गरेको शिक्षा जीवनोपयोगी हुन जरुरी छ । यसले मानिसलाई के ठीक र बेठीक छुट्याउन सक्षम बनाउँछ । साथै, यसरी हासिल गरिने शिक्षाले मानिसलाई जीवनको आधारभूत कुरा सिकाउन सक्नुपर्छ ।
तर, नेपालको शैक्षिक प्रणाली दुई-तीन घण्टे परीक्षाको अनुभव र लेखाइमा सिमित छ। यसतो प्रणालीले मानव जीवनमा परिवर्तन ल्याउन सकेको देखिँदैन ।
विद्यालयदेखि विश्वविद्यालयसम्म घोक्न्ते विद्या भएको विद्यार्थी अब्बल मानिन्छ। व्यवहारिक शिक्षा नभए पनि अङ्ग्रेजी बोले समाजमा प्रतिभाशाली विद्यार्थी कहलिन्छ । मार्कसिटको अंकले विद्वान कहलिन्छ। यो ठीक होइन।
तर हाम्रो समाजमा यही मानसिकताले जरा गाडेको छ। शिक्षामा आधुनिकीकरण आउन सकिको छैन।
आजको युग विज्ञान र प्रविधिको युग हो । तर हाम्रो शैक्षिक प्रणाली पुरातन शैलीको छ। हामी विश्वव्यापी प्रतिस्पर्धामा पछाडि छौँ।
उदाहरणलाई अन्य देशले कोभिड-१९ महामारीबाट बच्न दिनकै लाखौं खोप बनाएको तथ्यांक छ। हाम्रो देश तिनै खोपको पर्खाइमा। आधुनिक शिक्षा प्रणाली र योग्य क्षमता भएको भए यो नेपालमै बन्न सक्ने खोप हो। शिक्षामा पिछडीनुसाथ हामी कृषि, प्रविधिदेखि विज्ञानसम्म पछाडी ढकेलिएको छौँ।
अहिले शिक्षामा आधुनिकीकरण आउनु आवश्यकता हो । यसका निम्ति सर्वप्रथम नेपालमा विद्यमान रहेका पुरातन शैलीको पाठ्यक्रम र प्राप्ताङ्कमा आधारित परीक्षा प्रणाली परिमार्जिन गर्न जरुरी छ ।
आधुनिक शिक्षा प्रणाली भित्र्याउन शिक्षक, विद्यार्थी र अभिभावक वर्गको आ-आफ्नै किसिमको भूमिका हुन्छ ।
शिक्षकको दायित्व
शिक्षकले पढाउने क्रममा सैद्घान्तिक कुरा मात्र नभई व्यवहारिक उपयोगिताको बारेमा बुझाउन जरुरी छ। जस्तैः लम्बाइ र चौडाइको गुणनफलबाट आयतको क्षेत्रफल निस्किन्छ भनेर किताबमा छ। त्यसलाई कापीमा लेखाएर पुग्दैन। विद्यार्थीहरुलाई कक्षाकोठाको क्षेत्रफल निकाल्न लगाएर सो प्रश्नको उत्तर बुझाउनुपर्छ।
कथा, जीवनी पढाएपछि जीवनीबाट दैनिक जीवनलाई उपयोगी हुने प्रेरणा लिन सक्षम बनाउनुपर्छ।
के सही, के गलत छुट्याउन सिकानुपर्छ।
अम्लले नीलो लिटमस पेपरलाई रातो रङमा परिणत गर्छ भन्ने कुरा घोकाउन हुन्न। प्रयोगशालामा विद्यार्थीकै अगाडि प्रकृया देखाइ बुझाए बल्ल विद्यार्थीले राम्ररीबुझ्छन्।
प्रयोगात्मक शिक्षालाई विशेष प्राथमिकता दिए शिक्षाले फड्को हान्छ।
शिक्षक आफै पाठ्यवस्तुमा सिमित नभएर तथ्यपरक एवम् समसामयिक विषयवस्तुहरु इन्टरनेटमार्फत खोजी विद्यार्थीलाई पढाउनुपर्छ। श्रव्य दृश्य उपलब्ध भएको शिक्षा सामग्रीको प्रयोग गरी कक्षालाई रोचक र शिक्षामूलक बनाउनु सकिन्छ ।
विद्यार्थीलाई समान व्यवहार गरेर, बिगार गर्दा नहप्काएर सकरात्मक ढङ्गले विद्यार्थीलाई उत्प्रेरित गर्न शिक्षकको महत्वपूर्ण भूमिका हुन्छ ।
उत्कृष्ट विद्यार्थीलाई हौसला र कमजोरलाई अझै प्रयास गर्न प्रेरणा प्रदान गर्नुपर्छ ।
शिक्षकले राजनीतिक पार्टीको झण्डा ओढेर, अनैतिक क्रियाकलाप गरेर गतल उदाहरण बन्न हुँदैन। आफ्नो पेशालाई आदर गरेर, विद्यार्थीको उज्जवल भविष्यको लागि आधुनिक शिक्षा प्रणाली अपनाउँदै शिक्षक अघि सर्नुपर्छ।
विद्यार्थीको दायित्व
शिक्षालाई आधुनिकीकरणतर्फ ढकाल्न विद्यार्थीको विशेष दायित्व हुन्छ।
-विद्यार्थीले अनुशासिन भएर गुरुको आज्ञा पालन गर्नुपर्छ । अध्ययनसँगै व्यवहारिक शिक्षा पनि जान्नुपर्छ ।
– नजानेका कुरा शिक्षक-शिक्षिकालाई नम्रतापूर्वक सोध्ने र आफै इन्टरनेटमा खोजी ज्ञान आर्जन गर्नपर्छ
– पढेका कुरा र ज्ञानलाई जीवनमा लागु गर्नु विद्यार्थीको दायित्व हो। आफ्नो दक्षता र रुचि पहिचान गरि लक्ष्य निर्धारण गर्दै निरन्तर मेहनत गर्नुपर्छ।
अभिभावकको दायित्व
शिक्षाको क्षेत्रमा आधुनिकीकरण ल्याउनमा अभिभावकको पनि महत्वपूर्ण भूमिका हुन्छ। अभिभावकले आफ्ना नानीबाबुलाई पढ्नका लागि उपयुक्त वातावरणको सिर्जना गरिदिनु आवश्यक छ। उनीहरु कता जान्छन्, के गर्छन्, कतिको पढ्छन्, पढेको कति बुझ्छन् भन्ने कुराको जानकारी असल अभिभावक हुन्छ।
अभिभावकको दायित्व अनुसार छोराछोरीले राम्रो गरे हौसला दिनु र नराम्रो गरे सम्झाइ—बुझाइ अझ राम्रो गर्न होसला दिनु हो।
शिक्षाको गुणस्तर बढाउन के गर्नुपर्ला भनेर अभिभावकले विद्यालयलाई समयसमयमा सुझाव दिन राम्रो हो। आफ्ना बालबच्चाको रुची बुझेर, विषय पहिचान गर्न र मेहनत गर्न प्रोत्साहन गर्नु अभिभावकको महत्वपूर्ण भूमिका मानिन्छ।
हाम्रो युग विज्ञान र प्रविधिको युग भएकाले शैक्षिक प्रणालीमा आधुनिकीकरण नै वर्तमान समयको प्रमुख आवश्यकता हो। अनलाइन कक्षाको लागि आवश्यक पुर्वाधार तयार गर्ने, विद्यार्थी-शिक्षकलाई डिजिटली शिक्षा दिने कुरामा जोड दिनुपर्छ। यसको अभावमा भविष्यमा शिक्षित बेरोजगारको संख्या वृद्घि हु निश्चित छ। फलस्वरुप, देशका कर्णधार युवाशक्ति खाडी मुलुकमा पसिना बगाउन बाध्य हुन्छन्।
यस विषयप्रति हामी सबैले गम्भीर भएर सोच्नुपर्ने समय हो यो। सम्भवतः सुरुआत आफूबाट गर्नुपर्छ। विद्यार्थी, शिक्षक र अभिभावकले आ-आफ्नो दायित्व बहन गर्ने हो भने पनि हाम्रो शिक्षा प्रणालीमा सुधार आउन सक्छ। यो त्रिकोणात्मक सम्बन्धले एकआपसमा परस्पर काम गरे मात्र नतिजामा सुधार आउँछ।
प्रविधिको प्रयोग गर्दै, पुर्वाधारको सदुपयोगसँगै अनुशासित भएर दायित्व पुरा गरे आधुनिक शिक्षा प्रणाली केहि कदम मात्र अघि छ।
Read More From Samir Sapkota Chhetri:
कतै फेरि लोडसेडिङ हुने त होइन ? | Samir Sapkota Chhetri [Offline Thinker] #1
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com