Nepali Poem | परीक्षा | Pari Vikram

nepali poem Pari Vikram
के छ ?
– परीक्षा
के हुँदैछ ?
– परीक्षा
के भयो ?
– परीक्षा
जिन्दगीमा प्रश्न थुप्रै आइरहन्छन्
मसँग उत्तर एउटै छ – परीक्षा
म कैयौँ थान निन्द्रा खाटमै सुताएर
अलार्मभन्दा छिटो टेबलमा ब्यँझिन्छु ।
कैयौँ थान हाँसो च्यापुमै लुकाएर
ओठमा भन्दा पहिला किताबमा मुस्काउँछु ।
कैयौँ थान सेलिब्रेसन दराजमा लुकाएर
अनाथभन्दा धेरै म कोठामा एक्लिन्छु ।
कैयौं थान रहर नोट प्याडमै थन्काएर
अक्षरभन्दा बढी म नोट कापीमा थन्किन्छु ।
परीक्षाकै सम्मानमा,
जीवन छोडेर, परीक्षा बाँचीदिन्छु
खाना छोडेर, परीक्षै खाइदिन्छु
सबैभन्दा प्रिय काम कविता सोच्न छोड्छु
सबैभन्दा प्रिय शायरको गजल पढ्न छोड्छु
सबैभन्दा प्रिय गायकको गीत सुन्न छोड्छु
म चिन्ता मानिदिन्छु
जति मान्नुपर्ने हो, त्यो भन्दा बढी
म भयङ्कर ठानिदिन्छु
जति ठान्नुपर्ने हो, त्यो भन्दा बढी
मैले बिमारलाई कतिपल्ट
ढोका बाहिरै बस्न भनेको छु
किनकी मेरो परीक्षा आउँदै थियो ।
मैले थकानलाई कतिपल्ट।
आँगन बाहिरै खस्न भनेको छु
किनकी मेरो परीक्षा आउँदै थियो ।
मैले उदासीलाई कतिपल्ट
साँझ घामसँगै जान भनेको छु
किनकी मेरो परीक्षा हुँदै थियो ।
मैले आलस्यतालाई कतिपल्ट
कुर्चीसम्म नउक्लिन भनेको छु
किनकी मेरो परीक्षा हुँदै थियो ।
तर आइरहन्छन् परीक्षाहरू –
जुन घरमा बाबाआमासँग
बोल्नुभन्दा महत्त्वपूर्ण हुन्छन् ।
जुन आफ्नो मनलाग्दीसँग
बाँच्नुभन्दा ठूला हुन्छन् ।
जुन आफ्नै फुच्चे जिन्दगीको
वजन भन्दा गह्रौं हुन्छन् ।
चल्दाचल्दैको घडीको ब्याट्री सकिएर
रोकिए जसरी घडीका सुईहरू
परीक्षा हुनु भनेको
जिन्दगी यसैगरी टक्क रोकिनु हो ।
एकै थान सर्टिफिकेटकै लागि
म रोक्दै चलाउँदै
गरिरहेको छु – जिन्दगी ।
✍️ परिविक्रम
८०-११-०८ , रामपुर
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *