पहिलो प्रेम | Suman Bhattarai

suman bhattarai
प्रेम कसैका लागि भोगाइ । कसैका लागि रोजाइ । कसैका लागि फगत एक अनुभुति ! मेरा लागि प्रेम के?
मेरा लागि, प्रेम त्यही चुरोटको धुवा ! जून, आफू वरपर रहँदा आनन्द ! तर जब आँखामा पर्छ, आँखा पिरोल्न थाल्छ । प्रेम ठ्याक्कै त्यस्तै ।
प्रेम फेरि आँधीखोला जस्तै । उर्लन्छ: सुक्छ । घट्छ: बढछ । आफ्नो गोरेटो आफै पहिल्याउछ । बस, बहन्छ निरन्तर । यसको आफ्नै गति छ । आफ्नै चाल छ । स्वच्छ छ । अविच्चिन्न छ ।
प्रेमका आफ्नै नियम छन । आफ्नै विरोधाभास छन्। प्रेमका कानुन आफ्नै: सजाय आफ्नै । प्रेममा सबका भावनाहरु, अनुभुतिहरु भरिन्छन :रित्तिन्छन ! अनि पुन भरिन्छन रित्तिन्छन्  ! यो क्रम पुनः सधैभर चलिरहन्छ । पहिलो प्रेमको रुमानी यात्रामा उम्रने गहिरा अनुभुतीहरु कहिले फक्रन्छन् त कहिले ओइलिन्छन् ! प्रेमको आफ्नै प्रकृति र यामहरु छन् । यसै अनुसार प्रेमीहरु आफ्नो भावनाको जन्मोत्सव मनाउछन् : मलामी जान्छन् । प्रेमको लिला नै अपरम्पार !
पहिलो प्रेम कसैको मुस्कानबाट होला । कहिले आवाजबाट त कहिले अन्दाजबाट । कहिले भोगाइसङ्ग त कहिले रोजाइसङ्ग । पहिलो प्रेम कसैसङ्ग कर्मले गराउला त कसैसँग प्रारब्धले । सबैसङ्ग हुने प्रेम पहिलो प्रेम हो । प्रेमको भोगाइ, अनुभुती, ज्ञान, संख्या पहिलो दोस्रो तेस्रो…होलान् । प्रेम सधै सबैसङ्ग पहिलो हुन्छ । केबल पहिलो।
मनको धागोमा जेलिन आउनेहरु कोहि त्यही जेलिन्छन । कोहि केहि समयमै आकार लिन चाहेर चुडिन्छन । न जेलियको धागो पहिलो जस्तो रहन्छ न चुडिएको । प्रेम जटिल छ, जसले सबैको प्रारुप  बदल्छ ।
त्यस्तै कतिको मनको धागोमा म जेलिन पुगे, कतिकोमा  चुडिन पुगे । चुडिय पनि जेलिय पनि सबैसङ्ग मेरो पहिलो प्रेम थियो ।
घटनाहरु सम्झदा,
स्कुले जीवन को अन्तिम दिनमा, कताकता मलाइ कसैसङ्ग प्रेम थियो जस्तो लाग्यो । स्कुलको भित्तामा पालैपालो सबैले आफ्नो नाम लेखाए । मैले पनि लेखे । अन्तिममा एउटा बठ्याइ पनि गरिछाडे । उनको नाम पछाडी खुसुक्क मेरो नाम जोडिदिए । तर भाग्यको पर्खालमा हाम्रो नाम सङ्गै नलेखिनु रहेछ ।
अहिले त सायद स्कुलमा लेखिएको हाम्रो जोडिएको नाम पनि मेटियो होला ….।
त्यस्तै कलेजको पढ्दाको बीचतिर कसैसँग प्रेम छ-छ जस्तो लाग्यो । आट गरेरै मनको कुरा सुनाउन चाहे। सुनाए पनि: तर उनले सासै नफेरी नाइ भनिदिइन । उनले नाइ भनेपछि भाग्यले के “हुन्छ” भन्थ्यो ? यत्तिकैमा टुङ्गियो अप्रेम !
ठ्याक्कै ब्याचलर पढदाको समय । फेसबुकको गन्जागोल र बिगबिगी रहने समय । खै कसरी कसरी ? उनीसङ्ग पहिलो च्याटमै २ घन्टा लामो वार्तालाप भएछ  सो क्रम चली नै रह्यो । गुडमर्निङ र गुडनाइट म्यासेजका छडी लाग्नुको मज्जा नै बेग्लै ! वार्तालापको अभ्यस्तताले एक दुई कविता किन नफुरुन? मज्जैले फुरे । प्रेमको भ्रम अनुभुतिको आनन्द नै बेग्लै । एकदिन तालैतालमा छच्लकिएको प्रेम पोखिछाडे । नपोख्नु रहेछ, बित्यास भो !
पछि दोस्रो पल्ट प्रेम पोखे, उस्तै चाल ! तेस्रो पल्टपछी सम्बन्ध औपचारिक बन्दै गयो । कति सम्बन्धहरु न गन्तव्यमा पुग्छन, न बाटैमा रोकिन्छन् । जीवनभर प्रेमको बाटैमा यात्रारत रहन्छन् । जहाँ शितल दिने चौतारी त्यही सम्बन्ध हो । अत्यास बढाउने रापिलो घाम पनि त्यही सम्बन्ध हो । सम्बन्ध यस्तैमा अल्झियो । त्यसैले यो टुङ्गिएन पनि, अघि सरेन पनि ।
अझ बीचमा भेटिएका फुट्कर प्रेमहरु जीवनमा सायद हरदिन आए । कति प्रेम बिर्सन सकिन्न । कति प्रेम सम्झिन सकिन्न । तर जतिपनि आए ती सबै पहिलो प्रेम हुन्। अब आउनेहरु पनि पहिलो प्रेम भएरै आउनेछन्।
म हरदिन पहिलो प्रेमको मलामी जान्छु । म हरदिन पहिलो प्रेमको जन्मोत्सव मनाउँछु । अरु प्रेमको नियममा चलुन, म प्रेमको अपवादमा चलिरहुँ । हर अर्थमा कतै आख्यानकार जिएस पौडेलले सहि लेखेछन् ” लेख्नेले प्रेमको हजारौं नियम लेखे होलान, तर यसको एउटै नियम छ, यो कुनै नियममा चल्दैन ।”
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *