सूर्यले क्षितिजको काखमा किरणको ताप पस्कन नपाउँदै, सधैँ सबेरै मेरो मनोभूमिमा ताण्डव मच्चाउने अलार्मसँग आज बिहानै वार्ता गरेँ। वाचा गरेँ, आज तिमीसँग रिसाउँदिन। अनि कुनै झर्को बिना, बाथरुमतर्फ लागेँ। उसै त दया लाग्ने अनुहार मेरो, ऐनाले झनै निन्याउरो दर्पण थमाइदियो। अवश्य नै हिजो साँझको ह्विस्कीले धर्म छाडेको हुनुपर्छ, त्यति मज्जाले निदाइएन पनि।
हजारौं स्वप्न अनि विवशताको झोलीमा पिल्सिएका मेरा दिनहरू प्रायः अलार्मलाई गाली गरेर सुरु हुन्छन्। दिनभरी कामलाई गाली गर्छु, साँझ घर फर्कने ट्रेनलाई र राति मै सँग छली लुकामारी खेल्ने निन्द्रालाई। तर आज भने कसैलाई गाली गरिन। आज स्वइच्छाले सबेरै उठेँ। चराहरूले आङ तान्न नपाउँदै उठेँ। उ पर फाँटहरू कुहिरोको कम्बल ओढेर लमतन्न थिए तर म उठेँ। समयको कठालो समाउँला जस्तो गरेर उठेँ। कारण ?? छुट्टी !!
हो, कुरा अलि विरोधाभासी छ, थाहा छ । तर छुट्टीमा कोठामै थुनिएर आफ्नै दिनचर्यालाई गाली गर्न मन थिएन। छुट्टीलाई दोष दिनु थिएन, वैरागी कविजस्तो जिन्दगीलाई कोस्नु पनि थिएन। आलस्यमा अर्को एक दिन बर्बाद गर्न चाहिनँ। त्यसैले क्रिसमसको रौनक खोज्दै बाहिरिएँ। कागले कान लग्यो भनेर काग छोप्न हिँडेझैँ बुढा पेस्टको क्रिसमसको हल्ला सुनेँ अनि हिँडे हल्ला टिप्न ।
पहिलो ट्रेन ड्रेसडेन–प्राग। जर्मन ट्रेनले फेरि एक पटक आफ्नो धर्म निभायो, दस मिनेट ढिला। अहिले चढेको ट्रेन र प्रागबाट बुढा पेस्ट जाने ट्रेनबिच जम्मा १२ मिनेटको अन्तर थियो। उसले मलाई कुनै हालतमा कुर्ने वाला थिएन। आफ्नै मनलाई ढाडस दिँदै, प्राग पुगेपछि कोही सरोकारवालासँग रोइकराई गरौँला भन्ने सोच्दै म अघि बढेँ।
ड्रेसडेन हुँदै प्रागसम्मको यात्रा भने गज्जब लाग्यो। एल्ब नदीको दाहिने किनार समातेर रेलका पटरीहरू लम्पसार परेका थिए। उचाइमा उभिएका पहाडहरूको तलपट्टी गाडी गुड्ने खोँच थियो र त्यसैको छेउमै एल्ब नदी शान्त भावमा बगिरहेको थियो। नदी पारी ढुङ्गाका पहाडहरू मौन साक्षीझैँ देखिन्थे। चिसोले सुकेका रुखहरूका बिचबिचमा फाट्टफुट्ट सदाबहार र कतैकतै पहेँलो टाटाजस्ता हरिया रुखहरू देखिन्थे। ती रुखहरूको ओटबाट ठुला चट्टानहरू झुल्किन्थे। यस्तो लाग्थ्यो, चट्टानहरूको इज्जत रुखहरूले आफ्नो छायाँमा लुकाइदिएका थिए। तर शरदको कटाक्षसँग को लुक्न सक्थ्यो र? अन्ततः रुखहरू पनि नाङ्गिए, र चट्टानका सरम छरपस्ट भए। त्यही निर्लज्ज पहाडहरूको एक फेदीमा मोटर चल्ने बाटो लमतन्न तेर्सिएको थियो। सडक किनारमा रातो छाना भएका सुन्दर दुई तले घरहरू बेहुलीजस्तै सिंगारिएका देखिन्थे। लाग्थ्यो, कसैले माया गरेर सजाइदिएको होस्। हुन त समुन्नत कर्णालीका किनाराहरू पनि यत्तिकै सुन्दर देखिँदा हुन्। खैर!!
तीन घण्टाको निरन्तर रफ्तार पछि प्राग आइपुग्यो। उसै त ढिला भएको ट्रेन, त्यसमाथि अबको ट्रेनको प्लेटफर्म खोज्न एक छिन अलमल भयो। जे होस्, भेटाइछाडेँ प्लेटफर्म नम्बर ५ मा उभिएको चेक रिपब्लिकको त्यो निलो रेल गाडी।
तीन घण्टाको यात्रा त एल्बका किनारहरूसँगको भलाकुसारीमा बिताइयो। अब बाँकी थियो ६ घण्टाको उत्पीडन। प्रागबाट छुटेको ट्रेन अस्ट्रियाको बोर्डर नजिकिँदै स्लोभाकिया काटेर हंगेरीको बुढा पेस्ट पुग्नुपर्ने। फेरि मैले समयलाई गाली गर्नुपर्ने बेला थियो। आफ्नो सिट भेटेँ। बसेँ।
तर यो चोटि भने बाहिरको दृश्य त्यति मनमोहक लागेन। हुन त सुकेका काठ देख्दा खुसी हुने काठ तस्करहरू हुन्, म त गतिलो मान्छे भन्ने ठानेँ अनि चित्त बुझाए। पैसा तिरेकै भरमा प्रकृतिले वसन्त फर्काइदिनु पर्ने जसरी निराश भएँ। थाहा छ, मूर्खता थियो। तर मूर्खता गरिरहेकै बेला मूर्खता पत्ता लगाउने कला ममा भएको भए आजसम्म धेरै जमिनहरूले मेरो पाइलाको स्पर्श पाउने थिएनन्। यसरी आफ्नो चित्तलाई फुर्काएँ। एक छिन त्यो रुख नङ्ग्याइदिने चिसोलाई गाली गरेँ अनि पर्दा लगाइदिएँ।
एक छिन निदाउन मन भयो आँखा बन्द गरेँ। बसीबसी निदाउन प्रखर भएको छु। बसीबसी निदाएँ। बिउँझिँदा दुई घण्टा काटिएछ। मैले भन्दा बढी मेरो निद्राको स्वाद मेरो घाँटीले पाएछ। चारैतिर घाँटी घुमाएँ, आँग तन्काएँ। चारैतिर मान्छे देखेँ। कोही कोही मलाई देखेर दङ्ग परेजस्ता देखिन्थे। सायद घाँटी दुखेपछि यताउता घाँटी फर्काउने चलन यो देशमा रहेनछ।
निकै भोक लाग्यो। पेटका मुसा निकै जोर जोरसँग भाका मिलाउन लागे। म निदाएको मौका पारेर पाचन प्रणाली कर्मठ भएर काम गरेछ क्यारे। लामो दूरीको ट्रेन भएकाले ट्रेनमै रेस्टुरेन्ट रहेछ। म बसेको क्यारिजबाट ७–८ वटा क्यारिज हिँडिसकेपछि बल्ल रेस्टुरेन्ट भएको क्यारिजमा पुगेँ। गुडिरहेको ट्रेनभित्र यति धेरै म कहिल्यै हिँडेको थिइनँ। त्यसपछि लामो पैदल यात्रापछि पुनः लामो लाइन बसेँ। त्यति लामो लाइन बसेर दुई वटा पाउरोटी किनेँ। दुई वटा पाउरोटीका बिचमा अनेक थरीका सागपात, माछा मासु भरिएको थियो। सभ्य समाजमा यसलाई स्यान्डबिच पनि भन्छन्। नेपालतिर भएको भए सायद चटपट, नुन खुर्सानी दलिएको काँक्रो किन्थे। भवितव्य स्विकारेँ अनि पाउरोटी चपाएँ। एउटा समय थियो पाउरोटीको रहर हुन्थ्यो, पाउरोटीको स्वाद हुन्थ्यो। रहर मेटिँदै गएपछि स्वादहरू खल्लो हुने रहेछन्।
म साह्रै बोर भएँ। मभन्दा बढी बोर म बसेको सिट अगाडि जमिनमा बसेको कुकुर भएको थियो।भर्खरै सैलुन गएर आएजस्तै त्यो कुकुर निकै सुन्दर देखिन्थ्यो। खान लाउन केही दुःख नभएको जस्तो उच्च वर्गको सुडोल कुकुर। उसको मुखमा भने मुख बन्दी लगाइएको थियो। उसको मायालु आँखाले मलाई एकोहोरो हेरिरहेको थियो। सायद भन्न चाहन्थ्यो, “थोरै मानवता त देखाऊ। यो मेरो मुख बन्दी खोलिदेऊ। म वाचा गर्छु, कसैलाई टोक्दिन।” तर विडम्बना, म मानव भएकै कारण मेरा सीमाहरू कोरिएका थिए। मैले त्यसो गर्दै गर्दा बुझ्दै नबुझ्ने भाषामा गाली खाने पक्का थियो। मैले पनि उसलाई बुझेजस्तै मनमनै भनेँ, “प्रिय कुकुर! मलाई माफ गरिदेऊ। तिमीप्रति यो अवस्थामा मानवता देखाउन असमर्थ छु। मेरो प्रजातिले तिमीलाई वफादारीको प्रतीक माने पनि तिमीले अचानक टोक्दैनौ भनेर विश्वास गर्न कठिन छ। यो निरन्तर जन्म र मृत्युको चक्रपथमा, कुनै जन्ममा कुकुर भएको बेला फेरि भेट भएछ भने पक्कै सहयोग गर्नेछु। यो मान्छेलाई माफ गर।”
मेरो मनोवाद बुझेझैँ कुकुर आत्मनिर्भर हुन लाग्यो। आफ्ना अगाडिका दुई खुट्टाले जसो त्यसो मुख बन्दी बटारी निकालेरै छाड्यो। मुखबाट फुत्किए पनि घाँटीमा भने झुन्डिएकै रह्यो। यो देखेर म निकै खुसी भएँ। मनमनै फेरि उसलाई भनेँ, “स्याबास! अब मुख बन्दी खोलेकै बेला आफ्नो मालिकलाई भनिदेऊ कि म आजदेखि यो मुख बन्दी लगाउँदिनँ। न त मैले कसैलाई टोकेको छु, न त स्वइच्छाले भुक्छु नै। तिमीहरूले आफ्नै घरभित्रै दिसा पिसाब गर्छौ, म त त्यो पनि गर्दिनँ। नैतिकताकै तुलोमा जोख्ने हो भने पनि म माथि शासन गर्ने तिम्रो हक बन्दैन। ढाँड कन्याइदिएकै आधारमा, च्यापु सुमसुम्याइदिएकै आधारमा तिमी मेरो मालिक भयौ? अनि कुन नैतिकताको आधारमा तिमी मेरो मुख बाँध्छौ? के मलाई स्वतन्त्र सास फेर्ने अधिकार पनि छैन? अरू बेला साथी भन्छौ अनि फेरि त्यही साथीको मुख थुन्छौ। कुन नैतिकता छ तिमीहरूसँग? के राजनीति हो यो तिम्रो?? बोल कुकुर। कति हृदय मात्र चर्काउँछस्, स्वर नली पनि थर्का! तेरो चुप्पी उनीहरूका लागि सहजता हो। तेरो मौनतामा तेरो मालिकले शान्ति भेट्छन्। बोल!”
तर यो पल्ट भने उसले मेरो मनोभाव बुझेन। थपक्क मुख बन्दीमा च्यापु अडाएर निन्याउरो भई बस्यो। फेरी मनमनै भने, ठिकै छ कुकुर साथी। पिर नमान। तेरोजस्तै आन्दोलन मेरो घर वरिपरि पनि भएको थियो। मान्छेहरूको अहिले तेरो जस्तै छ हालत। मुख बन्दीहरू, च्याप्यू अडाउन मात्र काम लागिरहेका छन्। यसरी नै ६ घण्टा काटियो। अनि पुगेँ बुढा पेस्ट।
१९४० ताकाको युरोपलाई बरफको सिल्लीमा राखेजस्तै संरक्षित थियो बुढा पेस्ट। सुन्दर थियो।
तर आजका लागि मसँग जाँगर थिएन। बुढा पेस्टका कथाहरू अर्को दिन पढ्ने निर्णय गरेँ। बसिबसी थाकेको म सुत्न लागेँ।
भोलिपल्ट मैले बुढा पेस्ट देखेँ। त्यहाँका क्रिसमस मार्केटहरू, दरबारहरू, संसद् भवन, फेशन स्ट्रिट, सेन्ट बासिलिका चर्च, चिम्नी केक, गिलास र मल्ड वाइनका मसलादार वासनाहरूमा भिजेका गल्लीहरू, अनि आकर्षक युरोपियन वास्तु कलाका आधिकारिकता बोके जस्ता भवनहरू, पुलहरू, उकालो चढ्ने रेलहरू अनि मानिसहरू जो मजस्तै हल्ला टिप्न आएका हुन्। कुनै कथा सुनेका हुन् अनि विश्वास लागेर आफ्नै उपकथा बनाउन आएका हुन्। बुढा पेस्टका सडकहरू कथा नै कथाले खचाखच थिए। हुन त कथाहरूलाई विश्वास मानेर नै जीवन चलेका छन् सायद। कसैले कथा सुनायो, एउटा भिडले त्यसलाई विश्वास गर्यो अनि बने धर्म, देश, चाडपर्व, संस्कार। हरेक भिडले पढ्ने कथा पनि सायद फरक फरक हुन्छन्। यसरी नै कथाहरूले कित्ताकाट गरेको केही भूभागको जमिनमा म थिएँ।
हजारौँको भिडमा, हजारौँ जसरी आफ्नै भिन्न एउटा उपकथा रोज्न, अनि हजारौँको भिडमा आफैँलाई हजारौँभन्दा फरक प्रमाणित गर्न। अचम्मको कुराचाहिँ, जुन देउता जन्मिएको कथामा मान्छेले क्रिसमस मनाउँछ त्यो देउताको मतलब त्यो भिडमा कसैलाई थिएन। अँध्यारो गिरिजा घरका वरिपरिका सडकहरू झिलिमिली थिए। मलाई कता कता शिवरात्रिको झल्को आइरह्यो। शिवरात्रिको बेला आमा बिहानै ४ बजे छ्याङ्छ्याङ्दि मन्दिर जान उठ्नु हुन्थ्यो। म पनि आमासँगै उठ्थेँ। आमालाई शिवजीको भक्तिले तान्थ्यो तर मलाई मन्दिरसम्म पुग्ने सिढीँहरुमा राखिएका पसलहरुले।
विशेषतः मट्याङ्ग्रा। रङ्गीचङ्गी कागजमा पोको पारिएका माटोका गोला मट्याङ्ग्रा जसमा रबरको एउटा डोरी बाँधिएको हुन्थ्यो। त्यो डोरी औँलामा बाँधेर हत्केलामा मट्याङ्ग्रा ठोक्काउँदै खेल्दा मलाई लाग्थ्यो आमाको पूजा सफल भयो। शिव प्रसन्न भए। सायद चिलिम तान्नेहरूलाई पनि त्यस्तै लाग्दो हो। बुढा पेस्टको भिड देख्दा पनि लाग्यो यी सबै बालखाहरु मन्दिरको सिढीँमा मट्याङ्ग्रा खेल्न आएका हुन। लागिरह्यो सायद सबै भिड कथामा मात्र विश्वास गर्दैनन् हल्लामा पनि गर्छन्। हल्लै हल्लाले देश बनाउँछन्, संस्कार बनाउँछन्, धर्म बनाउँछन्, चाडपर्व बनाउँछन्।
मेरो यस्ता बेकम्फुसे सोँचहरु बगिरहे यात्रा भरी। यी कुनै कथा र हल्लाको मतलब नगरी मेरो सोचजस्तै डान्युब नदी सानसँग अनुशासित भएर बगिरहेको थियो। यो देशका अनेकौँ कथाहरूको साक्षी बनेर, घुमन्तेहरूको साक्षी बनेर, इतिहासमा मारिएका यहुदीहरूको साक्षी बनेर बगिरहेको थियो डान्युब। सतहमा शान्त, अनुशासित बुढो बाउजस्तो देखिए पनि गहिराइमा जवान ठिटो छ डान्युबभित्र लागिरह्यो। डान्युबभित्र पनि आँधी खोला बगिरहेको छ जस्तो लाग्यो। निस्फिक्री आँधी खोला जो दुवै किनारमा छाल हान्दै बगिरहन्छ, सायद युरोप आइसकेपछि किनारहरूमा बनाएका तटबन्दी देख्छ, संयमित हुनुपर्ने बाध्यता देख्छ अनि डान्युब बन्छ। हजारौँ कथाहरूको साक्षी बन्छ तर शान्त बन्छ। स्वतन्त्रतासँग थोरै सम्झौता गर्छ, थोरै मात्र सुसाउँछ, छालहरूलाई लुकाउँछ गहिराईमा अनि शान्त सतह भएको डान्युब बन्छ। एन.आर.एन. बनिसकेपछि आँधी खोला डान्युब बन्छ।
डान्युबलाई नेपथ्यमा राखेर एउटा फोटो खिचेँ। फोटोमा डान्युब नदी देखिन्थ्यो, माथि डाँडामा बुढ क्यासल देखिन्थ्यो, अनि अगाडि म देखिन्थेँ मुस्कुराइरहेको। कतैकतै लाग्यो, म भित्र पनि एउटा आँधी खोला छ। आजकाल निकै कम सुसाउँछ।
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

