द बर्थडे केक ! | Suman Bhattarai | Birthday Cake
”माथि अर्को बच्चा रोएको आवाज आयो। उनले काखको बच्चा भुईँमा पल्टाएर अर्को बच्चा फकाउन गइन्। झिँगा आएर जीवनको नाक-मुखमा बस्न थाले। तर उनले आफ्नो हातले झिँगा धपाउन पनि सकेनन्। रुन थाले। उनी नआउँदासम्म हामीले झिँगा हम्किदियौ र अमिलो मन बोकेर काप्रीको उकालो चढ्यौ।”
करिब डेढ महिना अघि रमेश भुसालको “छालबाटो,कैलाशदेखि गङ्गा”सम्म पढ्दै थिए। लेखकसँगै केरुङ नाकाबाट चाइना छिरे। तिब्बत, कैलाश मानसरोवर हुँदै कर्णालीको धार्मिक उद्गमस्थल पुगेँ। । हिल्सा नाकाबाट नेपाल छिरेर कर्णाली बग्ने तिर र कर्णालीमाथिको भिरमा लेखकका शब्दहरूसँग सँगै हिँड्दै थिएँ। गोरेटो, घोडेटो उकालो अनि ओरालोमा लेखकले हरेक शब्दहरूसँगै डोर्याए।
प्रत्येक शब्द जीवन्त र चलचित्र भन्दा पनि बढी दृष्टान्त लाग्दै थिए। पूर्णविरामहरूमा बिसाउँदै, कहिलेकाहीँ विस्मोध हुँदै हरेक शब्दसँगै यात्रा जारी थियो। कर्णालीका ऐँठनहरूले बिझाए ! दुःखहरूले दुखाए! साहसहरूले पनि साथ छोडेनन्! दुःखमा फल्न र फुल्न सक्ने हरेक भावना र सम्भावनाहरूले मन र मस्तिष्क दुवैलाई छोइराख्यो।
नरोकिई जाँदा १८६ पेजमा, माथि उल्लेख गरिएको प्रथम अनुच्छेदमा म लेखकसँगै एकटक अडिएँ। उक्त अनुच्छेद एक अप्रत्याशित बज्र थियो। र यस्तो तितो सत्य जसको धार तरबार भन्दा पनि धारिलो थियो जसले पत्थर मनहरू पनि काट्न सक्थ्यो।
लेखकले यस्तो सत्य लेखिदिए, जसलाई बुझ्न हामी असक्षम छौँ ! र यस्तो अवस्था देखाइदिए जुन योजना, सपना, र आश्वासनका पर्दामा आजसम्म ढाकिएका छन्।
म चिसो आँखाले धेरै बेरसम्म उक्त अनुच्छेदमा रोकिए।
त्यसको एक हप्ता नपुग्दै, २०८२ साल भदौ ६ गते अनलाइन खबरमा प्रकाश सिंहको कभर स्टोरी छापियो! “सुखी नेपालीको लक्ष्यलाई चुनौती दिने सुदूर बाजुराको कुपोषण कथा !” यसमा हाम्रो दारुण अवस्थाको स्पष्ट चित्रण थियो। दुर्गम पहाडको दुःखहरू थिए। अन्नको दानाबाट उब्जेका पहाड रुपी पीडाहरू थिए। एउटा नुनिलो आशु र बिलौनासँग जोडिएको हाम्रो समाजको दुखदायी कथा थियो।
बाजुरामा कुपोषण नभएको टोलै भेट्न मुस्किल पर्ने यस्तो तथ्य समेटिएको थियो; जसले केही दिनको निद्रा र भोक बिथोल्न काफी थियो। कुल १,४७,५१६ वर्ग किलोमिटर भूभाग भएको यस देशमा, राजधानीबाट करिब ९०० किलोमिटर पर यस्तो गाउँ छ जहाँ कुपोषणबाट हुने मृत्यु अप्रत्याशित र असामान्य लाग्दैनन्। जहाँ जीवनको तालमेल मृत्युसँग मिल्दैन। र मृत्युको तालमेल सरकारी तथ्याङ्कहरूसँग मिल्दैन।
यस्तो सुदूरको दुर्गम पहाडहरूमा हामी बाच्छौ, जहाँ हामी मृत्युको रजिस्टरसम्म समेटिन नसक्ने अवस्था छ। त्यस भेगमा धार्मिक कार्यका लागि १००भन्दा बढी योजना छानिँदा जिल्लाभर कुपोषण घटाउन कुनै योजना पर्दैनन् । तर यस्तो गम्भीर दुर्नियतीबारे हामी मौन छौँ। अनभिज्ञ छौँ। हामी मौन र अनभिज्ञ छौँ। त्यसैले सायद यो दुर्नियती जारी छ। कहिलेकाहीँ, सत्य र तथ्यबाट टाढा रहनु पनि पाप गर्नु सरह हुने रहेछ। प्रकाश सिंहको यो कभर स्टोरीले, मेरो वैचारिकीलाई उठ्न नसक्ने गरी थला पारिदियो।
म छाल बाटोको त्यो दारुण कथा र प्रकाश सिंहको रिपोर्टको ह्याङओभर नउत्रिँदै केही दिनमा एउटा साथीको जन्मदिनको पार्टीमा पुग्छु। त्यहाँ बर्थ डे केक अनुहारभरि दलेर जन्मदिन मनाइएको थियो: लाग्यो केक खानको लागि नबनाएर दल्नको लागि बनाइएको जिनिस हो।
म अन्नको महत्त्व बुझ्दै थिएँ। त्यसैले अन्नको लागि मन दुख्यो। आखिर जिन्दगी भन्नु बुझी नसक्नुको रमिताहरू हो रहेछ! म यिनै रमिता हेरेर घर फर्के।
तर समय जति अघि बढे पनि, म प्रकाश सिंहको कभर स्टोरी र छाल बाटोको पेज नम्बर १८६ मै अल्झिराखे !
हामी गौतम बुद्ध, सगरमाथा र वीर गोर्खालीहरूको देश त हौ नै ! लालीगुराँस, डाँफे, हिमाल र खुकुरी हाम्रो पहिचान हुन् नै! होइन, भन्ने आधार कहीँ पनि छैन। तर पहिचान र स्वाभिमानको भावनाहरूमा मात्रै अडिएको समाजले सत्यहरू नखोज्दो रहेछ। तथ्यहरू नबुझ्दो रहेछ।
आठ हजारभन्दा बढी उचाइ भएका संसारभरका चौध हिमालमध्ये आठ हिमाल भएको देश हामी नै हौँ। तर साथमा, संसार भरमा दस देशभित्रका हामी एक हौँ, जहाँ पाँच वर्ष मुनिका बालबालिकाको आधा जनसङ्ख्या कुपोषणबाट प्रभावित छन्। बौनेपन, अविकसित शारीरिक वृद्धि जस्ता समस्याबाट बालबालिकाको आधा जनसङ्ख्या प्रभावित हुनु तर पनि हामी सत्यबाट साक्षात्कार हुन नसक्नु हामी सबैको विडम्बना हो।
र यस समस्याको निदान सरकारी योजना र आयोजनाहरूबाट भन्दा पहिले हाम्रो सत्य स्वीकार्यता र अज्ञानताको पर्दा उघारिनुबाट हुनेछ। यो समस्याको समाधान गर्नु सरकारी र गैर गैरसरकारी संस्थाहरूको जति नै दायित्व दुई गाँस जुर्न धौधौ नहुनेहरू हामी सबैको हो।
तथ्याङ्कहरूमा अङ्क समेटिन्छन्! तर दुःख,भावना र आँसुको नुनिलो तथ्याङ्कले बोक्दैन।अङ्कहरूले समेट्दैन। प्रथमतः, हाम्रा समस्याहरू तथ्याङ्कमा अटाएका छैनन्! दोस्रो जति अटाएका छन् त्यति समाजले बुझ्न सकेको छैन। आत्मसाथ गर्न सकेको छैन। त्यसैले हाम्रो समस्या र समाधानको दुरीबिच संस्कारको खण्डहर देखा परेको छ। जसलाई अज्ञानताले पार गर्न रोकिराख्छ!
आज सहरमा विज्ञान र प्रविधिसँग जुधेर र बुझेर हुर्कन पाउने एउटा भाग्यशाली तप्का पनि छ। उसले देहातको शैक्षिक अवस्था बुझ्नुपर्छ। ती भुईँसम्म लत्रिने निला फराकहरूलाई बुझ्नुपर्छ; जुन स्कुल पुग्नुसम्म धुलो बढार्दै पुग्छन्। फराकदेखि शिरको रिबनसम्म धुलाम्मे भएर स्कुल पुग्नेका आँखाका विरहहरू बुझ्नुपर्छ। जसका परेलीलाई धुलोले ढाकेका छन् ! जसका कहानीलाई राज्यले ढाकिरहेका छन्! त्यसैले गुणस्तरीय शिक्षा र प्रविधिको पहुँचमा हुने नव पुस्ताले, देहातमा छुटेका समकालीन पुस्ता प्रतिको दायित्वबोध हुनुबाट नै हाम्रो पहिलो लडाई सुरु हुनेछ।
फगत, संरचनात्मक लाभांश जसमा सामाजिक, लैङ्गिक, जातीय, भौगोलिक र राजनीतिक लाभांशहरु पाउने समूहहरू हामी जति पनि छौँ ! हामीले हाम्रो मन,मस्तिष्क र काँधमा कृतज्ञता, दायित्व र जिम्मेवारी भएको बोध गर्नुबाट नै हाम्रो हरेक सामाजिक समस्याको समाधानप्रति हामीले पहिलो खुड्किलो पार गर्नेछौ। आत्म स्वीकार्यता र आत्म समीक्षाबाट समाधानको हामी पहिलो किलोमिटर हिँड्नेछौँ।
त्यसैले कुनै अङ्क, चिह्न, रङ र विचारका झन्डा हामीले उचालिरहँदा, हामीले नाकमा झिँगा आएर बस्दा धपाउनलाई उठ्न नसकेका हातहरूलाई सधैँ सम्झनुपर्छ! हाम्रो परिवर्तनका मुस्लोहरूले उपत्यकाको खाल्टो बिरलै नाघेका छन्। हाम्रा परिवर्तनका आवाजहरू गुन्जिरहँदा, हामीले आवाज हराएका रोदनहरूलाई सम्झनुपर्छ! जसका आँसुहरू कतै दुर्गममा सधैँ ओझेल भइराख्छन्।
आखिर हाम्रो सत्ताको उलटफेरसँग बाजुराको जीवनलाई के मतलब? के मतलब हाम्रो नाराहरूसँग? हाम्रा ऐँठन, दुःख र संघर्षहरू सँग? हाम्रा परिवर्तनका आशा, आश्वासन र विश्वाससँग बाजुराको जीवनसँग के लेनदेन? ऊसँग त असहमतिको लागि पनि कुनै आवाज छैन।
त्यसैले जबसम्म देशमा नाकको झिँगा धपाउन नसक्ने गरी हातहरू लुला भइराख्छन्, तबसम्म हाम्रा कुनै परिवर्तनहरू बलियो हुने छैनन्! कुनै परिवर्तनहरू सफल र संस्थागत हुने छैनन्। हाम्रो नव पुस्ताले आजसम्म उसको आँसुको नुनिलो बुझ्न सकेन। यद्यपि प्रत्येकको आँसुको आआफ्नो नुनिलो हुन्छ। तर सबैभन्दा चर्को; तिनै बाजुराको जीवनको छ! जसलाई कुपोषणको कुनै औषधि नदेखेपछि आमाले पानीमा बिस्कुट घोलेर खुवाउँदै छिन्। र हाम्रो जीवन, विचार, बहस साहित्य र राजनीतिको नारा त्यता नसोझिँदासम्म हामी सधैँ पछाडि परिरहनेछौँ।
त्यसैले डियर समकालीन पुस्ता: सामाजिक सञ्जालको संसार, परिवर्तनहरूको ह्याङ्गओभर र तीन खाल्टो पर पनि जिन्दगी छ। हामीले नबुझेको र राज्यले बुझाउन नचाहेको जिन्दगी छ। संरचनात्मक लाभांशको कट्घरामा उभिएर ती जिन्दगीलाई बुझ्नुबाट मात्रै परिवर्तनप्रतिको हाम्रो पहिलो युद्ध सुरु हुनेछ। होइन भने हाम्रा नारा, सारा व्यर्थ हुनेछन्।
हामीले बुझ्नुपर्छ; यो देशमा दुःख र निराशाका तह र तलाहरू छन्! आफ्ना निराशाहरूको सापेक्षमा बाजुराको जीवनलाई राखेर जिन्दगी बुझ्न सिक्न सक्नुपर्छ।
त्यसैले जन्मदिन, पार्टी ,उत्सव, जमघट र सेमिनारहरूमा केक काट्नु अगाडि एकपल्ट सोचौँ। हामीले अनुहारभरि दल्ने गरेको, बर्थडे केक पनि हाम्रै कुनै समाजको लागि विलासिता हो। अनुहारभरि केक दलेर अन्न खेर फाल्नु अघि बाजुराको टोलहरू सम्झिउन्, जहाँ कुपोषणबाट हुने मृत्युहरू असामान्य लाग्दैनन्! हामीलाई मृत्युहरू सामान्य लाग्ने देशमा, अन्न खेर फाल्नु बरु असामान्य लाग्नुपर्ने हो!
त्यसैले एउटा क्रान्ति मसालहरूबाट होइन, खाने थालहरूबाट सुरु गरौँ। अन्नका प्रत्येक सीता, दाना र छिटाहरूको महत्त्व बुझेर सुरु गरौँ। आशा गर्छु, कृतज्ञताबाट सुरु भएको हाम्रो लडाई; चेतना हुँदै सरकारी योजनाको हस्तक्षेप तर्फ लम्कनेछ। होइन भने हामी सचेत नहुन्जेलसम्म सरकारी योजनाहरूबाट जिन्दगी र मृत्युको तालमेल सधैँ बिग्रिराख्नेछ।
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

