Nepali Poem | सोझो गाउँ ! | Suman Bhattarai

suman bhattarai

सोझो गाउँ !

‎गाउँले नीलकमलको कुरुसमा
‎देवपुरुष देख्छ !
‎बुट्यानमा देउता बुझ्न थाल्छ
‎अनि उसैलाई पुज्न थाल्छ।
‎गाउँ सोझो छ..
‎एक मुठी सास
‎र एक मुठी विश्वास छउन्जेल
‎गाउँले आजीवन उसैलाई पुजी राख्छ।

‎गाउँले आकार नमिलेका
‎ढुङ्गाहरूमा शिला देख्छ
‎साक्षात् दैवको लीला देख्छ
‎उनी आस्थाको थालीमा
‎अक्षता लिएर उभिन्छ!
‎गाउँ सोझो छ…
‎अन्नको अनिकालमा पनि
‎उसले अक्षता मुछिराख्छ
‎आजीवन आस्थामा उभिइराख्छ।

‎गाउँले देउरालीको बतासमा
‎सिरसिरे आस देख्छ
‎अनि ध्वजा बाँध्न थाल्छ
‎रिबन बाँध्न थाल्छ
‎सम्बन्ध बाँध्न थाल्छ!
‎गाउँ सोझो छ…
‎ध्वजा र  रिबन बाँध्दा; बाँध्दा
‎आफू नै बाँधिएको उसले चालै पाउँदैन।

‎गाउँले दुखाउन जानेको छैन, दुख्न जानेको छ..
‎गाउँले छल्न जानेको छैन, छलिन जानेको छ..
‎गाउँले ढाँट्न जानेको छैन, ढाँटिन जानेको छ..
‎यहाँ सधैँ यस्तै हुँदै आइरहेको छ
‎गाउँ सोझो छ,
‎त्यसैले ठगिँदै, ठगिँदै सास्ती पाइरहेको छ।

‎ड्याम: ड्याम: ढ्याम्म ड्याम..
‎यस्तै थियो एक याम,
‎गाउँमा बन्दुक बोक्नेहरू आए
‎साँगुरो गोरेटो छिचोलेर
‎खर बारी र बारीका कान्ला पसेर
‎ढिक, ढिस्को, आँगन
‎अनि पिँढी  चढेर
‎एक दिन दैलोमै बन्दुक उक्लियो।
‎तर दैलोमा बारुदका आश्वासन कुल्चेर
‎सहर छिरेकाहरू वैसका सपना सरी हराए!
‎गाउँ सोझो छ,
‎उसले आफू ठगिएको चालै पाएन।

‎छुकछुक: छुकछुक, छुकछुक; छुकछुक
‎सालघारीको उकालो चढेर
‎कटुसघारीको ओराली कुदेर
‎बन मासा पन्छाउँदै आउने
‎आँगनमै रेल गाडी कुर्‍यो गाउँले
‎त्यो बाटो भुरुरु उडेर
‎आँगनमा त्यही फिस्टे आउँथ्यो।
‎तर “विशाल सपना” कहिल्यै आएन
‎गाउँ सोझो छ…
‎यसपालि पनि उसले
‎आफू ठगिएको थाहै पाएन।

‎आज फेरि,
‎परिवर्तनको नयाँ नामहरू
‎राजनीतिका नयाँ लामहरू
‎सोझो गाउँलाई ठग्ने तरखरमा छन्।

‎हिजोको नेताका लागि हामी मतियार हौँ
‎मत बढाउने मतियार मात्र !
‎आजका नेताका लागि हामी कन्टेन्ट हौँ
‎लाइक र भ्यूज बढाउने हतियार मात्र !

‎तर गाउँ सोझो छ..
‎उसले चाल पाउँदैन
‎ठगिनु अघि अनि ठगिए पछिको
‎आफ्नो हाल पाउँदैन।
‎यहाँ सधैँ यस्तै हुँदै आइरहेको छ
‎गाउँ सोझो छ,
‎ त्यसैले ठगिँदै, ठगिँदै सास्ती पाइरहेको छ।

 

 

Read More Book Review by Suman Bhattarai:

 

 

Read More From Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *