स्वस्पर्श: कालो बादल फार्ने सेतो सूर्य ! | Book Review | Suman Bhattarai

Book Review Suman Bhattarai Nawaraj KC

 

कर्णालीमा हुर्केको एउटा डाक्टर, जसले देश र विदेश दुवै पढ्यो ! सुख र दुःख सबै बुझ्यो !  जीवनलाई रङ्गहरूमा जाँच्यो, बाँच्यो अनि आफ्नै माटोमा फर्कियो। आफ्नो बाको अर्ती मानेर आफ्नै बाटोमा फर्कियो। तीनै डाक्टर नवराज केसीको दोस्रो पुस्तक हो स्वस्पर्श !  आशा प्रेरणा र खुसीका कथा: स्वस्पर्श !

राम्रा किताबहरूले मन दुखाउने र बुझाउने सँगसँगै गर्ने रहेछन्। एकै पानाहरूमा हर्ष र दुःखका दुवै खाले आँसु झार्न सामर्थ्य राख्ने रहेछन्। राम्रो किताबको नियति पनि  जीवनको जस्तै हुने;  जति पढ्यो, जति बढ्यो उति नै लम्बी राखोस् जस्तो लाग्ने! स्वस्पर्श पढुन्जेल २६७ पानासम्म पाठकलाई कतै मुस्कान, कतै खित्का त कतै आँसुले लट्ठ पार्नेछन्।

आशा र प्रेरणाको कथा जाजरकोटको जङ्गबहादुरबाट सुरु हुन्छ। जो प्राणघातक रोगसँग दुःख र दर्दहरू दबाएर मौन जुधिरहेका छन्। ती जङ्गबहादुरको निर्दोषपनमा जेलिएका पारिवारिक, सामाजिक, भौगोलिक, आर्थिक र संरचनात्मक दुःख र कष्टहरूको उजाड तितो सत्यले मन अमिलो बनाइराख्छ। र यो देशको मूल समस्याको पिँधमा जुध्नेहरूप्रति सहानुभूति जगाइराख्छ। ती जङ्गबहादुरबाट सुरु भएको  प्रेरणा र आशाको सिलसिला किताब भरी कतै टुट्दैन।

तर कथाको हरेक पानामा मलाई जङ्गबहादुरको निर्दोषपना झुल्किराख्छ। जसका आशा र चाहनाहरू ठुला छैनन् तर राज्यको संरचनात्मक लापरबाहीका अगाडि ती चाहना जीवनभन्दा ठुला छन् र पहाडभन्दा अटल छन्।

लगत्तै दिन जानेर जीवनको मोती भेटेका गर्बे दाई भेटिन्छन् ! जसले जिउनुको मार्ग सिकाएका छन्। काँडाहरू माझ फक्रने गुलाफ जस्तै मन्दिरे भेटिन्छन् जो जीवनका अनेकन् आकस्मिक उतारचढावहरूका बाबजुद मुस्कानले जिउने कला सिकाउँछन्। कर्णालीको धुलोमा फलेर फुलिरहेका यी खुसीका फूलहरूको सुवास सबै माझ लेखकले पुर्‍याइदिएका छन्।
पढिरहँदा लाग्छ डाक्टरले कलमको मसीले होइन, औषधिको मसीले शब्दहरू लेखेका छन्। जहाँ प्रत्येक शब्दले औषधिको  काम गर्छ।

त्यसैले बुद्ध, विज्ञान, साहित्य, अध्ययन  र अनुसन्धानको मिठो फ्युजन हो स्वस्पर्श! जो प्रत्येकको जीवनको कालो बादलमा चाँदीको घेरा होइन, कालो बादल फार्ने सेतो सूर्य बन्न सक्छ।

आशा, प्रेरणा र खुसीका कथाहरू यतिमै रोकिँदैनन्। लेखकले हामीलाई प्रेमको महत्त्व बुझाउँछन्!  बुढेसको यस्तो जोडी जो सङ्ग डाक्टरको कोरोना कालमा भेट हुन्छ। र त्यो विषम परिस्थितिको भेटले डाक्टरलाई  प्रेमको साक्षात्कार गराउँछ! त्यसैले स्वस्पर्श आशा, प्रेरणा र खुसीको मात्र नभएर साक्षात् मायाको कथा पनि हो।

लगत्तै मातृत्वसँग जोडिएको विज्ञान र भावनाको कथा जोडिएर आउँछ। अनि साथ, सहअस्तित्व, आफ्नोपन, आट, आड भरोसा र सहयात्राको कथा!

लेखकले हरेक प्रेरणाको कथालाई सुन्दर फूलको मालाझैँ उनेका छन्। साहित्यमा हुनुपर्ने रस, उत्कृष्ट काव्यिक लेखन शैली, तर्कमा हुनुपर्ने यथेष्ट तथ्य, सत्य, विचार अनि विज्ञानले स्वस्पर्शका हरेक कथालाई सशक्त बनाएको छ।

कथामा पीडा छ!  दर्शन छ! अँध्यारो छ;तर त्योभन्दा बेसी प्रेरणाले जित्ने व्याप्त उज्यालो छ। तसर्थ, स्वस्पर्शले जीवन हिँड्ने बाटो मात्रै होइन जीवन हिँड्ने शैली पनि सिकाएको छ। स्वस्पर्शको तेस्रो अध्यायमा प्रेरणाको क्षितिज अझ फराकिलो बन्दै जान्छ। आँसुको डिलसँगै खुसीका सीमाहरू पनि भत्किँदै जान्छन्

यहाँ यस्तो मान्छेको कथा छ, जसले आफूलाई भेडा न्वारन गर्छन्। जीवनको तुसारो र तुवालोसँग जुध्न जनावरहरूको न्यानोमा बाँच्छन्।

धरतीको यस्तो किरणको कथा छ; जसले आफ्नो साहस र प्रेरणाको बलमा अपाङ्गतालाई जितेका छन्। जसको प्रेरणा घामको किरणभन्दा पनि चम्किलो लाग्नेछ।

साथमा रिटायर्ड जिन्दगी बाँच्ने यस्तो आमाको कथा छ; जसले जीवनमा सामूहिकता र सामाजिकताको मूल्य सिकाएकी छन्। जीवन जिउने असली कारण र अर्थहरू बुझाएकी छिन ।
र कथा सकिन्छ एउटा विद्रोहसित!  एउटा अटुट क्रान्तिको प्रेरणासित! जसले एक चोटि समाजलाई संरचनात्मक लाभांशको कठघरामा उभिएर आफूलाई हेर्न सिकाउँछ। अस्मिता वादीको यस्तो सङ्घर्षको कथा, जसको सापेक्षतामा तपाईँ हाम्रा सबै बाधाहरू फिक्का लाग्नेछन्। त्यो प्रेरणाको कथा जसले जात व्यवस्थाको निर्मम रूप झल्काएको छ। समाजप्रति प्रश्न चिन्ह ठडाएको छ।

र पनि जसै अप्ठ्यारा र अड्चनका बाबजुद अस्मिता वादी समाजकै अस्मिता जोगाइदिन पहाड बनेर लक्ष्यमा उभिएकी छिन्। उनको साहस, स्नेह, सङ्घर्ष र “स्व” प्रतिको प्रेरणा लाई सल्युट!

यसरी लेखकले हरेक शब्दसँगै पाठकलाई बाँधेर राखेका छन्। उनीले कतिखेरै पाठकलाई फुत्कन दिँदैनन्। लेखक पात्रहरूमा भरपुर बाँचेका रहेछन्। पुरापुर डुबेका रहेछन्। उनको भावनाको गहिराई लेखनमा स्पष्ट झल्किन्छ। पात्रहरूको छनोट र बनोटले मात्रै पुग्थेन, लेखकको लेखनको शिल्प शैलीले कथा र किताबलाई बेजोड बनाएको छ।

उनले कर्णालीको भूमिबाट टिपेका प्रत्येक पात्रहरूलाई कर्णालीकै माटोको सुगन्ध भरेका छन्। विम्बहरूको प्रयोग जादुमयी छ। देशको जुन कुनामा बसेर पढे पनि स्वस्पर्शले तपाईँलाई फ्री टिकट कर्णालीको दूर दराज घुमाउनेछ।

किताबको अन्त्यमा लेखकले लेखेका छन्, “अब फेरि केही लेखिन भने पनि केही पछुतो हुने छैन”! तर हामी पाठकहरूलाई तपाईँले केही नलेखे पछुतो भइराख्नेछ।
त्यसैले लेखक ज्यू, सधैँ लेखिरहनुहोला! लेखन यात्राको आजीवन शुभकामना।

हामी तपाईँको जीवन यात्राको शुभकामना स्वीकार्छौँ। तपाईँ आफ्नो लेखन यात्राको शुभकामना स्वीकार्नुहोला! फेरि पनि, जीवन यात्रा सहज बनाइदिन लेखिदिनु भएका आशा, प्रेरणा र खुसीका कथाका लागि मुरमुरी धन्यवाद।

 

Read More Book Review by Suman Bhattarai:

सेलिब्रेटी लेखक सुबिनको किताब इजोरिया रिभ्यू | Ijoriya Book Review | Subin Bhattarai

 

 

Read More From Subin Bhattarai:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *