म को हुँ? यस संसारमा मेरो अस्तित्व के छ? मेरो परिचय के हो? मलाई चिन्ने, मलाई नजिकबाट बुझ्ने र म स्वयंले नै मलाई हेर्ने दृष्टिकोणमा म कस्तो छु? म यस धर्तीमा जन्मनुको उद्देश के हो? आखिर म किन मान्छे नै भएर जन्मिएँ? म अरु प्राणी किन भईनँ? मैले के के सम्म गर्न सक्छु? म जे गरिरहेछु, जुन बाटो हिडिरहेछु यो नै किन मेरो रुचीको विषय बन्न पुग्यो? मैले के चाहन्छु? मेरो मनले के चाहन्छ? यस्तै यस्तै थुप्रै प्रश्नहरु हरेक दिन मेरो मनमा उब्जने गर्छ। अनि सोच्ने गर्छु हरेक रात खुल्ला आकासमुनि बसी चिसो हावाको स्पर्श लिदै अनगिन्ती ताराहरुमध्य कुनै एकलाई एकटकले घोरिएर।
बच्चा हुँदादेखि अहिलेसम्म हजारौं लाखौँ प्रश्नहरुका उत्तर सजिलै दिमागमा आए तर अहिले कुनै पनि प्रश्नको उत्तर पाउन सकिरहेको छैन, बरु अझ थपिदै छन प्रश्नहरु।
म कहाँ जाँदै छु? मेरो गन्तव्य कहाँ हो? म पुग्नुपर्ने कहाँ हो र म कहाँ हिडिरहेछु? के म आफैले खनेको नयाँ बाटोमा हिडिरहेको छु त? कि म अरु कसैले पहिल्यै खनिसकेको पुरानो बाटोमा हिडिरहेछु?
खासमा मलाई जीवन एक यात्रा जस्तो लाग्छ। जहाँ यात्राको सुरुवात हाम्रो जन्म हो भने गन्तव्य हाम्रो मृत्यु। मृत्यु त निश्चित छ नै। यदि गन्तव्य पनि निश्चित छ भने, यसलाई किन महत्त्व दिने? महत्त्वपूर्ण त यात्रा पो हुन्छ। जहाँ, जतिपनी यी तमाम नभेटिएका प्रश्नहरुका उत्तरहरु भेटिन्छन। जहाँ, हरेक दिनको यात्रामा नयाँ रहस्यहरुसंग भेट हुन्छ, जसरी नयाँ किताब पढ्दै गर्दा प्रत्यक पृष्ठमा लुकेका रहस्यहरु भेटिएझै।
वास्तवमा म के चाहान्छु त? के म आफुले पूरा गर्न सक्ने चाहानाहरुमात्र मनमा सजाउनु पर्छ भन्ने छ र?
मेरो लागि के के सम्भब छन र के के असम्भव छन त? आखिर म के कुरालाई असम्भव ठानिरहेछु?
( – एउटा यस्तो बाटो खन्न, जसको कल्पना पनि आजसम्म कसैले गरेको छैन।
वा
– मेरो यो हाड छालाको थुप्रोको अस्तित्व सकिएपनि, मेरा बिचार र मेरा कामहरु सधैभरिलाई अमर रहिरहन।)
आखिर त्यो के छ, जुन मेरो लागि असम्भव छ? यो सम्भव र असम्भव भन्ने कुरा त मात्र हाम्रो सोच्ने दृष्टिकोणमा निर्भर पर्ने न हो।
आजसम्म मैले आफुलाई कति बुझे? कती चिने? अझै कति बुझ्नुछ, कति चिन्नु छ? यो चिन्ने र बुझ्ने प्रयास कहिल्यै सकिएला त?
म किन अरुले झै सोच्न सक्दिन? किन मलाई आफ्नै बिचारहरु अचम्मित लाग्छन? यसमा मेरो कमजोरी कि दुनियाको? तर फेरि म कसरी अरुलाई कमजोर देख्न सक्छु? हर कोहि यहाँ पृथक छन, आफैमा अब्बल र महान छन। अनि म? के म महान छैन होला त?
सायद म नाटकको विद्यार्थी भएर नै होला, मलाई यो सांसार नाटक मञ्चन भैरहेको रंगमंचजस्तै लाग्छ। अनि म यो नाटकको प्रमुख पात्र। जहाँ सबैले आ-आफ्नो भुमिका निकै कुसलतापुर्वक निर्वाह गरिरहेका छन। कसैले यो नाटकमा द्वन्द्व उत्पन्न गरिदिएका छन भने कसैले समाधान गरिदिएका छन अनि म भने प्रमुख पात्र बनी मजा लुटिरहेछु।
म यो कुरामा बिस्वस्त छु कि, मैले कहिलेपनी आफुलाई पुर्णरुपले चिन्न र बुझ्न सक्दिन। तर पनि हरेक दिन बुझ्ने कोसिस गरिरहने छु।
मेरो मनमा उब्जिएका यी तमाम प्रश्नहरुका उत्तर नभेटुन्जेल म निरन्तर ती उत्तरहरुको खोजिमा रहनेछु। र मलाई पुर्णबिश्वास छ कि, यी सबै प्रश्नहरुका उत्तर भेटिए संगै मेरो गन्तव्य पनि भेटिने छ।
Read More From Prashant Bagale:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

