जिन्दगी चुट्किला भएको भए? | Sudarshan Poudel

Sudarshan Poudel

जीवनको उत्तरार्धमा अन्तिम सासहरु गनिरहेका अनुभव शाही मृत्युशैयामा पल्टिएर आफ्नो जीवन केलाइरहेका छन्।

“म कि लेख बन्छु कि लेखक।” यहि सपना पाले जीवनकालभरी शाहीले। लेखक त भएनन् तर आज उनी मूल्याकंन गरिरहेका छन्, के उनको जीवन लेख भयो त?

***

रश्मी उनको पहिलो प्रेमिका।

घमण्ड थियो रश्मीलाई एउटा बौद्धिक प्रेमी पाएकोमा। सधैं भेट्दा उनीहरु शास्त्रार्थ नै गर्थे।

जब बौद्धिकताको कुहिरोले प्रेम छोपिन लाग्यो रश्मीको मन निराशाले ढाक्यो।

प्रेम बौद्धिकताले गरिदैन। प्रेम गर्न र पाउन मन बच्चा हुनुपर्छ। पाको मनले नाता निभाउँछ तर प्रेम निभाउन सक्दैन।

आफ्नी प्रेमिकालाई देख्दा उनले कहिल्यै अङ्गालो मारेनन्। न कहिल्यै गाली गरे, न कहिल्यै तारिफ गर्न सके। ऊ बोलिरहँदा उसको कपाल निधारमा आउँथ्यो। शाहीले त्यो कपाल पन्छाएर कानमा सिउरीदिन पनि सकेनन्। न कहिल्यै उनलाई आफूमा समेट्न सके न आफू उनीमा हराउन। फगत एउटा नाता जिवित थियो औपचारिकताले डोहोराइरहेको, कालान्तरमा त्यो पनि हराएर गयो गम्भीरताको कोलमा पिल्सिएर।

एउटा लेख बन्ने सपना बोकेका अनुभव प्रेम र चञ्चलता बिना कस्तो कथा रच्न वा बन्न चाहन्थे खोइ?

कक्षा १२ पढ्दै गर्दा उनी राजनीतिमा लागे। ठूलो सपनाको भारी बोकेर।

“अहिले दु:ख मानेर बसाइँ सरिरहेका छन् सबै,” एउटा गोष्ठीमा उनी भन्दै थिए, “यही ठाउँलाई रहरलाग्दो बनाउछौँ हामी। देशविदेशबाट मान्छे हेर्न आउनेछन्। हामी हाम्रो ठाउँलाई आधुनिक बनाउछौँ ‘वेस्टर्न’ होइन। यसलाई त छुवाछुत भेदभाव मुक्त स्वर्ग बनाउनुपर्छ।” बेस्सरी ताली बज्थ्यो उसले भाषण गर्दा। सानै उमेरमा उसको भिसनको तारिफ गर्थे एकथरी, अर्को पक्षले भने मुर्खता भनी खिस्सी गर्थे।

बौद्धिकता पनि भिड अनुसार फरक हुँदो रहेछ। एउटाको सोंच अर्कोको लागि मुर्खता पनि हुन सक्छ।

***

आमाबुबाको देहावसान पछि भने उनी सबै सपनाहरु रहरहरु छोडेर जिम्मेवारी काधमा बोकेर विदेशीए। आफ्नो जीवनको पन्ध्र वर्ष बाहिर खर्चिएर उनी आफ्नो ठाउँ फर्किए।

आफ्नो सपनाको भग्नावशेषहरु केलाउँथे उनी अनि आफैंमाथि व्यङ्ग्य गर्दै मुस्कुराउँथे।

एकदिन बजार जाँदा आफ्नी प्रेमिकालाई देखेछन्। मन त उनलाई अँगालो हालेर रुने थियो तर हक पनि गुमाएका उनी आफैलाई सम्झिए अनि मुस्कुराए।

उनले जीवनमा धेरै कुरा जाने तर मुस्कुराउन साह्रै ढिलो सिके।

जीवनका उतारचढाव  मनपराउने मान्छे जीवन नै मन पराउन छाडे उनी। रक्सी, चुरोट र अनेक नसामा डुबेर बस्न थाले। आफ्नो गल्तीहरु कहिलेकाहिँ नदेखे जस्तो पनि गर्नु पर्ने रहेछ। पश्चातापले आवश्यकता भन्दा बढी पोल्न थाल्यो भने बाच्ने चाहनामा पनि डढेलो लगाइदिने रहेछ समयले।

यत्रो अनुभव बटुलेका अनुभव आज जीवनगति रोकिने क्षणमा आफ्नो जीवनको सारांश कल्पिरहेका छन्।

“सपनाको हाइवे निस्किने रहरमा

संघर्षका गल्लीहरु छिचोल्दै गर्दा

रहरको मुलबाटोको आशमा अल्लमलिँदै गर्दा

बाच्नै पो बिर्सिएछ

हास्नै पो बिर्सिएछ

जीवनलाई कथा बनाउने होडमा लागिरहें सधैँ

मेरो जीवन त एउटा चुट्किला भएको भए हुने।”

 

Read More From Sudarshan Poudel

नेपथ्य | Sudarshan Poudel

 

बुद्धिसागरको लेखनका ५ राम्रा गुण | Sudarshan Poudel

 

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *