प्रदेश नं ८ | Nepali Poem | Sudarshan Poudel

Sudarshan Poudel
ती सातौँ प्रदेश समेटेकाे सिमा बाहिर छु म
प्रदेश नं ८ मा
मेरो सानो सपनाको आकार समेट्न नसक्ने परिधीभन्दा धेरै बाहिर
पसिनाको व्यापार गरिरहेछु ।
हल्लै हल्लाको संसारमा मेरो हलाहलको व्यापार
भएको पनि देख्छु
रङ्गीन दुनियाँमा बसि मेरो रङ्गहीन दुनियाँप्रतिको समवेदना पनि देख्छु
अनि इश्वसँग प्रार्थना गर्छु
मेरो माटाेमा श्रमको जतन होस्
मेरो सात प्रदेशको पतन नहोस्।
मेरो आसु कति बगे भनेर गरिएको मूल्यांकन
पनि देख्छु
अनि आफैलाई प्रश्न गर्छु
तँ नरोएको कति भयो?
यो प्रदेशको तापले अनि बाध्यताको रापले
कठाेर भएको मुटु र सुख्खा आँखालाई अनुरोध गर्छु
ए मुटु! पग्लिदेन एकपल्ट, ए आँखा! रसाइदेन एकपल्ट
मलाई रुनु छ।
पसिना बेचेर सपना किन्न आएको मेरो कति आँखाहरु यहि आठौँ प्रदेशमा निदाएका छन्
एउटा गण्डकी यतै पठाइदेउ सरकार म मेरो चिता
यतै जलाउने छु ताकी
त्यो आमिलो खबरले मेरो बाआमाको आँखा धमिलो नहोस्!
सपनाको पछि भाग्दा भाग्दै निदाएका आँखा
बाटो हेरिरहेका थकित आँखा
प्यास र पर्खाइमा बसेको अतृप्त आँखा
हो यस्तै आँखाको सञ्जाल सपनाको मसानघाटमा छु म
तिम्रो सात प्रदेशको परिधीबाट धेरै टाढा प्रदेश नं. ८ मा छु म
Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *