मःम ! आइ मिस यु | Mo:Mo I Miss You

मःम

म मेरो परिचय खोल्न चाहनन्। फेरि मैले ‘मःम! आइ मिस यु’ लेखेर देखेर अन्य मःम लभरहरुले मलाई गाली गर्न सक्छन्।

त्यसैले सिक्रेट प्रेमी भएर आज तिमी प्रतिको मेरो प्रेम पोख्न जाँदैछु।

 

डियर मःम!

म कहाँबाट कुरा सुरु गरुँ? हाम्रो पहिलो भेटबाट? या अन्तिम भेट भएको यादबाट?

पहिलो भेटको कुरा गर्छु। तिमीलाई याद छ कि छैन हाम्रो भेट बच्चै छँदा भएको भनेर। मलाई मेरो बुवाले एउटा ठाउँ लान्छु भनेर धरहरा लानुभएको थियो। त्यो बेला त धरहरा पनि ठिङ्ग्रिङ ठडिएको थियो। त्यहि धरहराको फेदिमा हो हाम्रो भेट भएको। मेरो बुवाले नै हो तिमी मःम भनेर मलाई चिनाउनु भएको।

म त्यहि दिनदेखि तिमीलाई प्रेम गर्न थालेछु।

कुर्सीमा बसेर आफ्नो पालोको टोकन कुरिरहँदा मैले तिमीलाई किचेनमा देखेको थिएँ। तिमी यति ‘हट’ थियौ कि सेफ दाइले भाडोको ढकनी खोल्दा तिमीबाट पुरै बाफ उडिरहेको थियो। सेतो मैदाको पीठोमा बेरिएको तिम्रो हेयरस्टाइल खुबै आकर्षक थियो। कर्ली-कर्ली जुगुल्टो र गोलो-गोलो तिम्रो बनावट।

टोकन दिएर तिमीलाई मेरो हातमा पाउँदा म सुपर एक्साइटेड थिएँ। चम्चाबाट कस्ले खाओस्। मैले त हातैले तिमीलाई बोकेको छु। हरेक गाँसको स्पर्ष लिएको छु। मैले पहिलोपटक तिमीलाई खाँदा यस्तो लाग्यो कि जीवनमा तिम्रै कमी थियो।

अनि तिम्रो साथी चटनी? आहा! कति मीठो उ पनि। तिमीहरु दुईजनाको कारणले मेरो भोक मेटियो।

त्यो दिनदेखि म तिम्रो फ्यान भइहाले। म तिमीलाई खोज्दै कहिले कालिकास्थान पुग्थेँ। कहिले गौशाला। कहिले पुतलीसडक त कहिले बानेश्वर।

तिमी नभेटिने कुनै चोक वा गल्ली नै छैन। तिम्रो चर्चा सारा नेपालीले गर्छ। बिहान, दिउँसो, राति मःम खाने हो भन्यो भने ‘नाइ’ भन्ने बिरलै भेटिन्छन् होला।

म तिम्रो यति फ्यान भए कि म स्कुल जाँदा पनि साथीहरुसित तिम्रै बयान गरेर बस्थेँ।

मःम! तिमी कसरी सबैको जिब्रोमा बस्न सफल भयौ? भन न कसरी यति मनमोहक र फेरि खाउखाउ लाग्ने भयौ?

एक दिन त तिम्रो नाममा मेरो साथीहरुसित भनाभन नै भयो। मलाई लाटो रिस उठ्यो जब मैले थाहा पाए कि मेरा साथीहरु मःम खान एक्लै गएछन्। उनीहरुको कत्रो हिम्मत एक्लै मःम खान जाने? मलाई लानु पर्दैन जब कि उनीहरुलाई थाहा थियो कि म मःम भने पनि कति हुरुक्कै हुन्छु भनेर। रिसले म उनीहरुसित धेरै दिन भयो नबोलेको।

उनीहरु भन्दा त तिमी कहाँको जाती। मःम! तिमी मेरो सधैको साथी हौ। रेस्टुरेन्टमा कोहि साथी नभए पनि, तिमी आउनुसाथ म सबैकुरा भुलेर तिमीमा समर्पित हुन्छु। यो हो नि माया भनेको। मेरो माया तिमीप्रति।

हो, यो सत्य हो कि उहिलेदेखि आजसम्म पनि म तिमीलाई उत्तिकै लभ गर्छु। जसले जे भनोस् म भने मःम को यादमा पागल हुन लागिसकेँ। मःम नि के खानु भन्नेहरु- खबरदार। मःम इज लभ। यो सेन्टिमेन्ट मःम लभरहरुले मात्रै बुझ्छन्। हैन त?

खैयर!

हेरे न। मलाई एक्कासी हामी अन्तिम दिनको भेटेको याद आयो। हामी लास्ट भेटेको भनेको फूलपातीको ठीक अघिल्लो रात हो। आज त हप्तौ भयो हाम्रो भेट नभएको। मैले मःम खान नपाएको।

मलाई तिम्रो खुबै याद आइरहेछ। तिम्रो सबै स्वरुपको याद आइरहेको छ। तिम्रो चिकेन किमाको रुप, बफवाला जल्वा, भेजिलो भेज, पनिर टपिङ, आदि-इत्यादि। ती सबै प्रकारको मःम को झलझली याद आइरहेको छ।

साथीहरुले तिम्रो फोटो फेसबुक र इन्स्टाग्राममा राखेर हैरान पारिसकेँ मःम। म त तिमीलाई उनीहरुको टाइमलाइनमा देखेर वाक्क भइसकेँ। डाक्टरले आटा र मैदाको परिकार नखानु भनेको भएर मात्रै हो नत्र उनीहरुको घर गएर हिर्काइसक्थेँ।

एउटा कुरा सोधौँ? तिमी किन यत्ति मीठो छौ यार? किन मःम मात्रै सबैको प्यारो? किन सबैले मःम लाई मिस गरिरहेका? म जस्तै अरु खान नपाएका मःम लभरले पनि मःम नपाएर मरिहत्य गर्दै होलान्।

झन मौसम हेर न। कहिले चिसो भइदिन्छ। कहिले पानी पर्ला पर्ला गर्छ। यस्तो बेलामा झन मःम को याद नआउने त कुरै भएन। हरेक क्षण मःमलाई सम्झन्छु। अन्तिम भेटको फोटो हेरेर र्याल चुहाउँछु। थुक पानी घुटुघुटु निल्छु। भातलाई डल्लो पारी पारी मःम ठान्दै खान्छु।

 

मेरो यस प्रकारको अनौठो पीडा पनि कसैले बुझिदेउ न।

‘हे डाक्टर! मेरो व्यथा बुझिदेउ न। मलाई मःम खानु छ क्या!’

‘हे नर्स दिदी, मलाई एकछिन मात्र छुट दिनुस् न। मःम खाएर फर्कि हाल्छ नु। हुन्न?’

 

कस्तो याद आएको होला मःमको। भगवान कस्सम, यति याद त मलाई मेरो गर्लफ्रेन्डको पनि आउँदैन थियो।

तर ठीकै छ। अब केहि दिन मात्रै हो हाम्रो भेट हुन बाँकी। एक हत्पामा पूर्ण निको हुन्छु। त्यस पछि, म तिमीलाई खान आइपुगिहाल्ने छु। तबसम्म म तिमीलाई छिट्टै भेट्न पाउँ भनेर प्राथना गरेर बस्छु।

मेरो माया तिम्रो लागि सधैँ सदाबहार थियो, छ र भइरहनेछ।

आइ मिस यु मःम! आइ रियली मिस यु!

 

Photo by Prajjwal Budhathoki

Also Read:

Lively Momo | Written by Shuvra Rimal

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments
We are Writers who do not want to reveal our names. If you wish the same, mention #nonameplease on top of your writing and your name will be secret too.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *