आधुनिक भतेर | Suman Bhattarai

भतेर

गाउँ सहरमा सबैभन्दा उल्लास लाग्ने शब्द हो भतेर। उराठ पलहरुलाई हर्षमा बदल्ने मौका हो भतेर। केही साल पहिले र अहिले भतेरको शैलीमा र माध्यममा व्यापक परिवर्तन हुँदै आएको छ ।

पहिले भतेर लगाउँदा समाजका गन्ने मान्ने मान्छेहरु जम्मा भइ अर्जोपर्जो जुटाइन जाइपर्थे। अनुकुल स्थान रोजेर लगाइनथ्यो भतेर। जहाँ कतै गुन्द्री कतै चकटी र कतै स्याउली बिछ्याउँदै फलाना फलानीको कुरा ओकल्थे ।

सके अनुसारको काम फत्ते गर्थे । सबैलाई टपरीमा खाना खुवाएर उम्काइन्थ्यो । यसरी भतेर खानेहरुको खाना आधा पेटमा र आधा टपरीबाट चुहिएर भुइँमा रहन्थ्यो । यसप्रकारको भतेर अहिले लगभग हराएर आएको छ । यो सँगै आएको छ नयाँ भतेर पद्दती ।

सरल र सहज पद्दती। यो पार्टी प्यालेसमा मनाइन्छ । बिना कुनै झन्झट। बिना कुनै उल्झन।

अक्सर भेतेर विवाह, वर्तन, पूजाआजामा लगाइन्छ । तर ती भतेर छोडेर आज वर्णन गरिने भतेरू राजनीतिक भतेर हुन् । यस्ता भतेरहरु हाम्रा समाजको हविगती दर्साउने ऐना हुन् ।
हाम्रो समाजमा दुई चार भुस्टिङ्ग्रे अघिपछी डोर्याउनेहरु नेता कहलिन्छन् । नेताका पछि लाग्ने बेरोजगार जैरेहरुले अधिकतम समय यिनकै चाकडीमा बिताइदिन्छन् । आफ्नो नेता खराब भएमा उभन्दा अझै खराब नेता सम्झेर दङ्गदास हुन्छन् ।

हाम्रो समाजमा दुई चार भुस्टिङ्ग्रे अघिपछी डोर्याउनेहरु नेता कहलिन्छन् । नेताका पछि लाग्ने बेरोजगार जैरेहरुले अधिकतम समय यिनकै चाकडीमा बिताइदिन्छन् । आफ्नो नेता खराब भएमा उभन्दा अझै खराब नेता सम्झेर दङ्गदास हुन्छन् ।

भालेले बास्नलाई बिहानी कुरेझै यिनीहरु राजनीतिक अवसर कुर्छन् । केही पर्नासाथ नेतालाई फेसबुकमा बधाइ पोस्ट्याउछन् । यसरी समाजमा धेरै बलिस्ठ पाखुरेहरु आफ्नो जीवन फोकट बनाउँदै छन् ।

राजनीतिक भतेरको मात सबैभन्दा बढी यिनै बलिस्ठ पाखुरेहरुलाई चढ्छ । पार्टीको संगठन बढाउन टोल छिमेकका अल्लारे बटुल्न यिनै अघि सर्छन् । राजनीतिक कार्यक्रमलाई सफल पार्न खाइलाग्दो खसी बोका खोज्ने जिम्मा यिनकै हातमा पर्छ । त्यस्तै कहिल्यै कौडी आर्जन गर्न नसकेका इनै खुरापातीहरु बन्द हडतालमा अरुको सम्पत्ति तोडफोड गर्न जाइ लाग्छन् । उफ्रन्छन् । राइधाइ गर्छन् ।

यस्तै युवाहरु घरको कामहरु थाती राखेर राजनीतिक पर्चा बाड्न सात गाउँ पुग्छन् । भ्रष्टाचारी जमातले हालिदिएको निःशुल्क पेट्रोल भरेर नाक फुलाउछन् । धुलो उडाउँदै राइतलो मच्चाउँछन् । चुनावमा यिनलाई सधैँ भ्याइ-नभ्याई हुन्छ । कसैको मुख थुन्ने, हप्काउने, ढाड सेक्ने, जाड धोकाउदै हल्लाखोर गर्ने, र चुनावी प्रसारमा बेरोजगार बटुल्ने यिनैको कोटामा पर्छ ।

त्यस्तै युवा वर्ग छोडेर समाजमा एकथरी मध्यम वर्गीय बुज्रुकहरु राजनीतिक भतेरमा मग्नमस्त छन् । युवावर्ग पछि समाजले भोग्नु परेका सास्तिहरुको मुख्य कारक नै यिनै हुन् । यिनीहरुको औसत जिन्दगी बिहानमा चियाको चुस्कीका साथ अखबार पल्टाउने, केही किताब पढ्ने, ठूला गफ हाक्ने, र राजनीतिक भतेरलाई मितोमिलो बनाउँदै बितेको छ ।

प्राय मध्यमवर्गीय शिक्षित बुज्रुकहरु सम्भावित राजनीतिक फाइदाप्रति सधैँ लालायित छन् । सरुवा-बढुवादेखि नयाँ जागिरे अवसरको आशाले यिनलाई सधै अठ्याएर छ । त्यसैले यिनीहरु आफ्नो सदबुद्धी पाखा लगाइ टोले गुन्डा र नेताप्रति हरदम नतमस्तक छन् ।

राजनीतिक दल सम्बद्द व्यक्तिका गुण, दुरगुण, क्षमता कमजोरी, इमानदारिता लगायत सबै विषयमा जानकार रहँदा रहँदै पनि उही गवारलाई मतदान गर्छन् । त्यसैले समाजका कथित शिक्षित बुज्रुकहरु समाजका लागि निकम्मा बनेका छन् । र हाम्रो वर्तमान जर्जर स्थितिको मुख्य कारक यहि हो।

समाजमा विधमान हुनेखाने वर्ग भने आफू अनुकुलको राजनीतिक ढाँचा बनाउछन् । आफू दलहरु पछाडी नलागेर दलहरु आफू पछाडी लाग्न वाध्य बनाउछन् । आफू अनुकुलको नीति, नियम र सहजता निर्माण गर्न दलहरूलाई बाध्यकारी स्थिति सिर्जना गर्छन् । बफादारिताको उपहार स्वरुप चुनावी अभियानमा पैसाको खोलो बगाउँछन्। टोले गुन्डा र शिक्षित गवारहरुको पालनपोषण गर्छन् ।

यिनीहरुले यस प्रकार देशमा युवा पुस्ता, मध्यम वर्गिय शिक्षित वर्ग र हामीजस्ता हुने खाने वर्गहरु र हाम्रो समाजलाई खोक्रो बनाउँदै छन् ।

तर समाजमा बस्ने निम्न वर्गहरु यी सबै विषयबाट पर छन् । आफ्नो परिवारको सहज जीवनयापनको लागि पसिना बगाउँछन् । देशामा आउने राजनीतिक परिवर्तन र अन्य गतिविधिले यिनको जीवनमा प्रत्यक्ष असर पार्दैन। यदाकदा मतदान गर्न र राजनीतिक भेतेरमा सम्मिलित भइदिन्छन् । हाम्रो वर्तमान हैसियत र भयानक स्थितिसँग निम्न वर्गको कुनै भूमिका छैन तर यसले निम्त्याउने अपठ्याराहरुबाट सबैभन्दा पिडित यही वर्ग छ ।

यसरी नेपाली समाजमा विभिन्न पुस्ता र वर्गहरुको राजनीतिमा मिलनबिन्दु राजनीतिक भतेर बनेको छ। जसको रुप समय अनुसार विकसित र परिवर्तित रहयो तर देशको अवस्था भने ज्यु को त्यु।

 

 

Read More From Suman Bhattarai:

मौलिकता गुमाउँदै नेपाली गाउँहरु | सुमन भट्टराई

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *