विगतमा हराउँदा
चराहरुको चिरबिर, तुवालोले ढाकेको पारी डाँडा, बादलले डुम्म छेकेको घाम, काँडा उमार्ने सिरसिरे चिसो बतासमा रम्दै स्मृतिमा हराउँदा लाग्छ जीवन भनेकै विगत हो । केही छुटेको पल हो । गुमाएको तीता मीठा विपना हो ।
समय पनि कस्तो बेगवान है ! कति छिटो छाडिदिन्छ हामीलाई पछाडी । कति छिटो बनाइदिन्छ हामी एकाअर्कालाई बिरानो । उस्तै रहेर पनि बनाइदिन्छ सबैलाई भिन्न । थाहै नपाइ छोडेर गइदिन्छ अथाह परिवर्तन !
यस्तै बेगवान समयको चापमा कतै हराएको छ मेरो बालपन । सङ्गै हराएका छन सङ्गिहरु ! र त्यसैको यादहरुको डोरी पछ्याउँदै खोज्दै आएको छु उहीँ ठाउँ जहाँ बिताएको छु जीवन कै सबैभन्दा मूल्यवान पलहरु । जहाँ खर्चेको थिएँ केही समय र आर्जेको छु एकजुनीलाई पुग्ने मीठा यादहरु । जहाँ गाँसिएको छ रुख बिरुवादेखि बग्ने खोला सङ्ग सम्बन्ध । जहाँ म लिन्थे साथीहरुसङ्ग आनन्दको स्वादहरु ! जहाँ दशैंको छुट्टीमा क्रिकेटमा झुमथेउँ ! तिहारको छुट्टीमा भैलोमा । होलीको छुट्टीमा रङमा । शनिबारे छुट्टीमा कहिले लुकामारी त कहिले स्याउली छोपेर बनाइएका घरमा ।
होलीको रङमा झुम्ने साथीहरु झुम्दै छन् अहिले जीवनकै रङ बदल्न।
तर स्थिति सधै एकै नरहने । दशै, तिहार, होली, शनिबारे छुट्टी सबै रहेर पनि रहेन त्यो उमङ्ग । होलीको रङमा झुम्ने साथीहरु झुम्दै छन् अहिले जीवनकै रङ बदल्न । र त आइरहन्छ अझै बेजोडले याद ! यादहरु पनि कस्तो बैमान है । पत्तो नदिइ आइदिन्छन् र बढाइदिन्छन् न्यास्रो !
यसै भन्न सकिँदैन यहाँ बतास लिगिँदै छ या लिगिँदै छ यादहरु जगाउने ओखती ! नयाँ किताबका पानाझै पल्टन्छन् यहाँ स्मृतिका पानाहरु । दिएर जान्छन् एउटा अनौठो आनन्द । जहाँ मिसृत रहन्छन् खुशी र केही गुमाएको पीडा । जहाँ हराउन मन लाग्छ आफैमा । आफ्नो हातबाट फुस्केका केही पलहरुमा ! सायद जीवन यहि न हो । केही यादहरुको सङ्ग्रह ।
थाहै नपाइ बदलिन्छ वर्तमान यादहरुमा ।
केही मूल्यहीन लागेका समय पछि लागिदिन्छन् समझ्दा मूल्यवान । केही अर्थहिन लागेका पलहरु बनिदिन्छन पछि अर्थपूर्ण । त्यसैले सायद अडिन्छ जीवन यादहरुको जगमा । तीतामीठा यादहरुको जगमै थप्छन् सबैले सपनाहरूका तल्ला ! सजाउन खोज्छन् केही उपलब्धीहरुका चाङ । र त धानिएको छ यहाँ हर कोही !
आफूले हिडेका केही बाटाहरु फेरिएका छन् तर पनि लाग्छ यहाँ कहिकतै पैतलाका अवशेष सुरक्षीत छन् । छैनन भने पनि के? मन मस्तिष्कमा सधै सुसज्जित छन् । पहिलेका छाला घोच्ने ऐसेलुका केही झाङ हराएका छन् र छोडिएका छन् मन घोच्ने अवशेष ! जहाँ विगत खोज्दा भेटिन्छन् विकासे परिवर्तन ।
हामीले मन्दिर मानेर फेरा हाल्ने रुखको मन्दिरलाई आज घाँसले फेरा हालेछ । मेटिएछ हामीले पुज्ने विष्णु र सरस्वतीका पोस्टर तर आस्था मेटिन सकेको रहेनछ । त्यसैले होला त्यस ठाउँ पुग्दा हरबखत अनायास मेरा दुई हात जोडिन्छन् ।
त्यसतै आफ्नो ठाउँको घर जस्तै प्यारो लाग्ने चौपारी अहिले कुनै भत्केको घरको भग्नावशेस हुन गएछ । जहाँ हामी धेरै समयसम्म टहलिन थियौँ । चिसो बतासमा थाकेर पसिनाले भिजाएको आत सुकाउन बस्थेउँ । तल बगेको आँधीखोला हेर्थेउ र गफमा हराउथियौँ । चौतारी छेउमा चरालाई साचेर राखिएको पोखरीको पानीमा हात चोबलथियौँ ।
तर आज त्यो चौतारी आफ्नो पहिचानको खोजीमा छ । जहाँ उम्रने दुबोलाई उछिनी प्लास्टिकका बोत्तल र चाउचाउका खोलले ढाकेका छन् । कुवा पानीले नभै सुकेका पातले भरिएका छन् । लाग्छ चौतारी मरणासन्न छ ! चिसो हावा चल्छ तर त्यहाँ कुनै जीवन भेटिदैन । र म खुट्ट्याउन सक्दिन कि यसको दोषी हामी हौ? या हो हामीले भोगेको समय ?
भारी मस्तिष्कमा यो धारिलो प्रश्न, अमिलो मन बोकी फर्किन्छु त्यही निरस वर्तमानमा जसलाई भुलाउन आएको थिए विगतमा । आफैमा !
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com