सुन है…
तिमीले भनेको “सधैँ तिमी मात्र”
झुटो थिएन होला, तर
त्यो “सधैँ” कति छोटो थियो!
म तिमीलाई विश्वास गरेँ,
आफ्नो अस्तित्व टुक्र्याएर
तिमीभित्र बगाएँ —
तर तिमी त किनार मात्र हैन,
अर्कै खोलाको बाटो पनि खोज्दै रहेछौ!
तिमी आएर बस्यौ
मेरो आँखामा — जूनजस्तै,
तर अर्कै चकमक तारासँग
रात कटाउन थाल्यौ।
थाहा पाएँ…
तिमीले त मेरो प्रेमको पूजा गर्दा गर्दै,
अर्कीको आँखामा स्वर्ग देखिरहेछौ।
र म?
म त आफैँलाई प्रश्न गर्दै टोलाएँ —
के म एक्लै बाँच्न जन्मिएकी थिएँ?
कसरी भन्नु तिमीलाई
मेरो मौनताको चिच्याहट सुन्ने कान चाहिँदैन,
तिमीले कहिल्यै खोजेनौ मेरो आत्माको आवाज,
किनकि
तिमी व्यस्त थियौ, उसमा हराउन।
आज…
म केही पनि माग्दिन तिमीबाट,
म त केवल सम्झिन चाहन्छु —
कि एक चोटि मैले पनि माया गरेकी थिएँ,
शुद्ध, निस्वार्थ, र जलेर खरानी हुने माया।
तर सम्झ है,
जब कहिले तिमी
एक्लै भई हेर्यौ आकाश —
त्यो जुन…
सायद म नै हुनेछु।
-Sishir Sapkota
Read more from Sabina Karki:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

