Nepali Poem | कविता : गाजाका बच्चाहरू | Janak Karki | Gaza

Nepali Poem Janak Karki gaza
अक्टोबर ७ मा गाजाले इजराइलमाथि गरेको आक्रमणको बदलास्वरूप इजराइलले हाल प्यालेस्टाइनको पश्चिमी किनारा ‘गाजा’मा हवाइ र स्थल आक्रमण जारी राखेपछि त्यहाँका बालबालिकाको अवस्थालाई मनन गरी कवि जनक कार्कीले कोर्नुभएको मार्मिक कविताका भावहरूः
१.
गाजाका बच्चाले
भर्खरै हेरे
एउटा अनौठो फुटबल टुर्नामेन्ट
बम्बले पेनाल्टी शुट हानेर
हावामा उडाइरहेको थियो
आफ्नै साथीको टाउको ।
२.
कति मनमोहक हुन्छ
बच्चाहरू खेल्दा
चिच्याएको आवाज !
गाजामा
बच्चा चिच्याउनु भनेको
एउटा कोपिला झर्नु हो ।
३.
आँगनमा बच्चाहरू
खेलौना बन्दुक लिएर
एउटाले ढिच्क्याउँ गर्ने
अर्को ढलेको
अभिनय हेर्न लायक हुन्छ ।
तर,
गाजामा हतियार सक्क्ली हुन्छ
अभिनय गर्ने सुविधा छैन ।
४.
हरेक बिहान
हाम्रा बच्चाहरूको
ब्रेकफास्टमा हुन्छ –
अमलेट
गाजाका बच्चाहरू
ब्रेकफास्टमा खान्छ्न्-
बुलेट ।
५.
गाजाको प्राथमिक विद्यालयमा
अध्यनरत बच्चाले
कल्पना गरिरहेछ
गृहकार्य गर्दै गरेको
बच्चाको चित्र कोर्ने ।
यथार्थमा यो संभव छैन
उसले हिजोको बमबारीमा
आफ्ना कलम समाउने औंलाहरू
गुमाएको छ ।
६.
त्यो शिशुलाई
आफ्नो नामथर थाहा थिएन
मजब थाहा थिएन
देश थाहा थिएन
जीवन-मृत्यु पनि थाहा थिएन
उसलाई यति मात्र थाहा थियो
जबजब भोक लाग्छ
आमाको स्तनतिर कोट्याउनु पर्छ
यतिबेला ऊ आमाको काखमा
रगताम्य छ
आमाको स्तनबाट दूध बगिरहेछ
अब उसले आमाको दूध पनि थाहा नपाउने भएछ !
७.
तिम्रो देशमा बच्चाहरू
स्कुलबसमा पाठशाला जान्छन्
गाजामा बच्चाहरू
एम्बुलेन्समा अस्पताल जान्छन्
तिम्रो देशका बच्चाहरू
पाठशालाबाट जीवन सिकेर
घर फर्किन्छन्
गाजाका बच्चाहरू अस्पतालबाट
मृत्यु सिकेर शमसानघाट फर्किन्छन् ।

 

Read More From Janak Karki:

क बाट कलम ! जनक कार्की | Offline Thinker

You may also like:

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *