जसरी मेरो नयनले उनलाई अवलोकन गर्यो ,
त्यसरी पहिले कहिल्यै कसैलाई नियालेन।
जसरी उनको उल्लास मेरो सन्तोष बन्यो,
त्यसरी पहिले कहिल्यै महसुस गरिन।
जसरी उनको आँसु,
मेरो आँसुको कारण बन्यो,
त्यसरी पहिले कहिल्यै अनुभूति गरिन।
जसरी उनलाई हर्षित बनाउन
अनेक अभिनय गर्न मन लाग्यो,
त्यसरी पहिले कहिल्यै अभिनय गरिन।
जसरी उनको कष्ट मेरो विक्षोभ बन्यो,
त्यसरी पहिले म कहिल्यै व्यग्र भईन।
घर प्रवेश गर्न कारण चाहिने मलाई,
अहिले एकछिन पनि,
घरबाट बहिर्गमन गर्न मनलाग्दैन
ऊ बिना एक क्षण बिताउन मनलाग्दैन ।
उनीमा खै कस्तो चमत्कार छ,
मेरो मनस अन्त जाँदै जाँदैन ।
उनीबाट टाढा,
मेरो संसारको कल्पना पनि गर्न सक्दिन
आफ्नो अस्तित्वको व्याख्या गर्न सक्दिन।
प्रेम, केवल एउटा शब्द,
यसको परिभाषा
उनी बाहेक अरू कसैले स्पष्ट पार्न सकेन
चत्वारि पादप्राणी भनेर विख्यात उनी,
मेरो लागि मानवभन्दा कम कहिल्यै भइन।
अर्थहीन जीवनको अर्थ बनिन उनी,
दुःखमा राहतको किरण बनिन उनी
अस्थिरतामा अटल आधारस्तम्भ बनिन उनी।
निस्वार्थ माया र समर्पणको केन्द्र बनिन् उनी।
मेरो सामान्य मुस्कानलाई
विशेष बनाउने पात्र बनिन् उनी।
समग्र संसारले श्वान भन्छन्,
तर मेरो लागि त,
सन्तान सरह हुन उनी!
Read More From Anushma Dhungel:
Read More Nepali Poem at Offline Thinker:
Read More From Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com