आमा!
तिम्रो कोठाको कुनामा थन्किएको
त्यो टिनको ट्याङ्काभित्र के राखेकी छौ त्यस्तो,
दिनभरि त ताल्चा झुन्डिएको हुन्छ,
तर रातभर प्राय त्यो सधैँ किन खुल्ला रहन्छ?
म आँखा चिम्लिएर निदाएको जस्तो गर्छु,
अनि तिमीलाई नै हेरिरहन्छु,
तिमी म निदाएको सोचेर छ्ट्पट्टिरहन्छौ,
सधैँ कोल्टे फेरिरहन्छेउ,
के सोचेर बिताउँछेउ खोइ,
हरेक रात
त्यही टिनको ट्याङ्का खोल्दै तिमी किन टोलाउँछेउ?
त्यो अन्धकारमा पनि कसैले देख्छ कि भन्दै
आँखाबाट बगेका आँसु ओठसम्म पुग्न नपाई
धोतीको फेरले आफ्नो आँखा सुम्सुम्याउँछेउ।
भनन आमा !
त्यो टिनको ट्याङ्का अङ्कमाल गर्दै
तिमी यी लामा रातहरु कसरी कटाउँछेउ?
आमा!
भनिदेउ न के लुकाएर राखेकी छेउ?
रहरहरु पोको पारेर राखेकी छौ कि राजहरु,
नमीठा स्मृति थन्क्याएर राखेकी छौ कि
उमेरसँगै ढल्कँदै गएका तिम्रा अधुरा सपनाहरु,
भनन के छ त्यस्तो त्यहाँ,
जसलाई हेर्दै, अङ्गाल्दै, रुँदै, आफूलाई सम्हाल्दै तिमी रात बिताउँछेउ,
भनन के छ त्यस्तो त्यहाँ,
थाकेका आँखाबाट झरेका ती अमूल्य आँसुहरु
या मनले अङ्गालेका ती प्रेमिल ईतिहासका पन्नाहरु,
बिसाउन नसकेका दुःखका बोझहरु या
गलेका पाइला चाल्न नसकेका
गन्तव्यहिन गोरेटोका नक्साहरु,
बुवाको सम्झनामा अल्झिएका तस्विरहरु
या तिमीले पोख्न नसकेका मनका वेदनाहरु,
सम्बन्धको धागोमा अल्झिएका गाँठोहरु
या मनमनै चुँडिएका तीतामीठा साइनोहरु।
आमा ! भनिदेउ न के छ त्यस्तो त्यहाँ ?
बुवा बितेर गएको त वर्षौं भइसक्यो,
छोडेर सम्झना
तिम्रो सिउँदो रित्याएको पनि वर्षौं भइसक्यो,
तर तिमीले अझै सिन्दुरको डब्बा
किन सजाएर राखेकी छेउ?
राता चुराहरु केका लागि बचाएर राखेकी छेउ?
बुवाले दिएको प्रेमको पत्रबाट शब्द शब्द झिक्दै
किन त्यो ट्याङ्काबाट विगतको कहानी पल्टाउँदै छेउ।
आमा भनिदेउ न आखिर तिमीले
तिम्रा जिन्दगीका खुशीहरु
कहाँ पोको पारेर थन्क्याएकी छेउ?
संघर्षले बेरिएको जीवन कसरी सजाएकी छेउ,
कतै हराएकी छेउ कि डराएकी छेउ?
यति धेरै स्नेह कहाँबाट संगालेकी छेउ?
यति धेरै दुःखबीच तिमी कसरी रमाएकी छेउ?
आमा! आज बुझाइदेउ न मलाई,
सासले समेत धोका दिने यो जिन्दगीमा
यति धेरै साहस तिमीले कहाँबाट बटुलेकी छेउ?
Read More Poem From Muskan Pandey:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com