यति बेला स्वरहरूमा गुन्जिने पालो कुशल बेल बासेको छ। मध्य पहाडको गोरेटोमा घाँस दाउराको डोकोसँगै, चिया पसलका साना कटेरामा चिया नास्तासँगै, अनि ई भी बस र सज्जिएर पहाड धान्ने बोलेरोसँगै गाउँ गुनगुनाउँछ !
”भोलि त गइहाल्छु रेलैमा,
जोगाइराखे सिन्दुर प्यारी
फर्कन्छु बेलैमा !”
गाउँ कुशल बेल बासे जत्तिकै सुमधुर हुन खोज्छ! कोइली देखि झ्याउँकिरीले पार्श्वमा सङ्गीत थपिदिन्छन्। हाम्रा कहानीहरू यस्तै छन् यहाँ ! दुख र घाउका नयाँ वेदनाका सङ्गीतहरू आइराख्छन्। हामी स्वर थपिराख्छौ। खेम सेन्चुरीको “कपालु कोरेर” होस या गणेश पराजुलीको “पासपोर्ट हरियो”! परदेशीने विरहका लयमा गाउँ सधैँ सुकसुकाउँछ।
त्यसैले एक जुग अघि नारायण रायमाझीको “राम्दी पुल तर्ने बित्तिकै” र “राम्दी पुल तर्ने” जस्ता कालजयी रचनाले खोतलेको आशुको गोरेटो आजको मिति सम्म सायदै खाली छन् ! रत्यौली, रोइला, सालैजो, कौरा, सोरठी, देउसी, रेलिमै, झ्याउरे, असारे देखि ठाडो भाकासम्म; जही त्यहीं परदेशी विरहका भाव अटाएका छन्। ती जब जब गाइन्छन् सुनिन्छन्; हामीलाई आफ्ना परेलिहरु भिजेको पत्तो हुँदैन।
त्यसैले शर्मिला गुरुङले “राम्दी पुल तर्ने बित्तिकै” गाइदिँदा हाम्रो मुटु छिनिन्छन्। पुरषोत्तम न्यौपानेको “सररर पानी घट्टमा ” बज्दा हाम्रा विगत आशुमा बल्झन्छन्। बिमा कुमारी दुराको “फुल्यो निम पत्ता” सुनिदिँदा हाम्रो आङ सिरिङ्ग हुन्छन्। विमलराज क्षेत्रीको “जापान टोकियो” सुन्दा स्मृतिका पानाहरू पल्टन्छन्। हाम्रो त जीवन देखि मृत्यु सम्म; साहित्य देखि सङ्गीत अनि कलासम्म! परदेशी विरहसँग हाम्रो अटुट साइनो छ। हाम्रो सुख:दुख, सपना, बाध्यताका सबै खाले लहराहरू ई नै परदेशी विरहमा बाधिएका छन्। र सामाजिक संरचना भन्नू ई नै बधाई मात्र न हुन।
विश्वयुद्धमा लड्न पुगेका हजुरबुवा पुस्तादेखि रहर र बाध्यताको युद्धमा लड्न परदेशीने आजको नाति पुस्तासम्म आइपुग्दा हामीलाई हाम्रा परिस्थिति र दुःखहरूमा धाप दिने ई नै लोक भाका मात्रै हुन। त्यसैले झलकमान गन्धर्वको “हे बरै” हुँदै आज “भोलि त गइहाल्छु रेलैमा” सम्मका पीडा एकै हुन। आशुको नुनिलो एकै हुन। र यो क्रम कहिलेसम्म ? आउने कति पुस्ता सम्म? हरिया पहाडका थुम्काहरूमाझ यी प्रश्नहरू वर्षौँदेखि असरल्ल छरिरहेछन्।
तर यो सोझो गाउँलाई प्रश्नहरूको अस्तित्वको चेत छैन। उसले उत्तर खोज्दैन! नियतिको काँधलाई दोष थुपारेर परदेश भासिन उ अभिसप्त छ। यहाँ सधैँ यस्तै हुँदै आइरहेको छ। गाउँ सोझो छ। त्यसैले उ ठगिँदै ठगिँदै सास्ती पाइरहेको छ।
बि.स २०५८ सालमा देशको जनसङ्ख्याको ३.३ प्रतिशत परदेशीने आँकडा २०७८ को जनगणना सम्म आइपुग्दा ७.५ प्रतिशतमा पुगेको छ। र यो सङ्गै जोडिएर आउँछन् सम्बन्ध विच्छेद्य र मानसिक समस्याहरूको उकासिँदो तथ्याङ्क ! बसाइँ सराइ देखि बदलिँदो सामाजिक संरचना पनि यसैको उपज हुन। खहरेले खोतलेको खोल्सो जसरी हाम्रा समाजहरु फराकिएर उजाडिँदै छन्।
विश्वयुद्ध लड्न जाँदा भाक्सु धर्मशालामा अडिएका लाहुरेलाई गाउँमै भएजस्तै लाग्ने पहाडिया किस्साहरू गाउँमा बिराना भइसकेका छैनन्। आधा शताब्दी अगाडि तिब्बतमा शाही नेपाली महावाणिज्य दूतका रूपमा काम गरेका डोरबहादुर विष्टलाई ल्हासा काठमाडौँ जस्तै लाग्थ्यो रे। उनी न्यालमका भू बनोटहरूमा कहिले उत्तरी डोल्पो त कहिले लिमी उपत्यकाको झल्को खोज्थे। कहिले तिब्बतको भू बनोटहरूमा मुस्ताङ र लोमान्थाङ खोज्थे।
तिब्बतमा छिमेकी गाउँका कुकुर भुक्दा नेपालका पहाडी गाउँको यादमा रात बिताएको रिपोर्ट फ्रम लासामा उनले लेखेका छन्। समयलाई बिट मारेर बि.स २०८३ सालमा आइपुग्दा, जापान बस्ने मेरो साथीलाई आज नागासाकी पोखरा जस्तै लाग्छ रे। घरको साइनो र झल्को खोज्ने यो क्रम अविरल चलेको छ। सपना बोकेर जवानी उदाउँछ। न्यास्रो बोकेर जवानी अस्ताउँछ। त्यसैले आज अरबको समुन्द्रहरूमा आँधी खोलादेखि अरुण खोलासम्मका नदीको झल्को खोज्नेहरू कति होलान्? हाम्रा हर-हिसाब अल्झिएर बिग्रिएका छन्। त्यसैले यो राज्य र प्रत्येक राज्य सत्तासँग हाम्रो भावनाको गणित मिल्दैन।
घरको जस्तापातादेखि सन्तानको ज्योमेती बक्ससम्म! पेटको भोकदेखि मनको आवश्यकतासम्म! पहाडका गाउँ: सहर पेन्सन र रेमिट्यान्समा मात्रै त अडिएका छन्। अतः जति पटक दोहोराउँदा पनि अतिशयोक्ति हुँदै नहोला तर राजनीतिले एक शताब्दीमा लगाउन नसकेको गुण हामीलाई अरब ट्रेन्डले एक दशकमा लगाएको छ।
तर मूल्यमा पहाडले धेरै थोक चुकाएको छ। खुसी, भाइ साथी, प्रेम, गाउँ, घरपरिवार, सपना, रहरदेखि मुस्कानसम्म! बाध्यता र परिस्थितिको धितोमा हाम्रो धेरै पुस्ताको जीवन लिलाम भइसकेको छ।
त्यसैले रेमिट्यान्सको उपार्जनको मूल्यमा पहाडले आफ्नो जीवन गुमाएको छ। पाखुराहरू गाउँमा नअडिएपछि हिजो आज रोधीका बसाइँहरू रित्तिएका छन्। झ्याम्रे; सालैजो सीमित भएका छन्। खेतीलाई पुग्ने बल प्रदेश भासिएपछि अर्मपर्म र मेलासँग जोडिएको संस्कृति हराउँदो छ। न गुन्यो चोलीमा सज्जिने तरुनीहरू रहे न गुन्यो चोलीलाई आँखा मार्ने तरुणाहरू रहे। यही क्रम आउने दशकसम्म चलिरहे हामी सामाजिक संस्कृतिको रिक्ततामा पुग्नेछौँ। जहाँ अँगाल्नुपर्ने संस्कृति र शैली हाम्रा लागि नयाँ हुनेछन्। त्यसैले हामी आज “ब्रेन ड्रेन”को फेजमा मात्रै छैनौँ। हामी “कल्चरल ब्यान्करप्ट्सी”मा पनि छौँ। र पनि राज्य र प्रत्येक राज्य सत्तासँग हाम्रो भावनाको गणित मिल्दैन।
पहाडबाट पर छुट्नेहरूका जस्तै पहाडमै एक्लै छुट्नेका पिर मर्का पनि उस्तै चर्का छन्। सघाउनलाई साथहरू छुटेपछि! समाउनलाई हातहरू छुटेपछि! सुख र दुःखको अन्तरहरू मेटिँदो छ। न मुस्कानहरूको साक्षी बाँकी छन्।न आँसुहरूको साथी बाँकी छन्। कतै बसाई सार्न उडेको कर्याङकुरुङको हुल जस्तो! ती फेरि भेटिदा सँगै साथमा पुरै भेटिँदैनन्। यसरी हाम्रा स्वअस्तित्वहरू यहाँ बाँडिएका छन्। परदेशीने र पहाडमै छुट्नेहरूको ताल मिलाउन मादलुले वर्षौँको दसैँ र तिहार कुर्न पर्ने हुनसक्छ। तर ती आँसु र हाँसोको भाकाहरू साथमा नभेटिन पनि सक्छन्।
यसरी यो बाध्यताको कहरहरूमा हाम्रा दौँतरीहरू खोसिएका छन्। जसको पूर्ति कुनै वैभवमा पनि अपुग हुन्छ। गाउँका मूलहरूलाई परदेशको कुनै दोभानमा छुट्टिनै पर्छ। नछुट्टिनलाई कुनै धरै छैन। अन्न पोषको यहाँ भरै छैन।
गुडेर जाने रेलदेखि; उडेर जाने जहाजसम्मको कथा! विश्वयुद्धमा लड्न जाने हजुरबुवा पुस्तादेखि आजको नाति पुस्तासम्मको कथा त्यसैले दुरुस्तै छन्।परदेश भासिने सबैले परदेशमा पहाड खोजिरहे। यतै पहाडमा छुट्नेले दौतरीहरु खोजिरहे। गाउँ सोझो छ यिनै अलमल्याइमा उसले मुस्कुराउन खोज्यो। प्रश्न र उत्तरहरू खोजेन। बरु भाकाहरू खोज्यो। त्यसैले शर्मिला गुरुङले,
”जाने बेला भैनर, भाले बासिन र मायालु” गाइदिँदा निर्दोष आँखाहरु पुरै रसाएर आउछ्न्। हाम्रो रित यही हो।
गाउँ सहरको आँगनमा फेरि नयाँ कलिलो पुस्ता पनि त हुर्कँदै छ। अघिल्लो पुस्ताको कसरतमा उसले थोरबहुत प्रविधि पायो। शिक्षा पायो। सेवा सुविधा पायो। केही हदसम्मका सुख सयल पायो। तर विडम्बना पहाडले आफ्नो नियति त्यो पुस्तालाई हस्तान्तरण गर्न पालो पर्खेर बसेको छ। नवपुस्ताको सपना, रहर, साथीभाइ र दुःखसुखमा राज्य संरचनाका उपज रुपी बाध्यताले छिटै हस्तक्षेप गर्न पालो पर्खी बसेका छन्। त्यसैले गाउँमा सङ्घर्षले एसइई दिएको एउटा युवा सहरमा अलग्गै सङ्घर्षले प्लस टु सकाउँछ। नतिजा,क्षमता र प्रतिभाको मापनहरूलाई कतै अनकन्टारमा छोडेर उसलाई पासपोर्ट लिने लाममा समयले धकेल्छ। जीवनका अनगिन्ती लामहरू उसले देख्नु भोग्नुपर्नेछ। बाकसमा घर फर्किएन भने गाउँ, समाज र देशले उसको रेमिटेन्स “सेलिब्रेट” गर्नेछन्। बाँकी बिचमै छुटेका सपना, सम्भावना र जीवनको हिसाब किताब कहाँ हराउँछ? राज्यलाई चासो छैन। पहाडलाई पत्तो छैन।
लीलबहादुर क्षेत्रीले “ब्रह्म पुत्रको छेउछाउमा” आफ्ना किताबका पात्र आसाम भासिने पहिलो पुस्ताको नेपाली मानवीर कार्कीको मृत्यु वरणमा एउटा घतलाग्दो वाक्यांश लेखेका छन्। ” ऊ अझ आसाममा राम्ररी भिजिसकेकै थिएन, जब उसको देहको अवशेष ब्रह्म पुत्रले बगाएर लग्यो।” त्यति बेलाको समय, परिवेश,स्थान, परिस्थितिहरूभन्दा आजको युग कयौँ गुणा बदलिँदो छ। वर्ग, भूगोल, प्रविधि, जीवनशैली र संस्कृतिका अन्तरहरू पलैपिच्छे फराकिँदै गएका छन्। त्यसैले दुःखका अनेकौँ परिवेशमा भिज्दा नभिज्दै हाम्रो जवानीको बल रित्तिन्छ। आज पहाडमा प्लस टु पास गरेर बसेको युवाले हिजोको मानवीर कार्कीको भन्दा कयौँ धेरै परिवेशमा उसलाई भुल्न पर्ने हुन्छ। भिज्न पर्ने हुन्छ। हाम्रा शताब्दी अगाडिका पीडाहरू आजको दिनमा आइपुग्दा झन् बाक्लिएर थपिएका छन्।
हरिया पहाडका फाँटहरूमा, नमिलेका बारी र मोटर बाटोमा रम्ने, घुम्ने, हाँस्ने दौडिने र क्रिकेट, फुटबल भलिबल खेल्ने पहाडका भाइहरू जीवनको दुःखको बाँधमा हेलिन बाँकी नयाँ युगका मानवीर कार्कीहरू हुन्। जसको अगाडि दुःखका अनगिन्ती हिमालहरू अग्लिएर बसेका छन्। त्यसैले भर्खरै गाउँमा प्लस टु पास गरेर बसेको एउटा युवाको जीवनको समयले छिटै फेरो हाल्नेछ। जीवन फेरिन कत्ति बेर लाग्नेछैन। मखमली फूलको माला र रातै अक्षतामा ती घरबाट छुट्टिनेछन्। आँखाभरि आँसु र सपना बोकेर ती गाउँघरबाट ओझेल हुनेछन्। र
”जुन दिन चढेँ विदेशको पेलेन
मनमा कुरा यत्ति त खेलेन”
जस्ता नयाँ शब्दका पुराना भाका र लयका टुक्कामा तिनका दुःख टिकटकमा रिल्स भनेर छल्किनेछन्।
हाम्रा अनगिन्ती हिमालका कथाहरू फेसबुकका पोस्ट र रिल्समा सुषुप्त भेटिनेछन्। तिहारमा बहिनीको हातबाट सयपत्रीको माला लगाउने दाइलाई एयरपोर्टमा खादा लगाइदिन एकै वसन्तको बेर लाग्नेछ। हाम्रा दुःखका अनगिन्ती हिमालहरू पछ्याउन हामीले के छोड्दैनौ र यहाँ? एउटा आम मान्छेको जीवन र यौवनबाट छुट्न सक्ने सबै चिजका सीमा र मापनहरूमा जे जति अट्न सक्छन्; ती सबै छुट्छन्! जीवनबाट टुट्न सक्ने जति सबै टुट्छन्। हामी आफ्नै पहाडका लागि बटुवा! हामी आफ्नै घरका लागि पाहुना! हामी आफ्नै परानीका लागि बिरानी !
त्यसैले आज गाउँमा ब्याट समातेर खुसीमा जमघट हुने भाइहरूको आँखाका निश्चल कहानीहरूले मलाई बिझाइराख्छन्। ती कलिला सम्भावनाहरू; निर्दोष जीवनहरूको जमघट अनगिन्ती हिमालका अगाडि सबै छुट्नेछन्। धेरथोर पाएको प्रविधि, शिक्षा, सेवा र सुविधा सबै फिक्का बन्नेछन्।
हाम्रो आँसुहरूको यहाँ कुनै मोल छैन। एउटा जीवन सुटकेसमा ओसारिएर सकिनेछ। एउटा जीवन नारायण रायमाझीको “डोरी फुर्काले” गीत जस्तै भएर सकिनेछ जहाँ “मन घुम्छ चर्खा झैँ तिम्रै सुर्ताले।”
हामीले बाँचेको प्रविधिको युगको यति मात्रै त अन्तर हो। हाम्रो बुवा र हजुरबुवा पुस्ताले आँसु र दुःख हुलाकमा बिसायो। आजको हाम्रो युवा पुस्ताले फेसबुक र टिकटकको रिल्स र पोस्टमा पीडा बिसाउँदछ। आउने पुस्ताहरूलाई नियति र विकल्पहरूको रोजाई खै? पहाडले राज्यसँग झ्याउँकिरी बनेर अविराम प्रश्नमा बाझिनुपर्नेछ। होइन भने हाम्रा दुःखका अनगिन्ती हिमालहरू प्रत्येक पुस्तासँगै झन् अग्लिँदै जानेछन्।
र अन्तमा आजका देश बनाउने टोली, सम्पूर्ण माननीय र बौद्धिक वर्गलाई यो देशको आशु, पीडा, मर्म र नियति बुझिराख्नु छ भने पश्चिम पहाडको कुनै विकट र बिरानो गाउँमा पुगिदिनु! र एक चरण शर्मिला गुरुङको “राम्दी पुल तर्ने बित्तिकै” सुनिदिँदा तिनको निर्दोष मुहार र निश्चल आँखामा आउने भाव पढिदिनु! तिनै आउने आशुका थोपा र भावनाले यो देश बोल्छ। यो देश खोल्छ।
बाकी पहाडलाई सधैँ झै रुनु त छदै छ! ऊ परदेशी प्रियसीको विरहमा बतास सङ्ग लय मिलाउँदै देउरालीमा एक्लै सुसाउँदै जीवन कटाउनेछ! नारायण रायमाझी र शर्मिला गुरुङ झैँ एक्लै गुनगुनाउनेछ;
”सङ्गै बस्न कहिल्यै नि जुटेन
तिम्रो फोटो साथैमा छुटेन”
राम्दी पुल तर्ने
बाचे त हुम्ला भेट
मरे के गर्ने……।
Read Poem Written by Suman Bhattarai:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

