सनिबार अबेर सम्म सुतिरहन्छ
घाम उकालो चढेर आकाशको टुप्पामा पुग्दासम्म ।
फोहोरी कपडाहरूको पहाड चढ्न
आमाहरूलाई स्याँस्याँ र फ्याँ फ्याँ हुन्छ ।
चुलोले एकछिन श्वास फेर्नसम्म आराम पाउँदैन
स्कुल,कलेज,कार्यालय सबै घरमा पाहुना बनेर विराजमान हुन्छ्न् ।
सबैको आराम मिलाउँदा मिलाउँदै समय पुग्दैन
आमाहरूको सनिबार हुँदैन ।
यो सनिबारले पनि यति धेरै शोषण गर्छ
आफू विदामा बसेर आमाहरूलाई काम कज्याइरहन्छ ।
आमाहरूका हातका चुरा गाउदा गाउदै गला सुकाउँछन्
जुँठा भाडा खिस्स दाँत देखाएर हाँस्छन्
आँगनमा कुचो घिस्रदा घिस्रदै आजित हुन्छ
बिस्कुनहरू घाम ताप्न आतूर हुन्छन् ।
सबैका लागि समय निकाल्दा निकाल्दै
आफ्नै लागि समय मिल्दैन
आमाहरूको सनिबार हुँदैन ।
जसरी माकुरो आफ्नो जालमा आफैं फस्छ्न्
त्यसरी नै आमाहरू घरको जालोमा निरन्तर फसिरहेछन्
के यो रातको कुनै विहानी हुँदैन ?
आमाहरूको सनिबार हुँदैन !
बा´हरूले आमाहरूलाई भन्न त भनिदिन्छन् नि -भगवानले फुर्सदमा बनाएको हो तिमीहरूलाई
तर समस्या यो छ कि फुर्सदमा बनाइएका आमाहरूका लागि फुर्सद चाहिँ किन बनेन ?
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

