Nepali Poem | अनिदो | Nidesh Acharya

Bipana Adhikari

म भुकम्पमा काँपिरहने
पृथिविको सतह भएको छु।
म ब्रान्डेड स्टिकरले
पहिचान पाएको सिसाको बोतलबाट
ओर्लिने नशा भएको छु ।
दृष्टि धमिल्याउने,
बेहोसीको रेड कार्पेटबाट
बिस्तारै आएर
आँखाको सिंहासनमा बस्ने निदेरीसँग
परिचय साटासाट
गर्दैछु ।
परिचयमा ज्ञात भयो
त्यो मेरो रामको
रावण हो ।
सचेतको भाँडो यो
मस्तिष्कमा आधा होस
खनिएको छ ।
अनि आधा बेहोसी खनिएर
त्यो भाँडो टम्म बनेको छ ।
अनिदो… अनिदो… अनिदो…
अनिदोले वस्तविकता
भ्रम तुल्याईदियो ।
दुई निमेष अघिको स्मृतीलाई
कुनै बिद्यार्थीले परीक्षा हलमा
उत्तर बिर्सेझैँ बिर्साईदियो ।
माथिका परेला
तलका परेला सँग मिलनको
चाहना राख्दै
झप झप गर्दैछन् ।
म कुनै रुँढिवादी परिवारझैँ
दुईको मिलनलाई असफल तुल्याउने
हर प्रयासमा छु ।
अनिदो… अनिदो… अनिदो…

 

 

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *