त्यहाँ एउटा शरिर थियो। लम्पसार परिरहेको। अधुरो कथाको भौतिक पात्र। वरिपरि केही प्रहरी डोरी खोल्दै थिए। कोहि केरकार गर्दै थिए।
शरीरलाई घेरी बसेको अर्को विश्लेषकहरुको भिड।
“प्रेमीले छोडेका वियोगमा भएको घटना हो यो..” पहिलो विश्लेषकको अनुमान।
“पेट बोकी रे सानै उमेरमा। अनि के गर्नु?” अर्को मधुरो स्वरको तर्क।
“साह्रै हेप्थे रे घरमा। रोगाइ पनि थिइ रे। दुःखै लुकाइ भनुम्।” यस्तै टिप्पणीहरु अनेक आए।
चारित्रिक विश्लेषकहरुको बीचमा एउटा भक्कानिएको आवाज सुनियो। उनकी आमाको जो बुझ्न् खोज्दैथिइ नेपथ्यको कथा जसले गर्दा यो भवितव्य हुन पुग्यो।
छेउमै अर्को एकजोर मलिन आँखा थियो- उसको बुबाको। स्तब्ध हाउभाउ जो विश्वाश गर्न चाहन्नथे जे घटेको थियो।
***
गाउँकै सबैभन्दा सुन्दर केटी थिई उजेली।
‘म त हिरोईन बन्ने हो।तर यो उजेली कस्तो नाम हो। छ्या!’ पाँच दिन अघि यस्तै भन्दै थिइ उजेली, ‘हिरोईन भएपछी फेर्छु यो नाम। सोनिया, जेनेलिया यस्तो नाम राख्नुपर्थ्यो नि ममी हजुरले नि।’
‘तेरो बा’लाई सोध।” आमाले बहाना खोज्दै कुरा मोडिन, “बिहे भएको बाह्र वर्षपछी जन्मेकी होस् तँ। सबैको अनुहार उज्यालो भाथ्यो तँलाई देखेर। त्यसैले उजेली राखेको तेरो नाम बाउ’ले।’
***
त्यो चञ्चलता आज विवशताको डोरीले निसास्सिएको थियो। लम्पसार परेका थिए सपनाहरु।
हाँसिरहेको अनुहारमा लुकेको रुवाइ बुझ्नै सकेनन् कसैले। कसैले सुनेनन् ऊभित्र भक्कानिएका रोदनहरु। उनी शून्य थिई। अरुको मूल्य बढाउने तर आफू भने शून्यमै बिलाएर गइ।
‘धिक्कार छ त्यो भिडलाई।’ एउटा सक्किएको कथामा उनीहरु चरित्रका त्रुटीहरु आंकलन गर्नमा व्यस्त थिए। कसैलाई पर्दा पछाडीबाट ऊ माथि कस्तो छुरा प्रहार हुँदै थियो भन्ने बुझ्नै थिएन।
सायद त्यो भीडमध्य कसैले उसको मनोविज्ञानको भान गर्न सकेको भए आज एउटा फक्रिदै गरेको फूल ओइलाउँदैनथ्यो होला। सायद उजेलीको पार्थिव शरिरले बुवाआमाको संसार रङ्गहिन हुँदैनथ्यो होला। सायद!
उनी अरुलाई जीवन जीउन सिकाउन चाहन्थी।
केहि दिन अघि मात्र क्यान्टिनमा खाजा खाँदै गर्दा भनेकी थिई, “विइ डोन्ट नो हाउ टु लिभ लाइफ (हामीलाई जीवन जिउन आउँदैन) म नामी हुन्छु अनि सिकाऊँछु सबैलाई।”
उसको यो भनाइ आज व्यंग्य गर्दै थियो उसको लासलाई। नचाहँदा नचाहँदै एउटा अमिलो चुट्किलामा सिमित भए उसका अठोटहरु।
“सपना त ठूलो देख्न पर्छ है केटी हो।” मेलामा घुम्न जाँदा आफ्नो मिल्ने साथीलाई उजेलीले भन्थी, “सपना नै नदेखे त कसरी साकार गर्नु हैन र?”
सपनामै रमाउने उमेरमा ऊ सपनामै विलिन भइ। के यहि थियो होला त उसको सपना?
“ओइ! हेर न” आफ्नो साथी सुस्मालाई भन्दै थिइ उ घर फर्किने बेलामा,”सुभम ले त हेर्दै हेर्दैन त। म फेमस भएपछी पछुताउला नि!”
के आफ्नै जीवन त्याग्ने सर्तमा उसले प्रेमको अपेक्षा गर्दै थिइ?
किन? के भयो? के बाध्यताले उसले आफ्नै जीवनको धागो चुडाँल्न पुगी? प्रश्नहरुको सञ्जाल व्यापक थिए तर उत्तर कसैसँग थिएन। नेपथ्यमा नै एउटा कथाले जन्म लियो, प्रश्नहरु उब्जिए, उत्तरहरुको भिड लाग्यो अनि त्यहीँ बने ती उत्तरहरुको समाधी। मञ्चमा त केवल सुतिरहेको थियो मात्र एउटा पूर्णविराम लागेको जीवन, छरपस्ट सपनाहरु अनि “च्व! च्व!” गरिरहेका मृगतृष्णाहरु।
अब उजेलीको जीवन खरानी भएर बग्नेछ । गण्डकीका ज्वारभाटासँगै सबै व्यथा, पीडा एक्लै लिएर जाने भयो उजेली।
यो त उजेलीको व्यक्तिगत कथा मात्र थियो।
सायद एउटा नयाँ कथा उदाउला। अनि यसैगरी अस्ताउला पनि। किनभने हामीलाई हेर्नु नै छैन् चञ्चलता पछाडी लुकेका सपनाको चिहानहरु। सुन्नुनै छैन हाँसो पछिको रोदनहरु अनि महसुस नै गर्नु छैन नेपथ्यमा भक्कानिएका गुहारहरु।
क्रमशः
Read More From Sudarshan Poudel:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

