बन्द कोठामा बसेर केलाउँदै छु
ती कनिका झै विगतहरुलाई
राख्नै छ पोल्ठोमा थोरै पीडाहरु
देखाउँनै छ गगनचुम्बी हाँसोहरु
कालो कोठाको कालो रङले
मेरो प्रतीक दर्साउँदैछ
जिस्काउँछ रिसाउँछ
अनि
ङिच्च हाँसेर भन्छ
अरे आज नयाँ वर्ष
ढोकाले गाली गर्दैछ
बाहिर जा दुनियाँलाई हेर
उभिएर हेर तँ जस्ता हजारौं छन्
सबै हाँसेका छन्
जा आज नयाँ वर्ष
आज त खै किन हो
पंखाले नि विश्राम लिँदैछ
सलेदोले गाली गर्दै छ
त्यो गुडिया आज मौन छ
आज नयाँ वर्ष
त्यो हावाले खुसुक्क भन्दैछ
ए प्यारी
बसन्तमा वृक्षले झै नयाँ पालुवा हाल
जा एक चोटि जा
आज नयाँ वर्ष
जुनकिरीले सन्देश ल्याएछ
त्यो बारीले कहिले खेल्न आउछे भन्दै थियो रे
त्यो धारा पर्खिदा पर्खिँदै बूढो हुन्छु भन्छ रे
त्यो लप्सीले मेरै लागि लब्सी राखेको छ रे
ती फूलहरुलाई मेरो हातको पानी खान मन छ रे
भन्दैछन् रे आइज बाहिर
आज नयाँ वर्ष रे
निस्किने प्रयास गर्दैछु
म बन्द कोठाबाट
म पनि सोध्दै छु केही प्रश्न
मेरो मौन समाजलाई
के म सुरक्षित छु…..?
मलाई सबैले स्विकारे खै किन
ए समाज तिमी स्विकार गर्छौ…?
कि तिमी अझै घन्टी हल्लाउँदैछौ?
कि अझै मौन छौ?
कि अझै निद्रामा छौ?
कि अझै मदिराको नशामा छौ?
अनि आज त नयाँ वर्ष रे?
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com