हिमाल जस्तै अटल उनी..! | Muskan Pandey | Offline Thinker

Muskan Pandey

नारी एक यस्तो पात्र हो जसले प्रकृतिको हरेक आकृतिमा रङ्गहरु भर्छिन्। जसले सूर्यको किरणले न्यानो प्रकाश छरेझै मानिसको जीवनमा सुवास छर्छिन्। जसले घडीको सुइको टिकटिक चालसँगै अरुको धड्कनको हाल बुझ्छिन्। जसले हरेक फूलको पत्र पत्रमा पनि जिन्दगीका पात्रहरु भेट्छिन्। र त्यही भेटिएका पात्रबाट केही नयाँ त केही नौलो सिक्दै पुरानो जिन्दगी र पुरानो दिनमा केहि परिवर्तन लिएर आउन तल्लिन हुन्छिन्।जस्ले फिक्का फिक्का लाग्ने दिनहरु पनि चिया जस्तै मीठो बनाउँछिन्।

हो, नारी त्यो पात्र हुन् , जसले जस्तोसुकै कठिन कार्य पनि धैर्यतासाथ पूरा गर्छिन्।

उन्को मन निकै कमलो हुन्छ। सिमलको भुवा जस्तै नरम उनी कहिले काहिँ कतै केही कुरामा डराउन सक्छिन्। त्यो डरलाई नदबाएर बुलन्द आवाजमा पाइला सार्छिन। तर उनी कहिल्यै डग्मगाउँदिनन्।

उनी निकै बहादुर छिन्। जोश-जाँगरले भरिपूर्ण छिन्। आँटिली छिन्। हिमाल जस्तै अटल छिन् उनी। उनको मन परिस्थिती या बाधाअर्चनले बेलाबखत झस्किन सक्ला, तर उनी आफ्नो मनको घाउमा मलम आफै लगाउँछिन्। ‍ खुशी हुँदा आफ्नो भागको खुशी अरुसँग साँट्न तयार हुन्छिन्। दुःखका आँसु नयनबाट बग्दा, त्यो आँसुलाई पनि उनी साहसीको नाम दिन्छिन्।

नारी त्यही पात्र हुन्, जो शक्तिशाली र सहनशिल कहलिन्छिन्।

 

पुरुष पात्रहरुले नारीलाई आमा बन्ने सौभाग्य पक्कै पनि दिएका हुन् तर यहाँ जन्म र जीवन केवल नारीले दिन सक्छिन्। सायद त्यसैले होला नारी विना न त कुनै घर नै चल्छ, न कसैले नयाँ जीवन नै पाउँछ। उनी विना न यो संसार कल्पना गर्न सकिन्छ, न त घर बसाउने आँट गर्न सकिन्छ।

पुरुष पात्रहरुको जीवनमा पनि नारीको ठूलो महत्व हुन्छ। सायद त्यसैले होला यहाँ नारी विना सबैकुरा नुन नहालेको तरकारी जस्तै खल्लो खल्लो भइदिन्छ।

 

तर नारीहरुलाई सजिलो कहाँ छ र जीउनलाई? नारीहरुले फुक्दै फुक्दै आफ्नो पाइला चालेको मैले देखेकी छु। अनेकन उत्पीडनहरु झेल्दै, मनको घाउ कति सजिलै ओठको कुनाको झुटो मुस्कानले छोपेको देखेकी छु। मैले नारीको संघर्ष देखेकी छु, जति खुड्किला उक्लिए पनि चुनौतीले पछ्याउँदै पछ्याउँदै उनीहरुलाई कतै पछारिदिएको पनि देखेको छु। अस्पतालमा व्यथाले पिरोल्दा लम्पसार छट्पटाएको देखेकी छु। हरेक महिना बग्ने गरेको त्यो रगतको रातो दागले लाचार बनाएको पनि देखेकी छु। मैले नारीहरुको स्वाभिमान बलजफत झकाइएको देखेकी छु, बलात्कारीले एक नारीको अस्मितामाथि खेलवाड गर्दै अस्तित्व लुटेको रहस्यमय किस्सा सुनेकी छु। रुपरंगमा मोहित हुँदा रिस वा आवेशमा एसिड प्रहार भएको पनि देखेकी छु। कतै कोहि बुढी आमामाथि बोक्सि आरोपमा कुटपिट गरेको देखेकी छु। मैले नारीहरुले यी सबै झेल्दै, भोग्दै आएको थाहा पाएकी छु। यो सबै हुँदा हुँदै पनि मैले नारीहरुले निस्वार्थ प्रेम र सेवा दिएको देखेकी छु, आफूले आफूलाई गुमाएर अरुलाई नयाँ जिन्दगी दिएको पनि देखेकी छु।आफूलाई नै त्यागेर अरुलाई सम्हालेको देखेकी छु। निकै उचाइमा पुगेर नारी पात्रले आफ्नो मात्र नभएर सबै नारीको नाम र इज्जत राखेको पनि देखेको छु।

 

चरा जस्तै स्वतन्त्र अझै छैनिन् उनी तर जब मौका मिल्छ, आफ्नो सपना पुरा गर्ने, आफ्नो मेहनत र लगनले सफलताको शिखर चुम्छिन् उनी। चलिरहेको समयसँगै चल्छिन् नारी। जतिसुकै ठूलो बोझ पनि सजिलै उठाइदिन्छिन् नारी। आफ्नो कर्तव्यबाट कदापी पछि हट्दिनन् उनी। नारी एक्लो भएर पनि सबैलाई सहानुभूति दिन सक्छिन्। नारी अविवाहित भएर पनि आफ्नो कर्तव्य पुरा गर्न सक्छिन्। घर परिवारको हेरचाह गर्न सक्छिन्। अशिक्षित हुँदा पनि आफ्नो आन्तरिक ज्ञान र शिक्षाले अरुलाई शिक्षा प्रदान गर्न सक्छिन् उनी। आफू विधुवा भएर पनि अरुलाई खुशी दिन सक्छिन्।

उनले चाहने हो भने यहाँ सबै कुरा बदल्न सक्छिन्। कापी, कलम र शब्दसँग खेल्दै उनी पनि आफ्नो कथा कोर्न सक्छिन्। आफ्नो नेतृत्व कलाले अरुलाई रुझाउन सक्छिन्। नारीलाई मौका दिनुपर्छ, उनी जस्तो कठिन परिस्थितिमा पनि संघर्ष गर्दै एक उदाहरणीय ,अनुयायी  र सफल पात्र बन्न सक्छिन्।

नारी एक भाग्यशाली पात्र हो जस्ले पल्टै पिच्छे नयाँ जीवन पाउँछिन् । जस्ले छोरी, बुहारी, आमा र धेरै पात्र एकै जीवनमा जिउन पाउँछिन्। जस्ले सबैको माया, ममता र स्नेह बटुलेर एकैपटक अङ्गाल्न पाउँछिन्। नारी एउटा यस्तो पात्र हुन् ,जो साँच्चै हरेक कामको लायक छिन्।

 

सोचाइ र भोगाइ नै हो जसले मानिसलाई महान बनाउँछ। र यहाँ यस्ता महान पुरुष पात्रहरु पनि छन् जस्ले नारीलाई  निस्वार्थ साथ दिएका छन्। पटक पटक सपना देख्न हौसला प्रदान गरेका छन्, उड्नलाई आफ्नै पखेँटा छन् भन्ने महसुस गराएका छन्। जसले नारीलाई हरेक काममा प्रोत्साहन दिएका छन्, जसले नारीलाई निर्धक्क विश्वास गरेका छन्।

केही पर्दा , सुन्नलाई कान दिएका छन्, सहयोग र सहायताको लागि हात अघि सारेका छन्, जस्ले आफ्नो हरेक कदममा नारीलाई सम्मान गरेका छन्। हो ती पुरुष पनि नारी जस्तै महान छन् जस्ले नारीलाई बुझेका छन्, जस्ले हरेक परिस्थितिमा पनि नारीको मान राखेका छ्न्।

नारी दिवस एउटा यस्तो दिन हो जहाँ ती महान पुरुषहरुले पनि नारीको कारण आफ्नो शिर उच्च भएको महसुस गर्न पाउँछन्। आफूले दिएको साथ र समर्थनमा गर्व गर्न पाउँछन्। एउटा यस्तो दिन जहाँ नारीले आफ्नो पहिचानलाई मनमस्तिष्कमा अङ्गाल्छिन्। एउटा यस्तो दिन जहाँ हरेक नारीले गर्वका साथ म नारी हुँ भन्छिन्। एउटा यस्तो दिन जुन दिनबाट उनले आफूले आफूलाई अझ शक्तिशाली र बहादुर मान्छिन्। नारी दिवस साँच्चै एउटा नारीको शक्ति हो!

 

A message to all men and women,

“Thanks to all the men,

Who really make women feel blessed,

Who make women feel special in their own way,

Who appreciates, motivates, supports and think that women are no less!!

Also,

Happy women’s day to all the women,

Who have been selfless, kind, brave, loveable , strong, giving, compassionate and fighter throughout their life..!!”

 

 

You may also like: 

मरेर गएनि कहिल्यै नमर्ने मान्छे! | Written by Muskan Pandey

 

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

 

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *