कोरोना
काठमाडौँको ठाउँमा दुई वटा कोठा अनि परिवार सदस्य चार । कहाँ सोचे झै सजिलो हुन्छ र कोठे जीवन।
केही दिन अघिको मात्र हो कुरा । त्यो दिन सम्झदा अझैँ यी आँखा रसाएर आउछन् अनि मुटु काप्न थाल्छ। त्यही डर लाग्दो पल यो मस्तिष्कबाट हटाउन यी पानामा कोर्दै छु ।
मुटु झसङ्ग भयो, आकाश नै खसे झै लाग्यो मलाई जब बुबालाई कोरोना पोजेटिभ देखायो । हामी बिचल्लीमा पर्यौ । होम आइसोलेसनमा राख्ने ठाउँ पनि व्यवस्थित थिएन। एका तिर डराएको मन अनि अर्को तिर कोरोना पोजेटिभ देखाउदा सहनुपर्ने अपहेलनाको चिन्ता । हामी नचाहेर पनि मौन बस्न बाध्य भयौँ। तर लापरबाही गरी अरुको ज्यान जोखिममा राख्न कहाँ सक्थ्यौँ र? त्यसकारण बुबालाई सञ्चो नभएको बहाना बनाइ अन्य व्यक्तिहरूलाई बुबा बस्नु भएको कोठामा पस्न निषेध गरिदियौँ।
बुबाको अफिसमा उहाँलाई राख्न आइसोलेसनको निर्माण गरिदै रहेछ। त्यसैले हामीले धेरै होहल्ला गर्नु उचित ठानेनौँ । दिदीको पिसिआर टेस्टको रिपोर्ट आयो। नेगेटिभ थियो। अलि हल्का भयो हामीलाई। अब डर मम्मीलाई कोरोना पोजेटिभ नदेखियोस् मात्र थियो। बरु मलाई देखाए म जसो तसो कोरोनासँग लडौँला । मैले हिम्मत जुटाएँ ।
भोलिपल्ट मम्मी र म पिसिआर गर्न गयौँ। टेस्ट गरेर घर फर्कदा म आतिएँ। घर बाहिर मानिसहरूको भिड लागेको रहेछ। बुबाले सबै सचेत होउन् भनेर आफू कोरोना पोजेटिभ भएको खुलासा गरिसक्नुभएछ। यो कुरा फैलिएपछि सबै ममाथि ओइरिन थाले । दिदी अफिसमा
आइसोलेसन निर्माणको काममा व्यस्त हुनुहुन्थ्यो।
मम्मी भने कान सुन्नुहुन्न । उहाँलाई थाहै छैन संसारिक कुरा। उहाँ मलाई परबाट टुलुटुलु हेर्दै हुनुहुन्थ्यो। कोरोनाको पहिलो स्टेज भएकोले बुबाबाट अरुलाई सर्ने डर भने थिएन। डाक्टरले पनि होम आइसोलेसनमा दुई हप्ता सकेपछि निको हुने बताउनुभएको थियो । तर मलाई सबैले नानाभाँती भने ।
चित्त त तब दुख्यो जब तिमीहरुले गरेर टोल नै सखाप हुन्छ सम्म भने।
एकछिन त जवाफ दिँदै थिएँ म तर अर्को छिनमै कम्जोर परे। म एक्ली थिएँ अनि ममाथि खन्निने धेरै। म निकै कमजोर परे ।
म झसङ्ग तब भएँ जब एकजनाले वडामा फोन गरेर बुबालाई लिन आउन भन्नुभयो। म आतिएँ किन कि मैले हजारौं समाचार सुनेको थिएँ सरकारी आइसोलेसन वार्डमा विरामीको हेरविचारमा लापरबाही हुन्छ भनेर । मैले त्यस्तो नगर्नुस् बुबालाई अफिसबाटै लिन आउनु हुन्छ भनेर आग्रह त गरे तर मेरो कुरा कसैले मानेनन् ।
बुबालाई उता भुईमा डस्ना मात्र ओछ्याएर राखिएको रहेछ। अनि नानाभाती सुनाउदै रहेछन्। बाहिर त बलियो भएको प्रदर्शन गर्दा गर्दै मैले आफूले आफैंलाई सम्हाल्नै सकिन र भित्र गएर भकानिएँ।
मम्मी के भयो भन्दै प्रश्न गर्दै हुनुहुन्थ्यो। मैले मम्मीलाई पीडा पोख्न सकिन न त बुबालाई सहानुभूति दिन नै सके। त्यतिकैमा दिदीको साथी आइपुग्नुभयो। उहाँले मलाई के भयो? भन्दै प्रश्न गर्नुभयो। निकै कमजोर परिसकेको म उहाँलाई देख्नासाथै अङ्गालो हालेर रुन थाले। अनि सबै कुरा बताएँ।
मेरो कुरा सुनेपछि दिदीले मलाई नडराउ भन्दै सहानुभूति दिन थाल्नुभयो। अनि मैले मेरो दिदीलाई फोन गरेर रुँदै सबै कुरा बताएँ। मेरो कुरा सुनेपछि दिदीले मलाई नरु म आउदै छु भन्नुभयो।
केही समयपछि दिदी सर अनि सेनिटाइजर गर्ने मान्छे लिएर घर आइपुग्नु भयो । बुबालाई अर्को गाडीमा हालेर लैजानुभयो। साथै घर पुरै सेनिटाइज गर्न लगाउनुभयो। सर र दिदी आउनु भएपछि हिम्मत नै हारी सकेको ममा हिम्मत आयो। सर अउनुभएपछि सबैको मुख बन्द भयो। म र दिदी पनि अफिसमा बुबालाई बस्ने आइसोलेसनको बन्दोबस्त गर्न गयौँ।
हामी घर फर्कदा रात परिसकेको थियो। मम्मी त घरमा रोएर बसिरहनुभएको रहेछ। दिदी र मैले बल्ल-तल्ल मम्मीलाई सम्झायौँ । केही समयपछि घरबेटी अंकल अनि आन्टीले पनि फोन गरेर सहानुभूति दिए झै गर्नु भयो। तर हामीलाई व्यवहारमा भने केही भिन्नता थिएन।
हामीलाई अछुत झै व्यवहार गरियो। आज हाम्रो पनि रिपोर्ट आयो । रिपोर्ट नेगेटिभ छ तर पनि यो घर अनि यो टोलमा हामीलाई हेर्ने नजर अझै उहि छ। बुबा आइसोलेसनमा हुनुहुन्छ अनि मलाई थाहा छ छिट्टै घर पनि फर्किनुहनेछ ।
भन्नुपर्दा कोरोना हामी जो कोहीलाई पनि लाग्न सक्छ। जुन व्यवहार आफू सहन सक्दैनौँ त्यो व्यवहार अरुलाई पनि गर्न हुँदैन।
आजभोलि मलाई कोरोनादेखि हैन मान्छेहरू डर लाग्न थालेको छ। सबैसँग हास्ने बोल्ने म आज कोठामै थुनिएकी छु । मानव शरीर तर मानवताहिन व्यवहार प्रदर्शन गर्ने समाजदेखि घ्रिणा लाग्छ। कोरोना पोजेटिभ भएको मानिस र परिवारलाई कुनै अपराधी झै व्यवहार गर्ने यहाँका मान्छेहरु पिसिआर नै नगरेको मानिससँग भने नारिएरै हिड्ने गर्छन्।
यो कुन किसिमको मानवता हो? यो कस्तो रोग आइपरेको संसारमा?
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments