“गाँउघरमा डुलेको, झुलेको मन” | Muskan Pandey

मान्छे

“गाँउघरमा डुलेको, झुलेको मन” | Muskan Pandey

सहरमा जन्मेको हुर्केको मानिसलाई गाउँघर मनपर्छ। भनिन्छ नि जे कुराको अभाव हुन्छ त्यही कुराको चाह बढी हुन्छ। हो, ठ्याक्कै त्यस्तै !

सहरमै जन्मेको हुर्केको भएर होला गाउँठाउँको भाषाशैली, जीवन जिउने तरिका, हरियाली वनपाखा, डाँडाकाँडा, खोलानाला, खेतमा झुलेका धानका बाला अनि त्यही धर्ती माथि सेतो कपासजस्तै बादलले ढाकेको निलो आकाश साह्रै रोचक लाग्ने गर्दछ। जस्मा यो मन भुल्न खोज्छ।

पानी पर्दा माटोको सुगन्धले एउटा बेग्लै मीठो आभास दिलाउँछ। त्यसैले आफ्नो मन डुलाउन, त्यही रमणीय दृश्यमा मनलाई झुलाउन साथै बूढो हुनुभएका आमाबुवाको मायामा हराउन निकै प्रिय लाग्छ। त्यसैले गाउँठाउँको भ्रमण गर्न मलाई निकै खास लाग्छ, एउटा छुट्टै जिन्दगी पाए जस्तो लाग्छ।

काठमाडौंदेखि गाउँसम्मको यात्रामा कति गोरेटो र कति घुम्तिहरु कट्छन पत्तो पाइदैन।

गाडीभित्र बस्दा झ्याल बाहिरको मनोरम दृश्यले न त निन्द्रा नै लाग्छ न त अल्छी। घुम्ती कटेको र ओर्लिने समय आएको चाल पाइँदैन। गाडीबाट ओर्लिएपछि बजारमा मानिसको भिँडभाँडबाट घुस्रदैँ घुस्रदैँ, मानिसको भिँडलाई पन्छ्याउँदै हिँड्नु पर्ने लामो बाटो पनि कत्ति लामो लाग्दैन। चाहे घाम चर्केको होस या पानी दर्केको नै किन नहोस्।

लामो यात्रा पछिको हिँडाइ कहिल्यै पुलमा गएर रोक्किन्छ त कहिल्यै चौतारीको शितल छहारी मुनि थकाइ मारेर। खोलाको आकृती र आवाजमा चरम आनन्द महसुस गर्दै कहिल्यै खोला तर्दा आउने छ्याप्ल्याङ्ग छुप्लुङ्ग आवाजमा खुशी हुँदै, कहिले हिँड्दै, बिस्तारै ती रुखका छहारीले छेकिँदै, सुकेका पातमा कुल्चिँदै, पाइलाको चालसँगै सुकेका पात र घना जङ्गलको अजिव आवाज सँगै गोरेटोको खाल्डाखुल्डीमा जमेको तालसँगै आफ्नो ताल मिलाउँदै म बेलाबखत गाउँघर डुल्ने गर्छु।

गाउँघर एउटा छुट्टै संसार जस्तै लाग्छ जहाँबाट आँखा लोभ्याउने विशाल फाँट देखिन्छ।

आफै उत्पन्न भएको देवताको मन्दिरमा गुनगुनाइने भजन,आरतीसँगै बालिने बत्ती र बज्ने घण्टीले कान, मन अनि पुरै स्थल नै पवित्र बनाउने गर्दछ।

र त्यही देवतालाई पुज्ने मानिसहरुले नै गाउँको अस्तित्व बोकेको हुन्छ। कोहि सेतो कमिज र धोतीमा, कोहि दाउरा-सुरुवाल अनि टोपीमा। कोहि रातो धोती, पटुकी ,चुरा अनि श्रृङ्गारमा। कोहि सादा कुर्ता अनि सुरुवालमा अनेकौँ भेषभुसाले सजिएको हुन्छ गाउँठाउँ।

कोहि बाहुन, कोहि क्षत्रि, कोहि राई त कोहि मगर अनेकौँ जात र एकताले भरिएको मध्यम वस्ति हुन्छ गाउँ।

यहि गाउँमा बस्ने थरिथरी मानिसका थरि थरी कहानी हुन्छन्। तर बाँच्ने शैली एउटै।

बिहान झिस्मिसेमै, घाम पनि नझुल्किँदै गाउँका मानिस बिउँझिसकेका हुन्छन।

यहाँ मानिसको दिनचर्या खेतिपाती गरेर बित्छ। कहिले ती खोलानालालाई पन्छ्याउँदै, घाँसदाउराको भारी बोकेर दगुर्छन, कहिले रातो माटो, चिप्लो बाटो हुँदै गाई, भैँसी अनि बाख्राहरुको पछि लाग्छन्।

काम गर्दै गर्दा थाकेर थकाइ मेट्न बस्दा त्यहि रुखका छहारि अनि कलकल बगेका कुलोहरुको आवाजसँग मनमा गुन्जिएको मीठो धुन ठोक्किन पुग्छ। यहाँका पाखापखेराहरु मानिसको साथी बन्छ्न्।

दुःख, सुखको पोको सँगै यहाँका मानिस रङ्गिन सपना बोक्छन्।

कहिलेकाहीँ साँझपख एकै घरमा भेला भएर चियाको बाफमा रमाउँदै, फल्याकमा बसेर मीठो गफ गरेको सुन्दा र हेर्दा पुरै गाउँ नै एउटा परिवार जस्तो लाग्छ।

र केही दिन त्यहाँ रहँदा गाउँ अनि त्यहाँको मानिससँग एउटा मीठो र सुमधुर सम्बन्ध गाँसिए जस्तै लाग्छ।

चन्द्रमा र जुनकिरीको उज्यालो मिसिएर छरिएको प्रकाश जस्तै बेग्लै र सुन्दर लाग्ने गर्दछ मलाई गाउँघर।

शरिरमा नयाँ जोस, जाँगर उमङ्ग अनि मुहारमा बेग्लै र नयाँ खुशी उदाए जस्तै लाग्छ। यसै कारणले होला सायद सहरमा भन्दा गाउँघरमै मेरो मन डुल्ने गर्छ। यहाँकै यथार्थमा भुल्ने गर्छ। गाउँघरमै रम्ने गर्छ अनि हरेक आकृतिमा झुल्ने गर्छ।

सायद त्यसैले नै होला मलाई गाउँघरको माया बढी लाग्ने गर्छ।

मुस्कान पाण्डेका अन्य रचनाहरु पढ्नुहोस।

रहस्यमय कहानी हो जिन्दगानी ! Muskan Pandey

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *