रातो | Poem by Prajeena Shrestha
मलाई सबैभन्दा मनपर्ने रातो रङ्ग ।
म सानो छँदा बाबाले ल्याइदिएको रातो जामा खुलेर आउथ्यो मेरो शरीरमा
निकै सुन्दर देखिन्थे रे म
आमाले दुई चुल्ठी बाटिदिई, रातो रिबन मेरो शिरमा बाधिदिँदा
उल्लासमय भै नाच्दै, गाउँदै हिंड्थे रे म
रातो मलाई मनपर्ने रङ्ग ।।
उसले मलाई रातो गुलाफ दिँदा
लाजले राता भएका मेरा गालाहरु
अनि उसले रातो सिन्दुरले मेरो सिउदो भर्दा
रङिएको, हुर्किएको मेरो मायाका बालाहरु
उ अनि म , रंगिन दुबै
किनकी रातो मेरो मन पर्ने रङ।।
रातो मेरो मनपर्ने रङ
तर जब त्यही रातो रङ्ग मेरो शरीरबाट बग्न थल्यो, अपवित्र भए रे म
जुन रातो जामा लगाएर, म आमाको हात समाउदै मन्दिर जान्थे
सोही रातो रङ्गले मन्दिर पस्नबाट बन्चित भए म
तर पनि मेरो अस्तित्व बोकेको रङ्ग
रातो , मेरो मनपर्ने रङ्ग ।।
बाबाले किनिदिएको रातो जामा, रातो साडीमा बद्लियो
आमाले बाधिदिएको रातो रिबन, सिन्दुरमा
उसले दिएको रातो गुलाफ, ओइलिएको भावनामा बद्लियो।
रंगिन हाम्रो सम्बन्ध, खै कस्तो गुरुरमा टुंगियो।
उसैले दिएको मायाको चिनो रातो चुरा
उसैद्वारा तोडिएर छरिएका छ्न् मेरो वरिपरि
त्यही राति, त्यो रातो चुरालाई संघाल्दै
यी राता आँखाबाट झर्दैछन् आशुहरु
के साच्चै रातो मेरो मन पर्ने रङ्ग ??
Image by Vishnu Vijayan
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com