म पूर्ण होस हवासमा
मेरो भयंकर दुश्मन
म स्वयंलाई घोषणा गर्दछु ।
म आफैं मेरा सपनालाई
चुरोट जसरी सल्काइरहेछु
पृथ्वी फोहोर गर्न
ठुटाहरूद्वारा योगदान गरिरहेछु ।
मेरा आकांक्षाहरूलाई
गुट्खा खाएर
पिचित्त-पिचित्त थुक्दै
भित्ताहरू कुरुप बनाइरहेछु ।
घाँसको प्रलोभनमामा
हरेक विहान वधशालामा
उभिएको छु ।
म रिसाउँछु हावाहरूसँग
किन फोक्सो चलाउन आइपुग्छ निरन्तर
अनि रिसाउँदै खाना बटुल्न
कारखाना दौडिन्छु ।
रिसाउन थालेको छु
पसिना स्वादिलो मानेर खाने
तर
मजदुरको पसिना सुँघ्दा नाक खुम्चाउने
मालिकका नाकहरूसँग
सबैभन्दा बढी रिस उठ्छ
आफ्ना पेटहरूसँग
जसले मेरो विद्रोहको अवाजलाई
लम्पसार बनाउँछ ।
जिन्दगीको ढाड यस्तो ठाउँमा चिलाइरहेछ
जहाँ कन्याउनलाई हात पुग्दैन ।
Read More From Janak Karki:
क बाट कलम ! जनक कार्की | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

