(तपाईंले आफ्नो जीवनमा भोगेका अविश्मरणीय क्षणलाई Offline Thinker मा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई लेखी पठाउनुहोला। Offline Thinker मा तपाईंको लेख, रचना, कविता, जीवन भोगाइ र सफलताका कथाहरूलाई प्रकाशनको लागि उचित स्थान दिइने छ। हाम्रो इमेल connect.offlinethinker@gmail.com हो )
वि.सं. २०६२–६३ साल तिरको कुरा हो । १० वर्षे द्वव्दकाल चलिरहेको थियो । चारैतिर कर्फ्यु लागेको हुन्थ्यो । स्याउँस्याउँती मान्छे मरेको र मारिएका घटना समाचार हुन्थ्यो । प्रत्येक बिहान सूर्यका किरणहरू चुनौती लिएर उदाउँथ्यो ।
बाटोमा हिंड्दा सिंहदरबारको गेटमा सुरक्षा प्रदान गर्ने सुरक्षागार्डहरुले पनि भन्थे ‘दिदी पिलिज मान्छे मारेको समाचार अब प्रसारण नगरिदिनु होला । यस्तो समाचार सुन्दा–सुन्दा मनमा हरपल एक प्रकारको डर त्रास छाईरहन्छ ।’
म त्यतिबेला रेडियो नेपालमा समाचार सम्पादक र समाचार बाचिकाको रूपमा कार्यरत थिएँ । कर्फ्युको समयमा पनि ज्यान जोखिममा राखेर कार्यलय पुगी पत्रकारिताको भूमिका निभाउनु आफ्नो दायित्व सम्झिन्थें । कहिले राति अबेरसम्म खटिनुपर्थ्यो । कहिले भोक प्यास बिर्सेर दिनभरी समाचार पस्किनु पर्थ्यो ।
जनआन्दोलन अन्तिम चरणमा पुगेको दिनको कुरा हो ।
धेरैजसोझैँ त्यो दिन पनि कर्फ्यु लागेको थियो । मलाई रेडियो नेपालको लेनलाइन नम्बरबाट फोन आयो । हरिशरण लामिछानेले गर्नुभएको थियो ।
‘बिनिता जी, आज साथीहरू आउन मुस्किल नै देख्छु, तपाईं भने तयार भएर बस्नु होला । टाढा-टाढा बस्ने साथीहरु आउन सक्ने सम्भावना एकदमै कम छ । तपाइलाईं लिन गाडी आउदैछ’ भन्दै लामिछाने जीले फोनको रिसिभर राख्नुभयो ।
मैले पनि सोँचे– अन्य साथीहरूको घर–डेरा टाढाटाढा छ । यस्तो बेलामा उहाँहरू आउन सम्भव नहोला ।
त्यतिबेला म मैतिदेवी बस्थें । मेरो घरबाट अफिस आधा घण्टाको दुरी मात्र थियो । आफूलाई जुनैबेला पनि फोन आउन सक्ने ठानेर म खाना खाएर तयार हुन लागेँ । केही बेरमा पुनः फोन आयो ।
फोन उठाएको मात्र के थिए लामिछाने जीले बोलि हाल्नुभयो– ‘बिनिता जी, अफिसको गाडी पठाउन नमिल्ने भयो । तर तपाईं चिन्ता नगर्नु । तपाईंलाई लिन पुलिसको गाडी आउँदैछ है ।’
यति भनेर उहाँले फोन काटिदिनुभयो ।
लामिछाने जी बिहानी सेवामा समाचार पढ्नुहुन्थ्यो । म दिउँसोको सेवामा कार्यरत थिएँ । गाडी जुनैबेला आइपुग्नसक्ने ठानेर म हतारहतार झोला बोकेर घरबाट निस्किएँ ।
मेन गेट पुगेपछि ‘म गएँ है’ भनेर कराउँदै गल्लीबाट रोडतिर लागेँ ।
हाम्रो मैतिदेवीको डेराबाट मूख्य सडक झन्डै ५०० मिटरको दुरीमा थियो । अफिस पुगेर कर्म गर्न तयार आत्मबल लिएर रोड पुगेकी मात्र के थिएँ नजिकै उभिएका एक आर्मीले मलाई बन्दुक तेर्साउदै पछाडि हट्ने संकेत गरे ।
सुरूमा मैले उनको इशारा बुझ्नै सकिँन । म जसै पाइला टेक्दै अघि बढेँ, ती आर्मी मलाई पछ्याउँदै पछि आए । पछाडी फर्किएर हेरेको के थिएँ उनले आफ्नो राइफल मेरो निधारमा सोझ्याइदिए ।
त्यो क्षण यति भयपूर्ण थियो कि मेरो दिमागले काम गर्नै छोड्यो । सात्तो नै गयो । मेरो ओठबाट न केही आवाज निस्कियो, न शरिरको कुनै भाग चल्यो । ढुंगासरी ५ सेकेन्ड टोलाएर उभिएँ । अब त मरिने भयो भनेर परिवारका सबैलाई सम्झिएँ । अबोध दुधे कान्छो छोरोको अनुहार झल्झल्ती याद आयो ।
ती आर्मीले दुई पाइला अघि सारे अनि म ४ कदम उल्टो गरी पछि सरें । भुईतिर मुन्टो फर्काएर म सरासर जताबाट आएको थिएँ उतै लागे । घर आगनभित्र पसेर ढोका लगाएपछि बल्ल ती आर्मीले आफ्नो बन्दुक तल सोझ्याइ रोडतिर लागे ।
मेरो मुटुको धड्कन बढेर ढुकढुक गर्दै पड्किन मात्र बाँकी थियो । डराएर मेरा हात गोडा काँपीरहेका थिए । मुख जिब्रो सुख्खा भएर प्याकप्याक भएका थिए । त्यतिकैमा मेरो श्रीमानले मलाई देख्नुभयो र झ्यालबाट कराउनुभयो ।
‘अफिस निस्किएँ भनेकी मान्छे अझै यतै छौ ? किन नगएकी ?’
श्रीमानको आवाज सुनेपछि बल्ल म होसमा आएँ । दौडिएर कोठामा गएँ र पानी पिउँदै सबै घटना श्रीमानलाई विस्तार गरी सुनाएँ । अनि उहाँले सोध्नुभयो– ‘तिमीले रेडियो नेपालको पास देखाएनौ त ?’
‘घाँटीमा रेडियोको पास झुन्ड्याएर दुबै हातलाई माथि उठाएर आर्मीसमक्ष आत्मसमर्पण गर्दै अघि बढ । केहि हुँदैन, नडराउ !’ उहाँले यसरी भन्नुभयो मानौं म अगुल्टोले हानेको कुकुर हो र विजुली देखेर तर्सिरहेको थिएँ । अथवा ढुगेधारामा पानी भर्न जाँदा कुकुरदेखि डराएकी हुँ …।
अरूको श्रीमान हुँदो हो त अफिस नजान भन्दै अंगालोमा लपेट्थे होला, घरैमा बसेर छोराहरूसित खोल्न भन्थे होला । नजाउ जोखिम मोलेर भन्थे होला ।
आफ्नो श्रीमानबाट त्यस्तो प्रतिक्रिया सुन्दा एक छिन रिस पनि उठ्यो तर यत्तिको साहस दिएकोमा हिम्मत पनि जुट्यो ।
बाहिर खेल्दै गरेका मेरा दुई सानासाना छोराहरूको अनुहार राम्ररी हेरेँ । फर्केर घर आउन पाउँछु कि पाउँदैन ? फेरी यी अबोधहरुलाई भेटन पाउँछु कि पाउँदैन ? यस्ता प्रश्नहरु मनमा उब्जिरह्यो । सानो छोराले अलि रुन्चे मुख लगाएर मलाई समाउन खोज्दै थियो। तर ठूलोले हाँस्दै ‘बाइबाइ’ गरेको देखेर आँखाभरी आँशु निस्किए पनि दुबैजनालाई हाँस्दै बाइबाइ गरेँ । अनि म हिम्मत गर्दै गेटबाट पुनः बाहिर निस्किएँ ।
श्रीमानको निर्देशन बमोजिम घाँटीमा रेडियो नेपालको परिचयपत्र झुण्ड्याएर हातमाथि उचालेर रोडतिर लागेँ ।
हातमाथि राखेको देखेर सोही आर्मी म नजिक आए र मैले भिरेको पास हेरे । रेडियो नेपाल लेखेको देखेपछि बल्ल उनी सहज देखिए ।
‘यस्तो कर्फ्यु लागेको बेला कसरी अफिस जानुहुन्छ?’ उनले सोधे ।
‘मलाई लिन चोकमा पुलिसको गाडी स्कर्टिङ गरेर आउदै छ रे’ भनेँ । यति भनेपछि उनले मलाई चोकसम्म पुर्याउन आए । हामी दुबैजना खाली-खाली अनि सुनसान सन्नटा सडकमा उभिइ रह्यौं । म डराएकी थिएँ, उनी चनाखो भएर वरिपरि हेर्दै थिए ।
यतिकैमा मलाई लिन पुलिसको गाडी आइपुग्यो । गाडीमा बसेर आर्मीलाई धन्यवाद दिँदै अफिसतिर लागेँ । बाटोभरी कसैसित केही बोलिन । खाली रोड भएको कारण हामी ७–८ मिनेटमै अफिस पुग्यौ ।
अफिसमा दिउँसो सेवाका कोही साथी पनि आउनुभएको थिएन । समाचार महाशाखामै म मात्रै अनि केही टेक्निसियन साथीहरू मात्र थियौं । मैले एक्लै १२ बजेको समाचार र लगत्तै प्रविन गिरी सरको नेतृत्वमा हाम्रो ५-६ जनाको टिमले सार्क राष्ट्रको समाचार बनायौं । १२ बजेको समाचार पनि पढेँ । अनि सार्क समाचार प्रविन सर र मैले मिलेर पढ्यौं ।
अफिसको तत्कालिन डाइरेक्टर धनेन्द्र विमल सर आउनुभयो र रेडियो नेपालमै न्यून जनशक्तिले काम गर्नु परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले धेरै गाह्रो नहुने गरी थोरै थोरै समाचार पढ्न आग्रह गर्नुभयो । मलाई भने आफ्नो क्षमतामा निखार ल्याउनु थियो । मैले हुन्छ भन्दै १ बजेको समाचारको तयारी गर्न लागें । प्रविन सरले मेरो प्रोत्साहन बढाउर्दै, डाइरेक्टरसंग ‘सक्छिन’ भनेर विश्वाश दिलाउनुभयो ।
१ बजेको बुलेटिनमा मैतिदेवी चोकमा बम पड्किएको समाचार आयो । म स्वयमःले पढेँ । समाचार पढेर बाहिर निस्किएपछि आफू एक घण्टा अघि गाडी कुरेकै ठाउँमा बम पड्किएको भनेर खबर पाएँ ।
अफिस आइपुगेर बाँचेको कुराको भान गर्दै आफूलाई धन्य माने । ज्यान जोगिएकोमा इश्वरलाई सम्झिएँ । आफ्ना अबोध बच्चाहरुलाई टुहुरो हुनबाट जोगाएकोमा भगवानलाई धन्यवाद दिएँ । पुनः श्रीमान र छोराहरूलाई सम्झिएँ ।
अनि बाँकी दिनभरीको समाचार बनाउन लागे । त्यो दिन म एक्लैले रेडियो नेपालको दिउँसो सेवाको १२, १, ३, ४ र ५ बजेको समाचार गरी ५ वटा बुलेटिन तथा सार्क समाचार बाचन गरेकोमा गर्व गरेँ । समयमै सबै काम भ्याएर मलाई पुलिसको गाडीले पुनः घर छोडिदियो ।
द्वन्द्वकालमा यस्ता डरलाग्दा घटना कति भोगियो–भोगियो । आज फर्केर ती दिन सम्झिँदा सपना जस्तै लाग्छन् ।
ती आर्मीले बन्दुक निधारमा तेर्साएको सम्झिँदा आज पनि आङ सिरिंग भएर आउछ । तर श्रीमानले दिनुभएको हिम्मत र साथ सम्झिँदा गौरव महसुस हुन्छ ।
नेपालमा २०६२-०६३ सालमा राजनीतिक परिवर्तनका लागि जनता स्वंम्ले लडेका थिए । त्यसअघिका हरेक आन्दोलनका भने आआफ्नै विशेषता रहेका छन् । तर उक्त आन्दोलनलाई अहिलेसम्मकै विशाल सफल आन्दोलन मान्न सकिन्छ ।
जुन जनक्रान्ति राजनीतिक पार्टीले भन्दा आमनागरिकले नेतृत्व गरेको आन्दोलन थियो । जनआन्दोलन भाग-२ को नामले चिनिने २०६२ चैत्र २२ देखि ०६३ वैशाख ११ सम्म चलेको निर्णायक चरणमा भएको आन्दोलनमा २० जनाको मृत्यु भएको थियो ।
प्रत्येक बिहान सूर्यका किरणहरू चुनौती लिएर उदाउथे ।
प्रचण्ड गर्मीको तापमानमा राजनीतिक अधिकार र समुन्नत समाज निर्माणका लागि जनता सडकमा उर्लिन्थे । राजनीतिक पार्टीका नेता÷कार्यकर्ताको उपस्थिति न्यून रहेको त्यसबेला सर्वसाधारण जनता उपस्थिति भई निस्वार्थरूपले लडेका थिए । कतै पनि स्वार्थ देखिँदैनथ्यो । ती मजदूरहरू अहिले पनि स्वार्थरहित नै छन् ।
(रेडियो नेपालसँग जोडिएका मेरा यस्ता अनेकन कथाहरू आउने दिनमा क्रमबद्ध रूपमा पस्किने छु….।)
Read More From Deokhurni:
Read More From Deokhurni:
Read More Travel Stories From Offline Thinker:
Read More Nepali Story at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

