शिक्षक  | कविता | राहुल | Offline Thinker

शिक्षक
बिहानै उठ्नु दौडिनु जानु दुःख छ बेसरी
गरेर  काम  खाँदा नि हेर्छौ लुटेको जसरी
विद्यार्थी राम्रो भएमा आफै प्रगती गरेको
नराम्रो  भयो  बिग्रियो भने शिक्षक परेको ।।। १
महिनौँ  कुर्नु  पर्दछ  आफ्नै  तलब  लिन  नि
सबैको सक्दा सक्दैन राज्य हामिला दिन नि
गाउँका  कुना काप्चामा पुगी ज्ञान यो छर्दछौँ
सन्तान सम्झी  ससाना बच्चा स्याहार गर्दछौँ ।।। २
भर्र्याङ   बनी  पुर्यायो  माथि  सफल  बनायो
सबैको भलो सोँच्दा नि किन त्यो रिस खनायो
सफल   अन्त   नभइ   यता   आएको    भनेर
सजिलो   भए   देखाउ   आउ   शिक्षक   बनेर ।।। ३
जलेर   आफू   छरेर  दियो   समाज  भरिमा
कसैले   किन  कहिले  बुझ्न  सकेन  गरिमा
आजका नेता हिजोका पनि शिक्षक थिए त
भएसी  मन्त्री  पक्षमा  हाम्रो के कति दिए त ।।। ४
जंगल  जाने  पार्टी  नि  हाम्रै पैसाले पालिन्छ
चुनाव जित्छ गोजीका माग च्यातेर फालिन्छ
देखाइ  आशा अनेक अनि धम्कीको बोलीले
पर्दछ   मर्नु   शिक्षक   पैले   युद्धको  गोलीले ।।। ५
सम्मान  गर्न  सक्दैनौ  घृणा नगर्नु कहिले
सजिलो कत्ति रहेछ जल्न भोग्नु त पहिले
विकल्प  अरु नदेखि यता आएका होइनौँ
जागिर  अरु  नसकी  यता खाएका होइनौँ ।।। ६
छोडेर   जाउँ  लाग्दछ  सधै  अरुनै  ठाउँमा
सोँच्दछु फेरि छोडेसी मैले के होला गाउँमा
विदेश   जाने  लहर  चल्दा  उतैको  बतास
विरक्त  लाग्छ  सम्झेर गाउँ हुन्छु नि हतास ।।। ७
शब्द ::: राहुल
छन्द ::: झ्याउरे
Read More Poem From Rahul:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *