बिहानै उठ्नु दौडिनु जानु दुःख छ बेसरी
गरेर काम खाँदा नि हेर्छौ लुटेको जसरी
विद्यार्थी राम्रो भएमा आफै प्रगती गरेको
नराम्रो भयो बिग्रियो भने शिक्षक परेको ।।। १
महिनौँ कुर्नु पर्दछ आफ्नै तलब लिन नि
सबैको सक्दा सक्दैन राज्य हामिला दिन नि
गाउँका कुना काप्चामा पुगी ज्ञान यो छर्दछौँ
सन्तान सम्झी ससाना बच्चा स्याहार गर्दछौँ ।।। २
भर्र्याङ बनी पुर्यायो माथि सफल बनायो
सबैको भलो सोँच्दा नि किन त्यो रिस खनायो
सफल अन्त नभइ यता आएको भनेर
सजिलो भए देखाउ आउ शिक्षक बनेर ।।। ३
जलेर आफू छरेर दियो समाज भरिमा
कसैले किन कहिले बुझ्न सकेन गरिमा
आजका नेता हिजोका पनि शिक्षक थिए त
भएसी मन्त्री पक्षमा हाम्रो के कति दिए त ।।। ४
जंगल जाने पार्टी नि हाम्रै पैसाले पालिन्छ
चुनाव जित्छ गोजीका माग च्यातेर फालिन्छ
देखाइ आशा अनेक अनि धम्कीको बोलीले
पर्दछ मर्नु शिक्षक पैले युद्धको गोलीले ।।। ५
सम्मान गर्न सक्दैनौ घृणा नगर्नु कहिले
सजिलो कत्ति रहेछ जल्न भोग्नु त पहिले
विकल्प अरु नदेखि यता आएका होइनौँ
जागिर अरु नसकी यता खाएका होइनौँ ।।। ६
छोडेर जाउँ लाग्दछ सधै अरुनै ठाउँमा
सोँच्दछु फेरि छोडेसी मैले के होला गाउँमा
विदेश जाने लहर चल्दा उतैको बतास
विरक्त लाग्छ सम्झेर गाउँ हुन्छु नि हतास ।।। ७
शब्द ::: राहुल
छन्द ::: झ्याउरे
Read More Poem From Rahul:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com
Facebook Comments

