-मुस्कान पाण्डे
यहाँ कथा थुप्रै हुन्छन् र त्यस्तै लकडाउन पनि अब एउटा कथाको लागि विषय बनेको छ। कोहि सुखको गीत गाउँथे, कोहि दुःखको झ्याली पिट्थे,कोहि मीठो सपना देख्थे,कोहि संघर्ष गर्न रुचाउँथे,घामको किरण पनि देखिन नपाइ मान्छे आफ्नो कामतिर दौडन्थे, साँझ पनि छिप्पिएर रात भएपछी आफ्नो घर फर्कन्थे। रमाइला पल गाँस्ने समय कसैको थिएन। आफ्नै संसारको रमझममा हराउँथे । यहाँ यो व्यस्ततामा फुर्सद कसैलाई थिएन। मानिस आफैमा एक कला थिए, सडक ,बजार, विद्यालय, कार्यलाय, अस्पताल आफ्नो कला देखाउने मेला पनि जताततै लागेको हुन्थ्यो । तर आज किन हुँदैन कही कतै मानिसको भेला ? किन सबैतिर छाएको छ सन्नाटा ?? कसरी अचानक दिनचर्या बद्लिन पुग्यो ? खोइ के मा रमाउँदै छन्, के मा हराउँदैछन् त अहिलेको समयमा मानिस ??
लकडाउन भएको केही समय त आराम गर्न पाइने भयो भन्दै खुशी थिए तर लकडाउन जब थपिँदै गयो तब मान्छेहरु आत्तिन थाले सायद व्यापक रुपमा फैलिएको भाइरसभन्दा पनि बढी आफैदेखि डराएका होलान्, सायद यहि डरले नै होला आजभोली जिन्दगी जिउन थालेका छन् मानिस। मोबाइलको क्यामरामा कैद गरिएका फोटोहरुलाई वेवास्ता गर्दै थन्किएका पुराना एल्बमहरुमा टाँसिएका धुलोलाई पन्छ्याउँदै पुरानो फोटो अनि पुरानै तस्विरमा खुसी खोज्दै छन् मानिस। अनलाईन कामहरुमा रुची राख्दै छन् मानिस,आफूलाई नै बिर्सिएका थिए मानिसले, सायद यो फुर्सदको समयमा आफूलाई सम्झँदै आफ्नो बारेमा केही कोर्दै छन् मानिस, सायद बिग्रिएका सम्बन्धहरु सपार्दैछन् मानिस, सायद वर्षौदेखि बोलचाल नभएको साथीलाई सम्झिएर गाँसिएका यादका पोका खोल्दै छन् मानिस । आफ्नो परिवारसँग मीठो समय घोल्दै छन् मानिस । लकडाउनले परिवर्तन लिएरआएको छ।
खाना खाने बेला कहिल्यैसँगै नहुने परिवार आज मिलेर परिकार बनाउँदै छन् । हो, यो लकडाउनको बारेमा निकै सोच्दै छन् मानिस। कोरोनाको डरलाई झेल्दै छन् मानिस। कोहि आफूलाई खोज्दै छन्, कोहि आफू भित्रको कलालाई रोज्दै छन्। कोहि भोग्दै छन्,कोहि आफ्नो दुःख आफैसँग पोख्दै छन् । प्रेममा सपना देख्नेहरु आफ्नो सपनामा रङ्ग भर्दैछन्। शून्य अनि शान्त रहने घरका कुनाकाप्चाहरु पनि मानिसको होहल्लाले आजभोली दङ्ग छन्। कोहि खुसीका पलहरुसँगै हावामा उड्दै छन्,कोहि केही कामको आशामा आफ्नो झुपडीमा दुःखसँगै आँसुमा डुब्दै छन्।
लकडाउनको कथा जताततै छ तर कथा एउटै छैन, कथा यहाँ बेग्लै बेग्लै छन्। कोरोना भाइरसको पनि अन्त्य त एकदिन हुने नै छ। सबै कुरा फेरि पहिले जस्तो नै हुनेछ। यहाँ विश्राम मात्र समयले लिएको हो लकडाउन केवल सुरक्षाको लागि गरिएको हो । यहाँ लेख्नेलाई लकडाउन छैन्, आकाशमा उडेका चराहरु, बादलले बेला बेलामा ढाक्ने सूर्यका किरणहरु, साँझमा चल्ने बतासको मीठासमा लठ्ठीएर रुखका हाँगाबाट सुस्तरी झर्ने पातहरु, बाताससँगको स्पर्श,अस्ताइरहेको घामले आकाशमा पोतेको रङ्गहरुलाई हेरेर आफ्नो मनमस्तिस्कमा रङ्ग भर्न लकडाउन छैन्,प्रेममा कसैको आकृतिको बयान गर्न, प्रेममा डुबेर आफ्नो पीरलाई भुल्न लकडाउन छैन्,आफूलाई मनपरेको गीत गुनगुनाउन आफूलाई मनपरेको उपन्यास पढ्न, केहि सिक्न सिकाउन,आफ्नो भावना व्यक्त गर्न, केही नयाँ र राम्रो परिवर्तनको आशा गर्न, कसैमा विशवास गर्न अनि भगवानलाई प्रार्थना गर्न कुनै लकडाउन छैन्।
मानिस अल्छी लाग्यो त भन्छन् तर जुन दिन लकडाउन सक्किएर मानिस फेरि उही आफ्नो पुरानो काममा फर्कन्छन् तब बुझ्नेछन् यो फुर्सदको समयको महत्व। समय हुँदा र नहुँदाको फरक। फुर्सदमा बसेर गफ गर्दै लिएको चियाको चुस्कीको याद मानिसलाई तब आउनेछ जब हत्तारमा फु फु गर्दै फेरि त्यहि चिया पिउनुपर्ने दिन फर्केर आउनेछ । परिवारसँग बिताएको साना साना पलहरुले तब झक्झक्याउने छ जब फेरि त्यही कामको व्यस्तताले पाइला रोकिनेछ। प्रकृतिको दृश्यले गन्तव्य तब अल्मलाउनेछ जब गाडीका आवाज,चर्काचर्की मानिसको भिँडहरुले लकडाउनको सफा अनि शान्त वातावरण सम्झाउँनेछ। मानिसलाई यो जिन्दगीको भागदौडले नै जिन्दगी के हो सिकाइरहेको थियो तर आज समय परिवर्तन भएर लकडाउनमा फुर्सदको समयले मानिसलाई जिन्दगी बुझाइरहेको छ।
अब त नयाँ साल पनि लाग्दैछ, आउँदै गरेको नयाँ सालमा यहि फैलिएको कोरोना भाइरसले सबै नकारात्मक सोचाइहरुलाई मारेर जाओस । लकडाउनले मानिसको बुझाइमा परिवर्तनको छाप छोडेर जाओस। जिन्दगी जिउन सिकाओस, मेरा यी शब्दहरुले यो सँसारको घाउमा मलम लगाएर नयाँ उमंग उत्साह अनि साहस लिएर आओस।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

