वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता किन?

समावेशीता

चल्तिको चालचलनले अपेक्षित नतिजा दिन नसकेपछी विकल्प खोजिनु आम प्रचलन हो । यो प्रचलन जीवनको हर क्षेत्रमा लागु हुन्छ । जस्तै चल्तिको खेतीले माग अनुरुप उत्पादन दिन नसकेपछी वैकल्पिक खेतीको विस्तार गरिदैछ । प्राकृतिक उर्जाको अत्याधिक प्रयोगले निम्त्याएको समस्याकै कारणले वैकल्पिक उर्जाको विस्तार गरिदैछ ।

यसरी हामी जीवनमा सुधार ल्याउन हरक्षण विकल्पको खोजी गर्छौँ । वैकल्पिक निर्णयहरु चहार्छौँ । त्यस्तै विकल्पको आवश्यकता अहिले नेपाली राजनीतिमा टड्कारो रुपमा देखा परेको छ ।

नेपाली राजनीतिमा “वैकल्पिक शक्तिको” बहस अहिले मुल मुद्दा बनेको छ । त्यसैले हर राजनीतिक दल विकल्पको ट्याग बोकेर सत्ताको धन्दा चलाउन लागि परेका छन् । कतिले विकल्प चल्तिकै दल भित्र खोज्न चाहान्छन् । त कतिले विकल्प नयाँ उदाउदै गरेका शक्तिमा खोज्न चहान्छन् । तर अझैपनि असफल स्थापित दलहरुमा विकल्पको आश खोज्नु मरिसकेको लासबाट सास खोज्नु जस्तै बन्न पुगेको छ ।

त्यसैले विशुद्ध नव वैकल्पिक राजनीतिक शक्ति आजको आवश्यकता हो । मुख्यत वैकल्पिक दलको महत्त्व बढ्नु पुराना दलको असफल नेतृत्व नै हो । बाँकी यसको आवश्यकता बढ्न निम्न ३ कारणहरुले प्रमुख भुमिका खेलेका छन ।

१)विकृत राजनीतिक पद्द्ती र चुनावी संरचना

कुनै पनि देशको सफलता, त्यो देशले भोग्ने राजनीतिक पद्द्ती र चुनावी संरचनाले निर्धारण गर्दछ । हाम्रो देशको सन्दर्भमा पनि हाम्रो असफलता र हाल गुज्रदै गरेको संक्रमणकालिन अवस्थाको मुख्य कारण चल्तिको राजनीतिक शक्तिले स्थापित गरेको विकृत पद्धति र चुनावी संरचना नै हो । यो विकृत पद्धतिले समाजको हर क्षेत्रमा नकारात्मकताको जरो गाडेर बसेको छ ।

यस्तो पद्धति बसालिएको छ, जहाँ एउटा स्कुलको शिक्षक बन्नको लागि उसको क्षमता र शैक्षिक योग्यता भन्दा एउटा राजनीतिक दलको सदस्यताले मुख्य भुमिका खेल्दछ । एउटा विधार्थीको पहिचान उसको आचरण, बौद्धिकता र अनुशासनले भन्दा विद्यार्थी संगठनले बोकेको हुन्छ ।

यस्तो चुनावी संरचना स्थापित गरिएको छ, जहाँ चुनाव लड्ने टिकट पाउन व्यक्तिको बौद्धिक ल्याकत भन्दा आर्थिक हैसियत महत्त्वपूर्ण बनिदिन्छ । र एउटा गाउँपालिकाको चुनाव लड्न प्रतिनिधीलाई घर खेत धितो राख्नुपर्ने बाध्यात्मक परिस्थिति छ । त्यसैले विकृत राजनीतिक पद्धति र चुनावी संरचनालाई सुसंस्कृत बनाउन, वैकल्पिक राजनीतिक शक्ति आजको प्रमुख आवश्यकता हो ।

२) स्कुलिङ

विकल्पको बहस चल्दा चल्तिकै राजनीतिक दलभित्रबाट विकल्प खोजुनी पर्ने एकथरी राय चर्को छ । राजनीतिमा भविष्य खोज्दै गरेका नवपुस्तामा जनताले ठूलो आशा बोकेका छन् । तर पनि असफल नेतृत्वबाट दिक्षित युव पुस्ताबाट अपेक्षित नतिजा पाउनु शंकाको विषय बन्न पुगेको छ । विकृत राजनीतिक पद्द्ती र असफल नेतृत्वको स्कुलिङमा हुर्किएका अधिकांश नवपुस्तामा उमेरको छोडेर बाँकी विषयमा खासै भिन्नता भेटिदैन ।

केही समयअघि भएको त्रिविका प्रोफेसर प्रेम चलाउने माथिको कुटपिट र आन्दोलनमा देखिने अभद्र शैली यसको ज्वलंत उदाहरण हो । तसर्थ अनुशासित र सुसंस्कृत राजनीतिक स्कुलिङबाट वैकल्पिक नयाँ पुस्ताको उदय हुनु अति आवश्यक छ ।

३) दलाल पूंजीवाद र विचौलियाको सङ्गत

नेपाली राजनितिमा अहिले सबैभन्दा बढी प्रयोग हुने गरेको भाषा हो “दलाल पूंजीवाद” र “विचौलिया” ! यो विषयको केन्द्रमा रहेर केही वर्ष यता धेरै बहस पनि चलाइएका छन् । चल्तिकै राजनीतिक दलका शिर्ष नेताले समेत दलाल र विचौलियाको नेपाली राजनितिमा प्रत्यक्ष हस्तक्षेप हुने गरेको स्वीकारेका छन् ।

आज हरेक पुराना दलमा दलाल र विचौलियाहरुले डेरा जमाएर बसेका छन् । त्यसैले यहाँ युवा पुस्तालाई चल्तिको राजनीतिमा सफल हुन विचार, बौद्धिकता, भन्दा विचौलियाको सङ्गत महत्वपूर्ण छ । राजनीतिमा सफल भइसकेका पुराना पुस्ता विचौलियाकै मातहतमा निर्णय लिन बाध्य छन् । ओम्नी प्रकरण, याक एन्ड एती प्रकरण, यसका उदाहरण हुन् । तसर्थ दलाल पूंजीवादी र विचौलियाहरुको हैकम निर्मुल पार्न पुराना स्थापित दलहरुलाई विस्थापित गरि वैकल्पिक राजनीतिक शक्तिमा विश्वास गर्नु आज हामी सबैको जिम्मेवारी बनेको छ ।

समग्रमा वैकल्पिक राजनीति शक्ति समयको माग हो । तर विकल्प नयाँ दल र नयाँ नाममा मात्र नभएर नयाँ विचार र एजेन्डामा हुनुपर्नेछ । आफैलाई विकल्पको एजेन्डा बनाएर अघि बढ्ने सुर कसेका चल्तिका केही दलहरुले यो कुरा बुझ्नु जरुरी छ ।

विकल्पको बोर्ड र फगतको नयाँ धारको ट्याग खोज्नु भन्दा वैकल्पिक विचार, मार्ग र पद्धतिमा गम्भीर हुनु आवश्यक छ । अन्यथा वैकल्पिक शक्तिको स्थिती बुढेसकालमा नयाँ न्वारान गरेर नाम फेरेको बिम्बमा मात्र सिमित हुनेछ ।
सुमनका अन्य रचना पढ्नुहोस्।

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *