“प्रेम~अनेकौँ भावको मिश्रण।” Muskan Pandey
प्रेम कसैको लागि केवल एक शब्द हो। कसैको लागि पुरा जिन्दगी। हुनसक्छ यो जिउने आधार कसैको लागि। तर लाग्न सक्छ कसैलाई यो बेकार।
यो कसैको लागि आशा, भरोसा र खुसी हो त कसैको लागि मात्र एक तमासा। परिभाषामा प्रेमलाई एउटाले भन्ला चोट, अर्कोलाई लाग्ला उही प्रेम चोटको मलम।
यो पीडा माने पीडा हो, ओखती माने त्यही पीडाको ओखती।
प्रेमलाई पीडाको स्वरुप दिने प्रमिल मनहरुसित सायद प्रेमका तितो याद मात्र बाँकी छन्। मीठा याद गाँस्नै खोज्दा परिस्थितिले नमिठो मोड लिएको हुनुपर्छ।
नसोचेका सोच साँचो भएको हुनु पर्छ।
गर्नु के? प्रेमका किस्सा व्यक्तिपिच्छे फरक-फरक भएजस्तै सोचाइ, बुझाइ र भोगाइ अनुरुप बयान पनि बेग्लै हुँदो रहेछ। सायद प्रेम हो नै त्यस्तै।
जति गहिराइमा गएर बुझ्ने प्रयास गरेता पनि आफू डुब्दै नडुबी गहिराइको अन्दाजा लगाउन खोजे जस्तै। थाहा छैन किन, तर मलाई भने प्रेम शब्द एउटा बेग्लै दुनियाँ लाग्छ।
अनेकौँ भावनाहरुलाई समेट्ने आमाको न्यानो पछ्यौरी जस्तै लाग्छ। बुवाको शितल छहारी जस्तै लाग्छ। नमिठो परिस्थितिमा पनि परिवारले दिएको मिठो साथ जस्तै लाग्छ।
प्रेमीले खाली पन्नामा रङ्ग भर्दै रङ्ग्याएको कुनै आकृती जस्तै सुन्दर लाग्छ।
मलाई प्रेम कलात्मक लाग्छ। किनकी प्रेम सम्बन्धमा नबाँधिए पनि मस्तिष्कमा बुनिने गरेका आफ्नै कल्पनासँगै पनि प्रेम बसिदिन्छ।
सायद प्रेम हो नै यस्तै। आमाले जन्म दिनु भन्दा पहिले देखि नै आफ्नो सन्तानलाई प्रेम गरे जस्तै।
प्रेमलाई शब्दमा बयान गर्न किन सक्किनन् थाहा छैन। यति थाहा छ कि यसले दुई अन्जान व्यक्तिलाई पनि एकअर्काको नजिक लिएर आइदिन्छ।
भत्किन लागेका सम्बन्धहरुलाई पनि प्रेमले नै जोडिदिन्छ। दुई अन्जान व्यक्तिलाई कहिलेकाहीँ एकअर्काको जिउने आधार बनाइदिन्छ। यो बिना कुनै सम्बन्ध नटिक्ने त होइन तर जुन सम्बन्ध प्रेमले गाँसिएको हुन्छ, त्यो सम्बन्ध एउटा सुमधुर संगीत भइदिन्छ।
मानिस प्रेममा कति खेर, किन, कसरी पर्छन् खै कुन्नी। तर जोसँग लगाव, झुकाव बढ्छ उहीँसँग प्रगाढ सम्बन्ध र प्रेम गाँसिन्छ। जसको प्रभाव र अभाव महसुस हुन्छ उसैसँगको साथमा जीवन पनि रङ्गिन हुन्छ।
सद्भाव बिना प्रेमको कहिँ, कतै ठाउँ हुँदैन। जहाँ सद्भाव हुन्छ, त्यहाँ प्रेम हुन्छ र जहाँ प्रेम त्यहाँ सद्भाव।
प्रभाव,अभाव, लगाव, झुकाव अनि सद्भाव त रहेछ आखिर प्रेम भन्नु यिनै मिश्रणको भाव त रहेछ। यो खोजेर भेटिने होइन रहेछ। होडबाजीमा हाँसिल गरिने पनि होइन रहेछ। अन्त्य सबैकुराको भए पनि अजर, अमर, अटल रहने भनेको माया मात्रै रहेछ।
प्रेम गर्ने जोडी पनि अनेक हुने रहेछन्। बाध्यताले टाढिए पनि कहिल्यै नछुट्टिएका जोडीहरु। मनबाटै मनसँग मनपरेका जोडीहरु। कठिनाइमा सँगै लड्दै-सँघर्स गर्दै सफल भएका प्रेमीहरु।
यो प्रेम कति अजम्बरी हुँदो रहेछ। आत्मिय प्रेमले मानिसलाई कति खुशी बनाउँदो रहेछ। प्रेमको अर्को शब्द दया नि रहेछ। सायद कोहि अन्जान व्यक्ति दुःखमा पर्दा सहयोग गर्नु भनेको पनि भित्री प्रेमलाई व्यक्त गर्नु हो।
प्रेमप्रतिको सोच ठूलो भएर केहि नहुँदो हो। माया गर्न मन पनि ठूलो हुनुपर्दो रहेछ।
प्रेमको परिभाषा मान्छे अनुसार बेग्लै बेग्लै हुँदो रहेछ। तर परिभाषा जे जस्तो भएनि आखिर प्रेम भनेको प्रेम नै रहेछ। समय जस्तै बलवान् रहेछ। जसरी समय मानिसको नियन्त्रणमा हुँदैन त्यस्तै प्रेम पनि मानिसको नियन्त्रणमा नहुँदो रहेछ।
मानिसले जिन्दगीमा प्रेमलाई होइन प्रेमले मानिसलाई जिन्दगीमा डोर्याउँदो रहेछ। कहिँकतै मन थाकेको बेला प्रेमिल शब्दहरुले नै जोस, जाँगर अनि हिम्मत दिलाउँदो रहेछ।
कहिले, कहिँ, कतै जिन्दगीका बिरानो गल्ली अनि गोरेटोहरुमा पाइला लर्खराउँदा प्रेमले नै सम्हाल्दो रहेछ। म कयौँ पल्ट सम्हालिएकी छु मलाई निस्वार्थ प्रेम गर्ने व्यक्तिहरुबाट। म सयौँ पटक लड्दै उठेकी छु यहि प्रेमिल शब्दहरुको प्रभावबाट।
सायद प्रेम हो नै त्यस्तै, जति एक्लै हिँडे पनि भावनाहरुसँग ठोक्किएर कुनै सम्बन्धहरु गाँसिएजस्तै। मानिस र प्रेमको सम्बन्ध खोला र किनार जस्तै रहेछ। खोला मानिस जस्तै रहेछ अनि प्रेम किनारा जस्तै। प्रेमकै साहाराले मानिस आफ्नो जिन्दगीमा खोला जस्तै निरन्तर बग्दा रहेछन्। जे जस्तो भएपनि आखिर प्रेमले जीवनमा मीठो मीठो रंगहरु भर्दो रहेछ।
प्रेम अजम्बरी भएजस्तै साँचो प्रेम गर्ने जोडीहरुको आत्मा पनि सधैँ अमर रहिरहँदो रहेछ। साँच्चै प्रेम कति सुन्दर हुँदो रहेछ। कति न्यानो हुँदो रहेछ। कति भरिलो हुँदो रहेछ। संसारभरीकै भावहरु यो प्रेम शब्दभित्र अटाउँदो रहेछ।प्रेम त साँच्चै अनेकौँ भाव को मिश्रण रहेछ।
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com