प्रेम! | Muskan Pandey | Nepali Poem

Muskan Pandey

प्रेम!

प्रेम यस्तो होस्,

जसलाई एकपटक भेटेपछी पनि

पटक-पटक भेटिरहन मन लागोस्,

जोसँग टाढा भएपनि सम्बन्ध गाढा भैरहोस्,

प्रेम यस्तो होस्,

जहाँ मन भरी प्रश्नै प्रश्नको भेलहरु बग्दा,

भावनाका छालहरु पनि सँगै बगोस्।

प्रेम यस्तो होस्,

जहाँ दुई प्रेमीहरुको सम्बन्ध

आशा र भरोसामा बाँधिएको होस्,

प्रेम यस्तो होस्,

कतै होस् गुमाएर उसको अङ्गालोमा बेहोसिँदा

मात्र उसैको प्रेमको आभास होस्,

जहाँ उसको काखमा शिर राख्न पाउँदा,

सबैभन्दा ढुक्क यो मनले महसुस गरोस्

जहाँ उसको साथमा हुँदा यो आत्मा नै सन्तुष्ट बनोस्।

 

प्रेम यस्तो होस्,

जहाँ मेरो काँधमा उसको हात होस्,

उसको कदममा मेरो साथ होस्,

उजाड दुनियाँ र रङ्गहिन जीवन पनि

चरा जस्तै स्वतन्त्र र

अस्ताइरहेको सूर्य जस्तै रङ्गिन होस्,

प्रेम यस्तो होस्,

जहाँ उसको सामिप्यता, मेरो आत्मियता बनोस्,

जहाँ मेरो पर्छाइ उसको आत्मबलको पछ्यौरी बनोस्,

प्रेम यस्तो होस्,

जहाँ मेरो जिन्दगी उसलाई प्यारो लागोस्,

उसको जिन्दगी मलाई सबैभन्दा खास!

प्रेम गहिरो होस्,भरिलो होस्,न्यानो होस्,

आफूले देखेको सपना जस्तै सुन्दर होस्,

मस्तिष्कमा बुनिएका कल्पना जस्तै विशाल होस्,

आमाले आफ्नो सन्तानलाई गर्ने माया जस्तै विश्वासिलो होस्,

जहाँ गीत उसको र लय मेरो होस्,

धुन उसको र सरगम मेरो होस्,

प्रेम कविता जस्तै होस्,

कापी उसको कलम मेरो होस्,

बयान उसको तर शब्द मेरो होस्!

 

प्रेम कला जस्तै होस्,

मौनतालाई बुझ्न सक्ने,

अस्तित्वलाई नियाल्न सक्ने,

एकअर्कालाई सम्हाल्न सक्ने,

प्रेम शक्तिशाली होस्,

सपनाको सिँढी चढ्न हिम्मत दिलाउने,

सफलताको शिखर चुम्न प्रोत्साहन गर्ने,

प्रेम समय जस्तै होस्,

जस्तो परिस्थितमा पनि जिउन सिकाउने,

प्रेम कहिल्यै नउत्रने नशा जस्तै होस्,

जोसँग लगाव बढ्यो उसैको झुकावमा झुलिरहने।

प्रेम यस्तो होस्,

जहाँ उसको र मेरो प्रेमको परिभाषा एउटै होस्,

जहाँ दुईटा मुटु तर धड्कनको चाल एउटै होस्,

जति बेग्लै सोचाइ र भोगाइ भएपनि

दिलको हाल एउटै होस्,

प्रेम अटुट होस्,अमर अनि अटल होस्।

 

प्रेम खोला जस्तै होस्, निरन्तर बगिरहने,

प्रेम रुख जस्तै होस्, शितल छहारी दिइरहने,

प्रेम सुमधुर सङ्गित जस्तै होस्, जति सुनेपनि नपुग्ने,

प्रेम खाली पन्ना जस्तै होस्, जति कथा कोरेपनि नसक्किने,

प्रेम त पानीको प्यास जस्तै होस्, जति पिएपनि तृष्णा नमेटिने,

प्रेम हरेक रितुमा फल्ने मीठो फल जस्तै होस्, जति चाखेपनि नअघाउने,

प्रेम त्यो गोरेटो जस्तै होस्, जति हिँडेपनि नथाक्ने,

प्रेम अजम्बरी होस्, जति लगाएपनि कहिल्यै नमर्ने।

प्रेम अजम्बरी होस्, जति लगाएपनि कहिल्यै नमर्ने।।

 

Read More Poetry From Muskan Pandey:

म जिउँदो लास ! Poem by Muskan Pandey

 

 

Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author
When it comes to writing i enjoy expressing what i write and this always makes me feel alive.

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *