हामीलाई हेप्ने
सबैसँग परिचत हुन म किताब बनेर आउँछु । जात, धर्म, इतिहास, बोध, ज्ञान, दर्शन सबैको लेखनीकर्ता मै मानिन्छु तर आज मेरो कारणले, मेरो नाममा मेरा भक्त, चेला, र शिष्यहरु फलामको ढोकाभित्र थुनिए भनेर सुन्न पर्दा मेरा पानाहरु कापेर आए ।
मेरो लागि, राम्रोको निम्ति, सबैको भलोको लागि आफ्ना अमूल्य समय खेर गरेर सिंहदरबार र माइतीघर अगाडि आफ्नै तालमा शान्तपूर्वक मलाई (किताब) पढेर न्याय खोज्न बसेका थिए रे मेरा प्याराप्यारा भाइबहिनीहरु । ठूलो पदमा बस्ने कुन चाहीँको दिन खराब थियो कुन्नी, एकाएक सबैलाई थुनामा लगेर, त्यहाँ फेरि देखा नपर्न चेतावनी दिएर छोडिदिएछन् ।
उनीहरुको मेरो लागि कति धेरै माया रहेछ । यति थोरै समयमै मेरो प्रभाव यति धेरै हुन्छ भनेर मैले कल्पना गरेको थिएन । तर अब त अन्याय नै हुन थाल्यो । बोल्न पाउने हक किताबमा मात्र सिमित रह्यो । धेरैले किताबमा लगाउने करको बारेमा गुनासो गरेका छन् तर आवाज उठाउन केहिले मात्र हिम्मत गरेर बोलिरहेका छन् ।
अब सबैको भलो सोच्नेको लागि म आफै नबोली भएन कि क्या हो ?
सानो चिठ्ठीपत्र लेख्दै छु देशको तमाम पाठकहरुको आवाजलाई समेटेर । एक पटक सरर्र पढिदिनु हुन विनम्र आग्रह ।
प्रिय, १०% कर लाउनु हुन्न भन्नु हुने सम्बन्धित व्यक्तित्वहरु,
नमन ! ढोग ! नमस्कार !
म किताब । नाम त सुन्नु भएकै होला कहि कतैबाट । मेरो बारेमा हिजोआज धेरै खबर र चर्चा सुन्नमा आइरहेको हुँदा यो चिठ्ठी लेख्दै छु । छोटो छ तर धेरै कुरा समेट्ने प्रयास गर्दै छु ।
हेर्नुस्, बोल्नको लागि आवाज छैन मेरो, झगडा गर्न हात पहिलेदेखि नै थिएन तर मनमा कुरा पोख्न शब्दहरु छन् र शब्द कोर्न पानाहरु । धेरैले मेरो प्रशंसा गरेको त सुन्छु तर मेरा नजिकका मिल्ने साथीहरु थोरै मात्र रहेछन् । कोहि फालाफाल किताबका फोहरामा डुबेका छन् तर पढ्न फुर्सद भेट्दैनन् भने कोहि सबै काम छोडेर किताब पढ्न बस्छन् ।
कोहि सिरक भित्र गुटमुटिएर मेरा पानाहरु पल्टाउँछन् त कोहि माइतीघरको खुला बगैँचामा बिना कुनै सङ्कोच मेरो विभिन्न वियषमा अध्ययन गरेर बस्छन् । कति भिन्नता एउटै समाजभित्र !
मानिसमा लाखौं नसाहरु भए जस्तै म किताबभित्र धेरै पानाहरु छन् । पानालाई अभिन्न अंग बनेर जोड्न आएको छ मसीका छिरबिरे बुट्टा । मेरा हरेक पानाका आ–आफ्नो विशेषता छन् र पक्षहरु पनि । कसैलाई कुन विषय मन पर्छ, कसैलाई कुन विधा तर पढ्न धेरैलाई खुलदुली हुन्छ ।
ए सरकार !
किताब पढ्न दिनुपर्छ भनेर राजनीतिक दलहरु चुनावको बेलमा बुरुक्क् बुरुक्क् उफ्रिन्छन् तर किताबमा कर नलगाऔँ भनेर कुरा उठ्दा एसी तल बसेर विद्यार्थीहरु धर्ना बसेको टेलिभिजन र पत्रिकामा समाचार हेर्न के उनीहरुलाई रमाइलो लागिरहेको होला ? आवाज उठाउन जुट न अनि पो इमान्दार र सम्माननीय नेता भनेर पुजिन्छौ । होइन भने के हामीले दिएको भोट खाजा खाने पैँसा कमाउनको लागि मात्र सिमित हो त ?
राम्रो काममा लागि परेकाहरुको साथ थोरैले दिन्छन् तर थोरै थोरै गरेर सबै एकजुट हौँ त, अनि कर बिनाको शुल्क तिरेर किताब पढ्न कति रमाइलो हुन्छ थाहा हुन्छ । आज किताबमा कर लगाउछन् , भोलि कडा आईटी बिल लिएर आउँछन्, पछि खोक्रो राष्ट्रवादको धाक लगाउदै देश चलाउँछन् अनि बिस्तारै अर्कै देशको नागरिकता पत्र बनाउने दिन आइपुग्छ । त्यसपछि बल्ल हक खोसियो भनेर बोल्नु पर्ला भनेर कुरेको हो भने आजै विदेश पलायन भए हुन्छ । देशको माया छ भने देश बनाउन लागि परौँ न । सानो कुरा हो भनेर किताबमा कर लगाउने कुरामा किन वेवास्ता गरेको ? म त ज्ञान बाँड्ने चिज हो, खेल्वार नसम्झ । घर परिवार र देशमै परिवर्तन ल्यायी शान्ति छर्ने मेरो काम हो । त्यसैले मलाई करले नछेक । मलाई गरिबको झोपडी देखि धनिको महलसम्म, ठेला परेका देखि सुकोमल हातसम्म जति सक्दो चाँडो पुग्न मद्दत गर किनभने मैले धेरैलाई बिउँझाउनु छ ।
हेर्नुस्, जसरी पानामा कोरिएका अक्षरहरुको इकार, उकारको मूल्य हुन्छ, त्यस्तै किताब पढ्नको लागि खर्च गर्ने एक–एक रुपैँयाको उत्तिकै महत्व हुन्छ । अब कुरा आउला असल र जिम्मेवार नागरिकले किताबको कर मात्र होइन सबै कुराको कर तिर्नैपर्छ । ‘कर तिर्नु देशको विकासमा टेवा पुग्नु हो ।’
अरे बाबा ! म भन्छु कर उठाउनु नै छ भने कर छल्नेसित उठाउनु, करोडौँ रकमको हिमामिना गर्ने सम्माननीय पदका वरिष्ठ व्यक्तित्वहरु सित लिनु, विकासको नाममा विध्वंस गर्ने ठकेदारहरुसित कर लिनु । बेकारमा खाजा खर्च बँचाइ–बँचाइ, दुई चार पैँसा लुकाई–लुकाई ज्ञान आर्जन गर्ने उद्देश्यले पसल पुगेका भाइबहिनीसित १०% किताबमा कर उठाएर कुन विद्यालय बनाउने खर्च बराबरको कर उठ्छ ए सरकार ?
यो करलाई बरु फ्याट्टै हटाइदिनुस । सब कुरा सकिहाल्छ । बरु थोरै रकममा वा निःशुल््क पढ्न पाउने अभियानमा लागि पर्नुहोस मेरो विन्ति छ । धेरै पढेर, विद्वान भइ आउदो सरकारदेखि पालेसम्मको पदमा बस्नेहरु उनै हुन जसलाई आज तपाईले विश्वास नै गरिरहनु भएको छैन । किताबमा १०% कर लगाएको हुनाले, धेरै पढ्न नपाएको हुनाले १२ पास गरेर देश चलाउन आउनुपर्याे भनेको सुन्दा लाज हुन्छ भविष्यमा ।
कतै गलत लेखेमा माफ पाउँ । किताब न हुँ, छुच्चो भए नि सत्य लेख्छु ।
मैले चाहेको भए के मात्र गर्थें होला । सम्पर्कमा त धेरै जना म सित जोडिनु भएको छ नि, धेरै जनासँग मेरो भेट भएको छ, धेरै पाठकहरु हुनुहुन्छ मेरा तर साँचो मनले गुनगान गर्ने केही मात्र बाँकी छन् । राजनैतिक दलको समर्थन छैन्, कानुनको अत्तोपत्तो हुन्न । एक्लै केहिको जमातमा न्याय खोजेर के पो पाइन्थ्यो र ?तर पनि म आग्रह गर्दछु कि करको कारण मलाई भेट्नबाट कोही पनि बञ्चित हुन नपरोस ।
हुन त यो व्यक्तिको गल्ती होइन । समय परिवर्तन र समाजको प्रगतिशिलताको नतिजा हो ।
तर साच्चै, जब मैले सुने कि म जाबो ‘किताब’को नाममा १० प्रतिशत कर लगाएको कारणले केहि साथीहरु न्याय खोज्ने क्रममा जेल परे, मलाई एका तिरबाट सोच आयो– एक अर्ब रुपैयाँ त दाँयाबाँया गरेर ‘मिलाई देउ न’ भन्ने देशमा किताबमाथिको १० प्रतिशत कर दाँयाबाँया गरेर मिलाउन किन गाह्रो भएको होला ?
सरकार समय भएमा यो सानो चिठ्ठी पढेर प्रतिक्रिया दिनुहोला । होइन भने ठूलो जमात लिएर फेरि माइतिघरमा भेट गर्न आउने नै छु ।
सानै समस्या होला तर कुरा उठाउनै पर्ने समस्या हो यो । १० प्रतिशत कर किन लिनुपर्याे किताबमा ? केहि बिकल्प होला नि । त्यो सोचेर निष्कर्षतिर लागौँ ।
हामी चर्काे नबोलेको भनेर हामीलाई हेप्ने ? पाइदैन । कदापी पाइदैन । पराल जुटिसक्यो बस् आगो नसल्काईदिनु होला !
अनि मेरो समर्थनमा आवाज उठाउनु हुने मेरा सम्पूर्ण शुभचिन्तकहरुः तपाईंहरु हार नमान्नुस् । हामी सबै तपाईको साथमा छौँ ।
यति भन्दै म प्रति तपाईहरुको सकारात्मक सोचको प्रतिक्षामा छु । किताबमाथिको कर छुट गरि कार्यन्वयनमा ल्याउनुहोला । मेरो पुकार छ। विन्ति छ ।
उही बेवारिसे लेखक,
निर्दोष “किताब”
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com