कसैलाई ‘Mature’ बनाउनु छ भने, उसलाई केही समय अस्पतालमा कुरुवा बस्न पठाइदिनु।
हामी प्रायः भन्छौँ “यो त पाको भएन, यसले केही जिम्मेवारी बुझ्दैन।” यस्तो लागेमा, हप्तौँसम्म अस्पतालमा कुरुवा बस्न दिए पुग्छ। एक रात बिताउनै कति गाह्रो हुन्छ!
निन्द्रा तिम्रो हुँदैन; रात र दिन दुवै तिम्रा रहँदैनन्।
त्यहाँ नर्सका कटाक्ष, डाक्टरको एउटा उत्तरको दिनदिनैको प्रतीक्षा, कर्मचारीको व्यवहार, सबै सहनु पर्छ। मनमा धेरै कुरा उब्जिन्छन्, खुलाएर भन्न मन लाग्छ। तर भन्न सक्दैनौ, किनकि बिरामी भित्र तिम्रै आफ्नै मान्छे सुतिरहेको हुन्छ। केही भनौँ भने केही बिग्रिएला कि भन्ने डर, नबोलौँ भने रिस घाटी घाटी छ ।
त्यही निरीहपनले जीवन सिकाउँछ।
आफ्नो पीडा सबैलाई ठूलो लाग्छ। चाहेको नपाउँदा जो कोही दुखी हुन्छ। तर जीवनका संघर्ष र सफलताको दौडभन्दा पनि फरक पाठ अस्पतालको बसाइले दिन्छ। त्यहाँ तिमी जीवन बचाउन खोज्नेहरूको हतार देख्छौ, बचाइदिन सफल भएको क्षणको खुसी देख्छौ।हामीले जीवनलाई कति सजिलै लिएका रहेछौँ भन्ने अनुभूति त्यहीँ हुन्छ। प्रत्येक पलको मोल बुझिन्छ। बिरामीलाई सम्हाल्नु छ, आफू बलियो बन्नु छ। २४ घण्टा सेवा, दिशा-पिसाबको पनि हिसाब हुँदैन।
आफ्ना पीडाहरू साना लाग्न थाल्छन्। रुवाबासी सामान्य लाग्छ, किनकि आँसु त सबैका आँखामा टिलपिल हुन्छन्। त्यही अवस्थामा पनि कसैले हाँसो-ठट्टा गरेर मन भुलाउने प्रयास गरिरहेको देखिन्छ।
सबै बिरामी र कुरुवाहरू परिवारझैँ लाग्छन्। तिमी नभएको बेला अरूले तिम्रो बिरामी हेरिदिन्छन्। त्यहाँ माया र ममता अझै जीवित छन् भन्ने आभास हुन्छ। कोही एक-दुई दिनमै फर्किन्छन्, कोही महिनौँदेखि त्यहीँ बसिरहेका हुन्छन् , कहिले घर जाने हो, अझै थाहा हुँदैन।
Canteen को खाना स्वादिलो हुँदैन, तर त्यहाँ खानु भनेको बाँच्नका लागि खानु हो। जिम्मेवार बन्नु भनेर कसैलाई सिकाउनुपर्दैन होला। परिस्थिति र अवस्थाले नै सिकाउँछन्। कोही पनि अस्पताल बस्न चाहँदैन, कोही बिरामी होस् भन्ने पनि चाहँदैन। तर मानिसको जीवनमा यो अध्याय कहीँ न कहीँ आउँछ जस्तो लाग्छ।
मेरो अनुभव कहिले, कहाँ, के को अर्को श्रृंखलामा बाँडौँला। अहिले भन्न चाहेको यत्ति हो: अस्पतालको बसाइले मानिसको जीवन हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउँछ। उसले जीवनको मोल अझ गहिरोसँग बुझ्छ।
तर सेवा भने साँचो मनले हुनुपर्छ तब बल्ल यी कुराहरू सार्थक हुन्छन् जस्तो लाग्छ।
Read More From Aarjit Pandey:
Read More at Offline Thinker:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

