दोस्रो स्मृतिमा महेश चौधरी | Mahesh Chaudhary

Mahesh Chaudhary Nepali Writer

तत्कालीन स्थानीय विकास राज्यमन्त्री माहेश चौधरीले भौतिक देह त्याग गरेको दुई वर्ष पुगेको छ ।

बि.सं.२०४८ र २०५४ सालमा गरी दुईपटक राष्ट्रिय सभा सदस्य बन्नु भएका उहाँले २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक वहन गर्नुभयो । उपरान्त समय अध्ययन अनुसन्धानलाई निरन्तरता दिँदै जीवन नै समर्पित गर्नुभयो।

२००७ सालमा दाङको बैवाङमा जन्मिनु भएका चौधरीले भूगोल विषयमा स्नाकोत्तर गरी बामपन्थी आन्दोलन, किसान आन्दोलन र थारू समुदायमा चेतना फैलाउन महत्त्वपूर्ण योगदान दिनुभयो।

भूगोलका प्रध्यापक चौधरीले नेपालको भूगोल, संस्कृति , थारू सभ्यता र राज्यको दस्तावेजकै गहिरो अध्ययन गरी दर्जनौं बढी अनुसन्धानमूलक दस्तावेजहरु आउँदो पिढीलाई अध्ययन अनुशन्धानका लागि उपहार छोडेर जानुभएको छ ।

तत्कालीन समयमा एक मधेश एक प्रदेशको माग मुलुकको लागि व्यवहारिक, तथ्यपरक र सम्भव नरहेको भन्दै भिन्न कित्तामा आफूलाई उभ्याएर राज्यकै लागि बहस उठान गर्ने साहसी योद्धा महेश चौधरीले उठान गरेको बहस वर्तमानमा पनि सान्दर्भिक लाग्छ र भविष्यमा पनि घच्घच्याई रहने महशुस हुन्छ ।

वास्तविक समस्यालाई सस्तो लोकप्रियताका लागि गरिएको निर्णय दिगो हुँदैन । मुलुकमा संकट परेको बेला फेरी त्यस्ता मुद्दा उठ्न नसकला भन्न सकिन्न।

महेन्द्र बहुमुखी क्याम्पस दाङका सहायक प्रमुखको रुपमा सशक्त भुमिका निभाउनु भएका चौधरी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’को संस्थापक-सम्पादक समेत रहेकाले थारू भाषाको पहिलो पत्रकारमै उहाँको नाम आकाट्य छ । तत्कालीन सरकारले २०२१ सालमा भूमि नीति ल्याएपछि साहुको ज्यादतीबाट प्रतादित भएका थारूहरु हुल बाँधेरै बुरहानतर्फ बसाइ सर्न थालेपछि  बुराहनमा पनि दुःख छ भन्ने सन्देश फैलाउन उहाँले थारू भाषाको पहिलो गीति नाटक “छारा” मञ्चनका साथै प्रकाशन पनि गराउनु भयो । जुन अत्यन्त चेतनामूलक र सन्देशमूलक छ ।

‘छारा” गीति नाटकको ‘दृश्य २’ मा छारा गीति नाटकको मूख्य पात्रको रुपमा रहेको साजनले आफ्नी पत्नी रुपनीलाई बुरहान जाने कुरा गीतका माध्यमबाट भनेपछि रुपनीले त्यो कुरा मन पराउदैनिन् अनि आफ्ना श्रीमानलाई थारू भाषाको गीतबाट यसरी सम्झउँछिन्।

 

“घरही रहबो स्वामी अति सुख पैबो घरही रहो हाँ,

ऐहो गाँउ घरमे स्वामी तुहुँ अतिभला रहबो रे हाँ

नाजाओ बुढान स्वामी अति दुःख पैबो घरही रहो हाँ

एहो जन्मलक् ठाऊँ स्वामी तुहुँ भला रहबो रे हाँ”

 

अनुवादः

“घरमै बसनुस् स्वामीजी अत्यन्त सुख पाइन्छ घरमै बस्नुस् न ।

एहै गाँउ घरमै स्वामीजी हजुरले सम्मानित जीवन पाउनु हुन्छ ।

नजानुस् बुढा स्वामीजी अति दुःख पाउनुहुन्छ घरमै बसनुस् न ।

एहै जन्मिएकै ठाऊँमा स्वामी हजुर नै भला बन्नुहुनेछ”

 

२०६३ सालमा केही मधेशवादीहरूले नेपालको तराइ नै मधेश हो भन्दा सोही विषयमा खण्डन गर्दै दुईवटा लेख छाप्न दिँदा एउटा पत्रिकाले उपेक्षा गरेपछि किताब लेख्ने अठोट गर्नु भएका इखालु विद्वान चौधरीले २०६४ सालमा “नेपालको तराई तथा यसका भूमिपुत्रहरु” नामक पुस्तक प्रकाशित गर्नुभयो । जुन पुस्तकले निकै चर्चा पाउनुकासाथै लामो समयसम्म वहस बन्यो । यसले थारूहरुमाझ एकजुट हुनुपर्ने चेतना बढायो र व्यापक अनुसन्धानको खाँचो पनि महसुस गरायो।

यति मात्र होइन नेपालको भौगोलिक अवस्था, स्थिति, आकार र सिमानाबारे सम्पूर्ण नेपालीलाई सचेत पनि गरायो ।

Mahesh Chaudhary Nepali Writer

 

विभिन्न दृष्टिकोणले नेपालको एकता, संघीयता जातजातिहरु बीच एक्यवद्ता, सौहाद्रता स्वाभिमान, अधिकार, प्रगति र त्यसको निरन्त्तरता, संस्कृति र संरक्षण जस्ता बहस उठाउँदै २०६९ सालमा ‘पुनःस्थवीरहरुको प्राचिन इतिहास र संस्कृति’ भन्ने अर्को पुस्तक प्रकाशित गर्नुभयो।

यसरी एक पछि अर्को गरेर २०७६ सालमा “Hidden Treasure of the Lowland Nepal ‘PART 1’ र ‘PART 2’ प्रकाशित गर्नुभयो जुन अध्ययन अनुसन्धानलाई अझ बढि जागृत गरेको छ।

 

Mahesh Chaudhary Nepali Writer

 

राष्ट्रिय सभा हुँदै राज्यमन्त्री समेत हुनु भएका चौधरीको राजनीतिक पृष्ठ भूमि त छँदै थियो, भूगोल संस्कृति र थारु सभ्यतामा अझ धैरै उल्लेखनीय योगदान रह्यो ।

२००७ सालमा दाङको बैबाङ जन्मिनुभएका चौधरीले भगवान गौतम वुद्ध पनि थारु परिवारका सदस्य हुन् भनेर व्याख्या गरि निश्कर्षमा पुर्याउनुभयो । यसको अन्तिम रुपकालागि अझै बहसको खाँचो छ ।

साथै थुप्रै लोकसंस्कृति, भाषा, साहित्यमा अविस्मरणीय योगदान छोड्नुभएका चौधरीको ध्यान पछिल्लो समय किसानले खिच्यो ।

 

खेतीपातीको लागि सरकारले समयमा मल पुर्याउन नसक्दा कृषकले हैरानी खोपेको देखेर महेशलाई पिरोल्न थाल्यो । त्यतिवेला नै लामो  खोज अनुसन्धान गरेर विषादी रहित जैविक प्राङगारिक मल उत्पादन गरेर किसानसम्म पुर्याउने सपना बुन्नु भएका महेशले लामो संघर्षपछि सफलता पाउन थालेको केहि वर्षमै रोगले सतायो र उहाँ विस्तारै शारीरिक रूपमा कमजोर हुँदै जानुभयो । तर पनि हरेस् खानु भएन।

शारीरिक रुपमा कमजोर हुन थाले पनि वौद्धिक रुपमा अव्वल महेश बसेर आराम गर्न मान्नु भएन । आफूले लगानी गरेको पुस्तक र मलको दाम उठाउन सके मात्र आराम गर्ने भन्दै काठमाण्डौबाट हर्नियाको अप्रेसन सकेर गृह जिल्ला जानुभयो । रोगबाट उहाँलाई मुक्ति मिलि सकेको थियो।

तर डाइट र आरामको भने निकै आवश्यकता थियो । आरामको लागि रोक्दा रोक्दै केही आर्थिक बन्दोवस्तीको उपाय लाग्छ कि भनेर काठमाण्डौबाट उहाँ दाङ जानु भएको हामीलाई बताउनु भएको थियो।

यसरी समस्यासँग लड्दा लड्दै उहाँलाई फेरी रोगले च्याप्यो र उहाँलाई पुनः दाङ अस्पतालमा भर्ना गरियो र अन्तिम स्वास अस्पतालमै फेर्नु भयो ।

उहाँको निधन भएको २ वर्ष विति सक्यो । देश र समाजकोलागि हरपल क्रियाशिल व्यक्तित्त्वले केवल काम गर्छ, सम्मानको आशा गर्दैन ।

थारू कल्याणकारीले उहाँ प्रति देखाएको उदासीनताले उहाँलाई केही असर पार्दैन किनकी उहाँको कार्यशैलीलाई पछ्याउने हैसियत भएको मानिस नेपालमा बीरलै होला। महेश आफ्नो कृतिका माध्मले इतिहासमा अमर भइसक्नुभयो ।

हल्का फुल्का लेखले उहाँको स्तर तौलिन सक्दैन । त्यसैले थारू कल्यानकारी सभा आहिले मौन बसेको होला भन्ने बुद्धीजीबीहरूको ठम्याई छ ।

नेकपा एमाले दाङले भने आफ्नो केन्द्रिय परिषद सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री स्व-चौधरीको दोस्रो स्मृति सभा विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । दाङ घोराहीमा आयोजित कार्यक्रममा एमाले केन्द्रिय सदस्य सिता सिग्देल न्यौपानेले स्वाभिमानी, राष्ट्रवादी अनि जनजाति आन्दालोनका अग्रणी व्यक्तिको रुपमा स्व. महेश चौधरीलाई स्मरण गर्नुभयो।

उहाँले जीवनभर जनताको पक्षमा आवाज उठाउँदै समाजिक आन्दोलनमा आफूलाई समर्पित गर्नु भएका चौधरीले देखाएको बाटो पछ्याउनु पर्नेमा जोड दिनुभयो।

थारू भाषाको पहिलो गीति नाटक छारा र लिरौसी व्याकरण, माँगर, गुरुवावक जरमौती, लगायतका थारु भाषाको काव्य, महाकाव्य जस्ता थुप्रै प्रकाशोन्मुख पुस्तक तथा असंख्य फुट्कर लेख, साहित्यहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् ।

एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको अध्यक्षतामा सम्पन्न स्मृति कार्यक्रममा प्रदेश सचिव लक्षमण आचार्य, महेशकी जीवन संगिनी शान्ती चौधरी, नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव सविन प्रियासन, वुद्धिजिवी परिषद दाङका अध्यक्ष तिर्थ न्यौपाने, प्राध्यापक केवी चौधरी, श्याम आचार्य र साहित्यकार राम बहादुर जिसी लगायतका वक्ताले स्व. चौधरीको राजनीतिक र सामाजिक योगदानको स्मरण गर्नुभयो।

कार्यक्रमका वक्ताहरुले स्व.चौधरीको वहुआयामिक चर्चा गर्दै र उहाँको योगदानलाई चिरस्थायी बनाउन विशेष योजना बनाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा स्व.चौधरीकी जीवन संगिनी शान्ती चौधरीलाई विशेष सम्मान गरिएको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य तथा निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले गर्नुभएको थियो ।

जमिन्दारको छोरा महेश चौधरी गरिव गुर्वा-निमुखा सर्वहरा वर्गका नेता हुनुहुन्थ्यो ।

सादा जीवन उच्च विचार भएका वौद्धिक  हुनुहुन्थ्यो ।

 

-उहाँको सम्झनामा लेखिएको रचना

 

Read More From Deokhurni:

 

Read More From Deokhurni:

 

 

Read More Travel Stories From Offline Thinker:

 

 

Read More Nepali Story at Offline Thinker:

Follow Offline Thinker on FacebookTwitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com

Facebook Comments

author

YOU MAY ALSO LIKE

Leave a Reply

Your email address will not be published. Required fields are marked *