दिदीबहिनीका निम्ति दाजुभाइले व्रत बस्ने पर्व | Atwari Festival | ‘अट्वारी पर्व’ | Tharu
नेपालको विभिन्न चाडपर्वमध्ये ‘अट्वारी व्रत’ पनि एक हो। खासगरी थारु समुदायले मनाउने धार्मिक, सांस्कृतिक, आपसीसद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने यो पर्व तीन दिनसम्म मनाइन्छ।
कृष्णजन्माष्टमीपछीको शूक्ल पक्षको पहिलो वा दोस्रो आइतबारका दिन व्रत बस्ने यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने प्रचलन छ।
यो व्रतमा सूर्य देवताको विशेष पूजाआरधना गरी आफ्नो तथा आफ्ना दिदीबहिनीको सुस्वास्थ्यको कामना गरिन्छ। विधिपूर्वक सूर्यको उपासना गर्नाले सूर्य देवता प्रशन्न भइ रोगव्याधी नलाग्ने र आफ्ना परिवारसहित दिदीबहिनीहरुलाई मंगलमय आशिर्वाद प्राप्त हुने विश्वास रहेको किम्वदन्तीमा पाइन्छ।
तीन दिनसम्म मनाइने यो व्रतको पहिलो दिन सामुहिक मछ्वारी गरिन्छ।
मछ्वारी
मछ्वारी भनेको खोला, कुला, नदिनाला वा तलाउमा सामुहिक माछा मार्ने कार्य हो। आफ्ना दिदीबहिनीलाई कोसेली पठाउने उद्देश्यले थारु जातिले सामुहिक माछा मार्ने गर्छन्। यो दिन मारिएका केहि माछा व्रतालुले दरको रुपमा खाने र केहि आफ्ना दिदीबहिनीको भाग छुट्याएर सुकाउने गर्छन्। यसरी सुकाएको माछालाई पर्वको तेस्रो दिन अग्रासन (कोसेली)का रुपमा राखिन्छ।
अट्वारी व्रतमा मछ्वारीको विशेष महत्व हुन्छ। मछ्वारी प्रायः अट्वारी व्रतको अघिल्लो दिन अर्थात शनिबारको दिनपर्छ।
अट्वारी व्रत
मछ्वारीको दोस्रो दिन (आइतबार) अट्वारीको निराहार व्रत बसिन्छ। यस दिन व्रतालुहरु विहानै उठेर नदि-तलाउ वा इनारमा समूह बनाइ नुहाउन जान्छन्। नुहाएर नुहाएको स्थानमा गुँइठा बालेर (गोबरको दाउरा) धुप, घ्यू, अक्षता, तील, सुन्दुर, गाँजल, आदिले पूजाआरधना गरी सूर्योदयको प्रतिक्षा गर्दछन्। सूर्योदय भएपछि फलफूल, दूध, प्रसाद आदि सूर्यलाई अर्पण गरी आफ्ना परिवार तथा दिदीबहिनीको सुस्वास्थ्यको लागि प्राथना गर्छन्।
यसरी पूजा गर्नाले सूर्य भगवान प्रशन्न भइ आशिर्वाद स्वरुप महाभारतको पाँच पाण्डवको भिमजस्तै बल प्रदान गर्ने जनविश्वास छ। कतैकतै यस व्रतलाई भिमको पूजा पनि भनिन्छ। भिमको पूजा गर्नाले भिम जस्तै बलियो हुने आशिर्वाद पाइन्छ र आफ्ना दिदीबहिनीको रक्षा गर्न सकिन्छ भन्ने लोकभनाइ पनि थारु समुदायमा व्याप्त छ। यसरी सूर्य उपासना र पूजाआरधनापछि व्रतलाई निरन्तरता दिँदै अपराह्नतिर फलाहारका साथै दूध, दहि, गहुँको पीठोबाट बनेको खुर्मा रोटी, अनदीको चामलको रोटी, बरिया, रामदानाको भुजा, आदि अग्नि देवतालाई अर्पन गरी दिदीबहिनीको भाग छुट्याएर खाने चलन छ।
यो खाना पकाउनु अघि व्रतालुले भोजनगृहको विशेष सरसफाइ गरी गुँइठामा धुपीको दाउराबाट आगो बालेको ठाँउमा पूजा गरी खाना बनाउने व्यवस्था गरिन्छ। खानाका लागि व्रतालुहरु सबै एकै ठाउँमा लहरै बस्छन्। खाना पस्केपछि सबैले आफ्नो अगाडि राखिएको भोजनबाट आधा भाग आफ्ना दिदीबहिनीको लागि श्रद्धापूर्वक छुट्याउँछन्।। यसरी छुट्याइएको भोजनलाई अग्रासन भनिन्छ।
मूल व्यक्तिले अग्रासनलाई व्यवस्थित पारेपछि व्रतालुले एकसाथ भोजन गर्छन्। यो व्रतमा सूर्य अस्ताएपछि खाना वर्जित हुन्छ। यसरी नियमपूर्वक गरिने विधिबाट आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यता छ।
फलाहार गरेपछी सबै व्रतालुहरु एक ठाँउमा बसेर भोलि(अग्रासन)को योजनाबारे छलफल गर्छन्।
अग्रासन
अट्वारी व्रतको तेस्रो दिन व्रतालुहरु बिहानै निहाइधुवाइ गरी सूर्यलाई जल चढाएर खाना पकाउन जान्छन्। धुपको काठबाट सल्काएको आगोमा भोजन पकाइन्छ।
भोजनमा दाल(विशेषगरी सिंगै मासको दालको ठुसा), भात, तरकारी, खँरिया, फुलौरी, सुकाएको माछा, कर्कलोको तरकारी, सागसब्जी, आदि गरेर थुप्रै व्यञ्जन पकाइन्छ। यसरी पकाएको व्यञ्जनबाट अट्वारीको तेस्रो दिन पनि दिदीबहिनीको लागि अग्रासन छुट्याएर व्रतालुले एकसाथ भोजनग्रहण गरी व्रत तोड्छन्।
व्रत तोडिएपछि मात्र माछा-मासुका परिकार खान पाइन्छ। नियम अनुसार खाना खान बसेपछि खाना नसकुन्जेल उठ्न पाइँदैन। आफूले खाना खाइसकेपछि दाजुभाइहरु आफ्ना दिदीबहिनी कहाँ अग्रासन र गच्छे अनुसार कोसेली दिन जाने चलन छ।
उता दाजुभाइको पर्खाइमा बसेका दिदीबहिनीले पनि आफ्नो दाजुभाइका लागि विशेष पकवान(खानेकुरा) बनाइ प्रतिक्षा गरेर बसेका हुन्छन्।
यसरी अट्वारी व्रतले माइती र चेलीपक्षबीच आपसी सद्भाव र एकताको सम्बन्धलाई बलियो बनाउने भूमिका खेलिआएको छ।
चोर दोष कटाउने चौथीचन्द पर्व कसरी मनाइन्छ? | Offline Thinker
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com