५ वर्ष अगाडिको दिन। एसएलसीको परीक्षा सकाएको उपलक्ष्यमा बधाई र बिदाइ दिन स्कुलले हाम्रोलागि फेरवेल कार्यक्रम आयोजना गरेको थियो।
फेरवेलको कार्यक्रम ‘ भ्यालेन्टाइनस् डे ’को दिनै आयोजना गरिएको थियो।
किन सोहि दिन रोजियो थाहा छैन। प्राध्यापक आफैले निमन्त्रणा पठाए पछि हामी विद्यार्थी भाउ खाएर जान्न भन्ने कुरा नि भएन।
कपाल काटेर, चिटिक्क परी सुटपाइन्ट र टाइ लगाएर म पार्टी खान समयसमै स्कुल पुगेँ। सबै जिग्रीहरु एकसेएक दामी देखिन्थे।
सेतो सर्टमा कालो पाइन्ट अनि शिखर ब्रान्डको जुत्ता लागाएको म पनि उही भीडमा सामेल भए। केटी साथीहरु झन मेकअप गरेर चिनिनै नसकिने भएका थिए।
कार्यक्रम ओपचारिक रुपमा सुरु गरिन लागिएकाले हामीलाई स्कुलको हलमा बोलाइयो। केटाहरु एक कुनामा र बाँकी सबै केटीहरु पल्लो कुनामा बसे।
प्राध्यापकले कार्यक्रम सुरु गर्दै हामी धेरै राम्रो र असल विद्यार्थी भएको भन्दै तारिफ गरे। हामी मख्खै। उनको त्यो लामो ४ मिनेटको भाषणपछि बल्ल नाचगान, र गित गायन कार्यक्रम सुरु भयो।
कार्यक्रमको पहिलो चरण पछि हामीलाई खादा र टिका लगाएर स्वागत गरियो। पुनः नाचगान सुरु भयो। सबै प्रस्तुती खुबै जोडदार थिए।
मन नै फुरुङमा पारिदियो। हेर्दै थाहा हुन्थ्यो कि हाम्रा जुनियरहरुले हप्तौदेखि तयारी गरेका थिए।
१ घण्टा लामो नाचगान र औपचारिक कार्यक्रम पछि बल्ल खाजा खान हल बाहिर निम्त्याइयो।
केटाहरु मख्ख हुँदै बाहिर हुलिए मानौ कहिले सित्तैमा खाजा खान पाएका थिएनन्। म पनि पछि पछि लाइनमा मुछिँए। मासु-पुलाउ, समोसा-अचार के मात्र थिएन।
खाजाको परिकार नि यति अनगिन्ति थिए कि लाग्यो आज अन्तिम भोज खाने दिन हो।
सबै कुराको केहि अंश थोरै थोरै लिएर स्कुलको चौरमा खान बस्यौँ। खाजा सकिनै आटेको थियो एकजना जुनियरले मेरो नाम पुकार्यो। फर्किएर हजुर भनेँ।
‘तपाईलाई मेरो साथीले हलमा बोलाएको छ।…… एक्लै।’ उसले आफ्नै खुट्टा हेर्दै मलाई हलतिर जान इसारा दिइ।
उसले आफ्नो को साथीलाई संकेत गरेको चिनिन। तर एक्लै बोलाएको भएर नजाऊ नि कसरी। त्यो पनि मेरा अन्य कोहि साथीलाई नबोलाई मलाईले तोकेर बोलाइएको।
गए म पनि। लुखुरलुखुर फेरवेल दिइएको सोहि हलमा।
त्यहाँ पहिलेदेखि नै एक जना स्टेजको कुनामा उभिरहेकी थिइ। सायद मेरै पर्खाइमा। मलाई हलमा बोलाउने पनि ऊ नै होली।
चेक गाउनमा कालो हिलको जुत्ता र गोलो-गोलो चस्मा लगाएकी थिइ उसले। उसलाई देख्नासाथ हलको ढोकामै उभिए म।
पल्लो भित्तामा हेरिरहेकी उसले मेरो चाल पाएर सायद मतिर फर्की। हाम्रो जुनियर रहिछे। उसको त्यो गोलो चस्माभित्रको खैरो आँखामा मेरो आँखा पुग्यो।
उसका आँखा पनि मेरा आयताकार चस्मा भित्रका काला नानीमा परे। ऊ आफ्नो स्थानबाट सर्लक्क उभिइ र आफू भन्दा ७ कदम अघि सरेर ठीक मेरो सामुन्न पुगी।
उसले दुबै हात पछाडी लुकाइएकी थिइ।
हामी केहि बेर केहि नबोली केहि नगरी एकअर्कालाई आँखामा आँखा जुधाएर बस्यौ। टाढाबाट हेर्दा अल्गी देखिए पनि ऊ उचाइमा मभन्दा चार इन्च सानी नै रहिछे।
एकाएक लुकाएर राखिएका कोमल हात अगाडी सार्दै हातको रातो गुलाब मलाई दिई र भनि, ‘आइ लभ यु।’
विज्ञानमा पढेका न्युटनका लअ, गणितमा पढेका त्रिकोणमिती, सामाजिक शिक्षामा पढेका नेपालका इतिहास कुनै ज्ञानले यी तीन शब्दका उत्तर फर्काउन सकिँन।
म गुलाबलाई हातमा लिएर सिर्फ उभिरहे र टोलाइरहेँ उसका आँखामा।
उसले फेरी भनि, ‘आइ लभ यु। आइ रियली लभ यु। हाम्रो माया अपुरो सहि तर सधै गाढा रहिरहोस्।’
यति भनेर ऊ हलबाट बाहिर निस्की तर मैले उसलाई जवाफ फर्काउन सकिन।
*****
आज ठीक ५ वर्ष भयो मैले उसलाई त्यस दिन देखेको। ५ वर्ष भयो उसको हाँसो सम्झेर एक्लै मस्किएको। ५ मिनेट भयो उसको तस्विर मोबाइलको ग्यालेरीबाट हेरेको अनि मात्र ५ दिन भयो यसको सिउँदोमा अर्कै कसैले रातो सिन्दुर लगाइदिएको।
खै किन आज एक्कासी मन हल्का गर्न मनलाग्यो। खै किन किन आज सबैलाई सबै कुरा सुनाउन मन लाग्यो। खै किन आज ढिलै भए पनि त्यो दिन भन्न नसकेको रिप्लाई दिन मन लाग्यो-
‘ढिलै सहि, अपुरो सहि। आइ लभ यु टु।’
You may also like:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com