पागल बाबु छोरा
कडा दुध चिया अनि चुरोट।
यी दुई चिजको याद खुबै आइरहेको छ। सोफामा सिरक ओढी पल्टिएको छु। जीउ तात्ने चिया र मन शान्त बनाउने चुरोटको मजा लिइरहेको छु।
आँखा नखुलुञ्जेल यसरी रमाउँछु। मैले दैनिक गर्ने कल्पना यहि हो।
दिन सुरू भएको, ढल्किएको खास्सै याद हुन्न। समय हेर्न घडी त डिजिटल छ तर ब्याट्री सकिएको। कहिले चल्छ त कहिले रोकिन्छ। गर्नु के छ र!
समयलाई सुस्त बनाउन घामका किरण पस्ने झ्याल पनि थुनेको छु। स-साना प्वाल भएका झ्याल हुन्, त्यसैले ती प्वालमा कागज छिराएको छु। यसो गर्नुको कारण मलाई अँध्यारो मनपर्छ।
मैले उज्यालो देख्ने भनेको कोठा बाहिरमात्रै हो। उज्यालोको लागि बाहिर निस्किन्छु।
भान्छातिर जान्छु। त्यँहा गएर खोज्ने उही चिया नै हो। भान्सा पुगेर खाना पनि खान्छु। दिउँसो मात्रै।
तर त्यो भान्सा मेरालागि सधैँ खुल्दैन। प्रायः भान्सामा ताला लगाइएको हुन्छ। तपाईंहरूकोमा के हुन्छ कुन्नी?
भान्साको चाबी मेरा वृद्ध आमा-बाबुसँग हुन्छ। उहाँहरू ७५ पारीका, म ५०। भान्सा र उहाँहरूको कोठा मेरो भन्दा माथिल्लो तल्लामा छ।
भान्सामा उक्लिएपछि उहाँहरूले भेउ त पाउँछन्। तर खास्सै वास्ता गर्दैनन्। केहीबेर भान्साकै ढोकामा कुर्छु। त्यसपछि आफैँ उहाँहरूको कोठामा पुग्छु।
आमा झ्याल बाहिर हेर्दै बस्नुहुन्छ। बुबा छेउमै हुन्छन्। दुबै जना केही घण्टा त्यसरी बसेर धुप काट्छन्।
मलाई देखेपछि बुबाले भन्नुहुन्छ, ‘ऊ आयो आयो…’
त्यँहा पुगेर म ईशारा गर्छु। हात र मुखले भोक लागेको संकेत गर्छु। तर कुनै आवाज ननिकाली।
लाटो चाँहि होइन। तर मेरो बोली नफुटेको वर्षौं भयो। सायद आठ वर्ष। कारण, मलाई मनमनै मात्र बोल्न मन लाग्छ। मेरो स्वर कस्तो छ भन्ने याद छैन मलाई। अरूलाई कँहा याद होस्।
भोक लागेको संकेतपछि आमा बोल्नुहुन्छ, ‘जानुस् मेरो खुट्टा दुखेको छ। तपाईं पस्किदिनु खाना।’ आमाको खुट्टा वर्षौंदेखि सुन्निएका छन्। बुबा चाँहि अलि हट्टाकट्टा नै छन्।
चाबीको झुप्पो बोकेर बुबा अघिअघि म पछिपछि हिँड्छु। खाना खाएपछि फेरि मलाई एउटै कुराको सकसक हुन्छ, चिया अनि चुरोट।
दुध नभए म कालै चिया पिउँछु। तर चुरोट खान चाँहि बुबासँग सँधै पैसा माग्छु। उहाँहरूको आम्दानी धुप बनाएर आउँछ।
‘तैले राख्न दिएको छस् र! जा काम गर्न। कमाएर ल्या,’ पैसा माग्दा बुवाले भन्ने यहीँ हो। मैले कहिल्यै सुख नदिएको भन्दै उहाँ गुनासो गरिरहनु हुन्छ।
त्यसपछि म आँखा सानो पारेर मुसुमुसु हाँस्छु। कहिलेकाँही रिसले मुख खुम्च्याएर ओठ छिटोछिटो चलाउँछु। केहीबेरको मेरो ईशारापछि बुबाले २० रुपैयाँ दिनुहुन्छ। कहिले भने एक खिल्ली चुरोट नै दिनुहुन्छ।
चिया र चुरोट बोकेर म मेरो अँध्यारो कोठातिर लाग्छु। अनि चुकुल लगाएरै बस्छु।
कोठामा खाट त छ। तर मलाई सोफा नै मनपर्छ। त्यहिँ बस्छु। अनि आँखा चिम्लिएर कल्पना गर्न थाल्छु।
चियासँगै चुरोट बाल्छु। धुवाँ कोठामै गुम्सिएर उड्न थाल्छ। यसरी आधा चुरोट सकिएपछि त्यसलाई निभाउँछु। बाँकी अर्को चरणको लागि राख्छु।
गुम्सिएका ती कोठामा उडिरहेको धुवाँसँगै म पनि बग्छु।
धुवाँ रहुञ्जजेल मेरो काम सोच्ने मात्रै। सोच्दा मुसुमुसु हाँस्न रमाइलो लाग्छ। कहिलेकाँही म अंग्रेजीमा पनि सोच्छु। अर्थात म आफैँसँग अंग्रजीमा मनमनै संवाद गर्छु। किनकी कुनै समय भक्तपुरका गल्लीहरूमा मैले पर्यटकहरूलाई घुमाएको थिँए।
सोचमा बग्न थालेपछि कलमले भित्तामा कोर्छु। त्यँहा एकपटक लेखेका कुरा दोहोर्याएर पढ्ने गरेको छैन। त्यसैले के लेख्छु याद हुन्न।
यसरी नै आफ्नो कोठामा बसिरहँदा कहिलेकाँही कोठा बाहिर कोहि हिडे जस्तो लाग्छ। त्यो हिडाइ अरू भन्दा भिन्न हुन्छ। मेरा तीन भाइ र एक बहिनी छन्। उनीहरूको हिडाइ त म चिन्छु। तर यो हिडाइ अरूभन्दा भिन्न खालको छ।
को हो भनेर ठम्याउन बाहिर निस्किन्छु। ऊ वर्षमा केही पटक मात्र घरमा देखापर्छ। सिधै आमा-बुवाको कोठामा जान्छ। उसलाई हेर्दा मलाई छुट्टै खालको आनन्द आउँछ। उसलाई हेर्दा म आफैँलाई देख्छु।
किनभने ऊ त मेरो छोरा हो।
आमाबुवाको कोठामा हामी एक अर्कालाई केहिबेर एकटक हेर्छौँ। मेरो ओठमा मुस्कान हुन्छ। तर उसको अनुहार सँधै सादा हुन्छ। हाँसेको वा खुसी भएको सायदै देखेको छु।
मुस्कुराउँदै मैले उसलाई सँधै केही न केही भनिरहेको हुन्छु। ऊ बुझ्ने कोशिस गर्छ। तर लाख प्रयासमा पनि बुझ्दैन। किनभने मेरा बोली फुट्दैनन्।
‘मुखले बोल्नु न’, ‘केहि बुझिँन’, ‘के चाहियो भन्नुस्’ जस्ता वाक्य हरेक पटकको भेटमा उसले भन्ने गर्छ।
यी बाहेक छोराले अनुहार ढाकेको दाह्री काट्न, गन्ध आउने लुगा फेर्न र चुरोट नखान भन्दै सुझाउँछ। तर म उसका कुरा सुन्नभन्दा मेरा कुरा नबोली सुनाउन तल्लीन हुन्छु।
छोरा र मबीच भइरहेको संवादमा आमाबुवाले पनि बोल्ने गर्छन्। तर हामी दुवैलाई खास्सै मतलब हुन्न। किनकी त्यो सब मेरालागि गाली हुन्थे।
ती कुरा सुनेपछि उल्टै छोराले भन्ने गर्छ,‘म यहाँ यस्ता कुराहरू सुन्न आएको हैन आमा। मलाई के-कस्ता छन् भन्ने थाहा छ। निराश बनाउने काम नगर्नुस्। म बुझ्छु।’
सायद छोराले पनि मलाई राम्ररी नै चिनेको भएर होला त्यसो भनेको।
छोरालाई जाँगर चलेको बेला मेरा दाह्री काट्न,मैला कपडा फेराउन निरन्तर प्रयास गर्छ। तर म मान्ने भए पो! बरु उल्टै त्यो काम गर्न पैँसा माग्छु। दिएपछि म आफैं पछि हट्छु। पैँसा फिर्ता चैं गर्दिन।
मेरो अँध्यारो कोठामा फर्किँदा ऊपनि मसँगै आउँछ। हैन, उसको कोठामा आउँछ। किनकी ऊ पहिले यही कोठाको खाटमा आमासँग सुत्थ्यो। म छेउको सोफामा।
तर उसकी आमा बितेदेखि ऊ सुत्ने खाट कँहा र कस्तो छ मलाई थाहा छैन।
यो पुरानो कोठामा आएपछि भने ऊ बत्ति बाल्न थाल्छ। नभए झ्याल खोल्छ। त्यसपछि मेरो मुख अँध्यारो हुन्छ। म निराश हुन्छु। मुख खुम्च्याउँछु। मलाई यो कोठामा उज्यालो फिटिक्कै मनपर्दैन।
ऊ मेरो वास्ता नगरी कोठाका हरेक कुना-कुनामा आँखा डुलाउन थाल्छ। मैले भित्तामा कोरेका हरेक वाक्यहरू पढ्ने कोशिस गर्छ। हरेक सामानलाई नियाल्छ। सायद उसले त्यसरी बितेका दिनलाई सम्झेको होला।
कोठाभित्र भएको हाम्रो यो भेटमा ऊ पनि मौन बस्छ। केही बोल्दैन। बस् बिगत सम्झन्छ, मलाई हेर्छ र आफैँलाई हेर्छ। म भने हामी दुबैलाई एउटै देख्छु।
हाम्रो कोठामा हुने त्यो मौनताले धेरै थोक भन्छ होला तर म बुझ्दिन। सायद छोराले बुझेको हुनपर्छ। यस्ता भेटमा हामीबीच कहिल्यै स्पर्श सहभागी भएन। न म उसलाई छुन्छु न उसले मलाई छुन्छ।
किन हो किन हामी ऐना झैं बन्थ्यौँ। उसलाई देख्दा म आफैँलाई देख्थे। उसले मलाई हेर्दा ऊ आफैँलाई देख्थ्यो। त्यसैले होला ऊ मेरो नजिक धेरै पर्दैन। त्यसैले होला हामी एक-अर्काको नजिक धेरै पर्दैनौं। त्यसैले नै होला ऊ मबाट टाढा बस्न गयो। र, आफैँलाई महसुश गर्न कहिलेकाँही मात्र नजिक आउने गर्छ।
हरेक दिन आमाबुवाले मलाई देखाउँन खोजेको ऐना उसले एकै पलमा नबोली देखाउँथ्यो। त्यत्तिखेर मलाई उसको बढो चिन्ता लाग्छ। ऊबारे गम्भीर भएर सोच्छु।
कसरी यत्रो ठुलो भयो मेरो छोरा? कँहा बस्छ? कसरी बस्छ? के गर्छ? कसरी यस्तो सुन्दर देखियो? के म पनि यस्तै थिँए? यस्ता यावत प्रश्नहरू मेरा मनमा आउँछन्। तर कहिल्यै उसलाई सोध्न मेरा बोली फुटेनन्।
केही समयको मौनतापछि ऊ कोठाबाट बाहिरिन्छ। जानुअघि आफूले बालेको बत्ति निभाउँछ। अनि झ्याल बन्द गरेर जान्छ।
ऊ गएपछि ती प्रश्नहरू सोच्दै म केहीबेर बहुलाउँछु। मेरो शिरदेखि शरिरका सम्पूर्ण भागहरूमा ती प्रश्न डुल्न थाल्छन्। नशा नशामा प्रश्नहरू उब्जिरहन्छन्।
यो मेरो रोग हो। जसको उपचार गराउन छोराले अस्पताल जाऔं नभनेका होइनन्। तर म मान्ने भए पो!
यसको उपचार मसँगै छ। त्यो हो चुरोट।
मलाई छोराको विश्वास नलागेको पनि होइन। मलाई अस्पतालमा भएका अपरिचित अनुहारको विश्वास लाग्दैन। त्यँहा गएपछि म बन्धक बन्ने निश्चित छ। त्यसैले म काँहि जाँदिन। बरू आफ्नो कोठामा बसेर उही आधा चुरोट सल्काउँछु। र, मौन बसेर मेरा शरिरमा उब्जिएका प्रश्नहरूलाई मार्छु। उही गुम्सिएको कोठामा उडेका धुवासँगै डुल्छु। अनि पुनः उही काल्पनिक दुनियाँमा प्रवेश गरेर मेरो दैनिकीलाई निरन्तरता दिन्छु।
Photo by Mika on Unsplash
Writer: #bhanja
Read More From Other Secret Thinkers:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your secret writings at connect.offlinethinker@gmail.com with hashtag #secretthinker and your writing will be published anonymously.
2 Comments