उडायो विपना सबै कोरोनाले…। –सुसन चौधरी
स्कुलका भाइबहिनी अनलाइल क्लासमा भर्चुअल शिक्षा लिँदै छन्। आमाहरु कौसीखेतीमा रमाएका होलान्! बुवाहरु आफ्नै दुनियाँमा मस्त। बाँकी भनेको मेरो उमेरका हुन्। जसको पढाइ सक्कियो। जागिँर पनि छैन्। अनि युटुबमा हेर्न बाँकी कुनै फिल्म रहेन।
गर्ने के?
उडायो विपना सबै कोरोनाले…।
प्रायः साथीहरुले लुडो खेल डाउनलोड गरिसके। फेसबुक र इन्स्टाग्रामको फिड एक घण्टामै सरर स्क्रोल गरेर भ्याइन्छ। टेलिभिजन पनि छ घरमा तर त्यसमा कार्टुन के हेर्नु? सिरियल के हेर्नु? भजन के सुन्नु?
बाँकी के रह्यो त? समाचार?
ठीकै छ भनेर हेरेको, यस्तो आयो समाचार – काठमाडौंमा कोरोनाको संक्रमण बढ्दो, अस्पतालमा बेड र अक्सिजन सकियो।
हतारमा च्यानल चेन्ज गरेँ।
अर्को च्यालनमा शेरबहादुर देउवाले बोल्दै थिए। नबुझे पनि केही बेर सुनौं न भनेको उनले पनि सरकारलाई दोष दिँदै कोरोनाकै कुरा उठाए। च्यानल चेन्ज।
सिमेन्टको विज्ञापन आइरहेको थियो। पूरै हेरेँ। पहिले विज्ञापन आयो कि च्यानल परिवर्तन गर्ने मान्छे अहिले यसरी विज्ञापन पनि दोहोर्याएर हेर्न परेको छ। हत्तेरी!
फेरी सुरु भयो समाचार, ‘अब बाँकी समाचार। कोरोनाले…’
टेलिभिजन झ्याप्प बन्द गरिदिए। खाली कोरोना…कोरोना…!
अब के गर्ने त?
रेडियो भन्ने जिनिसबाट आवाज नफुत्केको धेरै भइसकेको थियो। त्यसको कान बटारे। त्यहाँ पनि कोरोनाकै राज रहेछ, ‘दिउँसो १ बजेको बुलेटिनमा यहाँलाई स्वागत छ। निषेधाज्ञा गरेसँगै सडकहरु खाली। जीवन अस्तव्यस्त। देशभर कोरोना।’
बन्द। रेडिओ पनि बन्द।
अब बाँकी थियो अनलाइन। यहाँ केही भिन्न समाचार पढ्न पाइन्छ कि भनेर गुगलमा न्युज वेवसाइटहरु चहारे। नाम पनि के के हुन? खबर, पाटी, हब, च्यानल…यस्ता प्रत्यय भएका सयौं मिडिया भेटियो। तीमध्ये आधिकारिक समाचार दिने अनलाइन साइटहरु भने औंलामै गन्न सकिने।
ल सेतोपाटी खोलौं न त।
वेबसाइट खुल्यो। नयाँ मन्त्रीको नयाँ योजनाको समाचार, नयाँ प्रविधिका ग्याजेटहरु बजार भित्रिएको खबर। फिल्मी दुँनियाका कुराकारी, घुमफिरका अनुभव। वाह! कति धेरै भेराइटी। कुन पढौं कुन?
सोचे ‘रिफ्रेस’ गर्छु साइट। माथि जुन आउँछ त्यही पढ्छु। वेबसाइट रिफ्रेस गरेको ‘कोरोना मृत्युदर तीब्र, संक्रमितलाई बेड र अक्सिजनको अभाव, दिनकै हजारौं कोरोना संक्रमित’ जस्ता समाचारले वेबसाइट ढाकिसकेछ। उराठ लाग्यो।
उडायो समाचार सबै कोरोनाले…।
घर बसेको मलाई समाचार पढेरै ज्वोरो आउँला जस्तो भयो। खोकी पनि लाग्यो।
कोरोनाको एउटा जानकारीमूलक खबर फेसबुकमा सेयर गरौं न त भनेर खोले। फेसबुक त त्यस्तै समाचारले पहिल्यै भरिभराउ। सबैले कोरोनासँग संबन्धित केही जनचेतनाका कुरा, दुःखका समाचार, कोभिड १९ आउनुअघिका फल्यासब्याकहरु सेयर गरेका थिए।
त्यो पनि केही बेर स्क्रोल गरेपछि थाकेँ।
अब के गर्ने?
लामो श्वास फेरेँ। सर्लक्क सबै ट्याब बन्द गरेँ। फेसबुक लगआउट गरेँ। वाइफाइ बन्द गरेँ। कोठाको कुनामा झुन्डिएको पिंजडाको सुगाको अनुहार हेरेँ। उसले पनि मेरै अनुहार हेरिरहेको रहेछ।
ध्यान मोडेँ। पर्दा पूरै तानेँ। झ्याल खोलेँ। अनि आकाश हेरेँ। बादल चियाएँ। बादल बीच उड्दै गरेका दुइ पन्छी देखेँ। कति स्वतन्त्र! कति हर्षित! कति आनन्दित!
कोमल पखेटा फरफराइ हावाको वेगसँगै बग्दै थिए दुई। लाग्यो कोभिड १९ ले संसार नखाएको भए हाम्रो जीवन पनि तिनै पन्छी जस्तै हुने थियो। हामी मास्क नलगाई चिर्बिराई रहथ्यौँ। झुण्डमा उड्थ्यौ। आहारा खोज्दै वनजंगल चहाथ्र्यौ। अनेकौं सपना बोकेर उडिरहेका हुन्थ्यौँ। खुसी हुन्थ्यौँ। स्वतन्त्र हुन्थ्यौँ।
हामी हामी हुन्थ्यौँ र यो हाम्रो समय हुन्थ्यो। हामी बीच कुनै दुरी हुन्नथ्यो। कुनै सीमा हुँदैनथ्यो। मात्र हुन्थ्यो स्वतन्त्रता, हर्ष र शान्ति।
तर आज हामी त्यो खुला आकाशको पन्छी नभएर पिंजडाको सुगा भएका छाँै। स्वतन्त्रता गुमाएका छौँ। अस्तित्व गुमाउँदै छौँ। मानव मानवदेखि डराएका छौ। पिंजडा बाहिरको दुँनियाको कल्नामा डुबेका छौँ।
बाँधिएका खुट्टा बाउडिएका छन्। कर्मसिल पखेटा कुँजिएका छन्। जिम्मेवारी वहन गर्न नसक्ने भएका छौँ। रोगबाट बच्ने तरिका खोज्दैछौँ। आत्मबल, मानवता, र सकारात्मक मानसिकताको खाँचोमा छौँ। हराएका छौँ। हारेका छौँ।
हेर्दा हर्दै ती पन्छी उड्दै बादल माथि पुगेँ। क्षणभरमै बादलले सूर्यका किरण ढाके। फेरि अध्यारो छायो। डर उर्लेर आयो। खुलेको ति झ्यालबाट आइरहेको हावामा रोगव्याधी पो छ कि? शंका जाग्यो।
हतारहतार झ्याल बन्द गरे। मास्क खोजेँ र लगाएँ।
कोठामा भएको पिंजडाको सुगा हेरेँ। उसले पनि मलाई नै हेरिरहेको थियो। सुगामा आफ्नै जीवनको प्रतिबिम्ब पाएँ। तर केही गर्न सकिन। सोच्न सकिन। अनि फेरि टिभी, फेसबुक र युट्युबमा फर्किए।
फेरी उस्तै खबर गुल्जार थियो, ‘कोरोनाले…।’
उडायो सबै विपना कोरोनाले…।
Read More From Susan Chaudhary:
Follow Offline Thinker on Facebook, Twitter, and Instagram. You can send us your writings at connect.offlinethinker@gmail.com